सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

भक्तपुरमा एकै परिवारका तीनजनाको शव घरभित्रै सडेको अवस्थामा फेला

२७ भाद्र, २०७७ ०७:१९ मा प्रकाशित

817 पटक पढिएको

dead body found in house

भक्तपुर – भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित एक घरमा तीनजना मृत फेला परेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी मृत भेटिएका हुन् ।

तीन जनासँगै घरमा पालेको कुकुरसमेत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिसरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले घरको दोस्रो तलामा कुकुर, तेस्रो तलामा सम्झना र चौथो तलामा सुशान्तको मृत शरीर फेला परेको जानकारी दिइन् ।

उनका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए । उनी शुक्रबार घर पुग्दा घरको ढोको खोलिएको र त्यसपछि क्रमशः कुकुर, भाउजू सम्झना, दाजु सुदीप र भतिजाको मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेको प्रहरी उपरीक्षक थापाले बताइन् ।

पहिलो तलास्थित कोठाको खाटमा भेटिएको सम्झनाको लास अर्ध नग्न अवस्थामा थियो।

त्यस्तै दोस्रो तलाको अर्को कोठामा छोरा सुशान्तको लास पनि खाटमै घोप्टो अवस्थामा भेटिएको थियो। उनको लास पनि फुलेर कालो भइसकेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए। उनका अनुसार उक्त लास सडेर गन्हाइसकेको थियो।

घरको माथिल्लो तलाबाट कौशी बाहिर जाने प्यासेजमा भने घरधनी सुदीपको लास भेटिएको थियो। घरको अवस्था हेर्दा मृत्यु शंकास्पद देखिएको प्रहरीले जनाएको छ।

भक्तपुर प्रहरीका अनुसार सुदीपका भाइले घटनाबारे प्रहरीलाई खबर गरेका थिए। उनी शुक्रबार घर पुग्दा घरको ढोका आधा खोलिएको थियो। ढोकामा लगाउने साँचोसहितको ताल्चा सुदीपले प्रयोग गर्ने मोटरसाइकलमाथि भेटिएको प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र अपराध महाशाखाको टोली पुगेको थियो।

घटनाबारे तत्काल केही बताउन नसकिने भक्तपुर प्रहरीकी प्रमुख प्रहरी उपरीक्षक थापाको भनाइ छ। उनले मान्छेसँगै कुकुरसमेत मरेको अवस्थामा फेला परेकाले तीन चारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको जानकारी दिइन्।

‘तत्काल घटनाबारे केही भन्न सकिन्न’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘घटना शंकास्पद देखिन्छ। तीनचार कोणबाट अनुसन्धान गर्दैछौं।’

उनका अनुसार घटनास्थलमा फरेन्सिक विज्ञसमेत पुगेका छन्। ‘ती विज्ञहरुले रिपोर्ट नदिएसम्म अहिल्यै केही भन्न सकिने अवस्था छैन’, उनले थपिन्, ‘लास सडिसकेको अवस्थामा छन्।’

घटनामा विषको प्रयोग भए नभएको यकिन गर्न कुनै प्रमाण फेला नपरेको उनी बताउँछिन्।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार घटनास्थलमा मृतकहरुबीच घटना हुनुअघि कुनै घम्साघम्सी एवं प्रतिवाद भएको देखिँदैन। त्यसैले जसले घटाए पनि योजनाबद्ध ढंगले घटना घटाएको देखिन्छ’, उनी भन्छन्, ‘घरको मूलढोका खुलै रहेको अवस्थाले बाहिरी पक्षबाट घटना घटाएको आशंका पनि गर्न सकिन्छ।’

उनका अनुसार घरमा बुढाबुढीबीच कहिलेकाही झैझगडा एवं वादविवाद हुने गरेको थियो तर घरपरिवारका अनुसार ज्यानै लिनुपर्ने स्थितिसम्मको झैझगडा वा विवाद भने नभएको उनको भनाइ छ।

मृतकको मूलघर भने मध्यपुर थिमि नगरपालिका-६ वडामा पर्छ। नयाँ घर बनाएपछि उनीहरु नयाँ घरमा सरेको पाइएको मध्यपुर थिमि नपा ९ का वडा अध्यक्ष रामकाजी चक्रधरले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome