मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

विराटनगरबाट लागुऔषधसहित चिया पसल संचालक पक्राउ

३० असार, २०७७ १७:१५ मा प्रकाशित

706 पटक पढिएको

arrested illustration

विराटनगर, ३० असार : विराटनगर महानगरपालिका -१५ रानीबाट लागुऔषधसहित एक चिया पसल सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६० वर्षीया मनकामना झा हुन् । उनले सञ्चालन गरेको चिया नास्ता पसलबाट लागुऔषधको कारोबार हुने गरेको पाइएपछि प्रहरीले छापा हानेको थियो ।

विशेष सूचनाका आधारमा पसलमा छापा मार्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का र इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा आफै पुगेका थिए । एसपी खड्काको नेत्रृत्वमा भएको विशेष ‘अप्रेसन’का क्रममा झाको चिया नास्ता पसलबाट तीन बोतल डाइलेक्स डीसी र ३० चक्की नाइट्राभेट ट्याब्लेट लागुऔषध बरामद भएको थियो । प्रयोग गरिसकिएका डाइलेक्स डीसीका पाँचवटा खाली बोतल पनि प्रहरीले बरामद गरेको छ । चिया बनाउने टेबुलका घर्रा र सोकेसबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट केही व्यक्तिहरुले भारतको जोगवनी बजारदेखि ल्याएर लागुऔषध राख्ने र उक्त पसलबाट बिक्रीवितरण हुने गरेको खुलेको छ । लागुऔषध ओसारपसारमा केही व्यक्तिहरुको संलग्नता रहेको पाइएको एसपी खड्काले बताए । उनीहरु फरार रहेका कारण खोजी भइरहेको जानकारी दिँदै उनले फरार रहेकाहरुको पहिचान तत्काल खुलाउन नमिल्ने उल्लेख गरे ।

‘कारोबारीले जोगवनीदेखि ल्याएर लागुऔषध चिया पसलमा राख्ने गरेको पाइयो । त्यहाँबाट अरुलाई बिक्रीवितरण गर्ने गरेको पुष्टि भएको छ,’ खड्काले भने । झासँगै प्रहरीले नजिकै रहेको अर्को चिया नास्ता पसलकी सञ्चालक विराटनगर-१५ की ४५ वर्षीया सहेदा खातुनलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

पसलको पछाडिपट्टि भेटिएको झोलामा पाँच बोतल कोरेक्स नामक लागुऔषध फेला परेपछि खातुनलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । एसपी खड्काले यस विषयमा थप बुझ्ने काम भइरहेको बताए । पसलबाटै लागुऔषधसहित पक्राउ परेकी महिलालाई लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome