सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपित खड्का अदालतमा

३० असार, २०७७ १७:१७ मा प्रकाशित

845 पटक पढिएको

district court morang biratnagar

विराटनगर, ३० असार : अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा जोडिएका अभियुक्त हरिशरण खड्कालाई मंगलबार जिल्ला अदालत मोरङमा बुझाइएको छ ।

न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलासमा उनको बयान लिने क्रम जारी रहेको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । उनकाअनुसार खड्काको बयान सकियो भने मंगलबार नै थुनछेक बहस हुनेछ । बयान नसकिए बहस बुधबारका लागि सारिनेछ ।

बहसपछि इजलासबाट अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी लिएर छाड्ने वा साधारण तारेखमा राख्ने भन्ने एउटा आदेश आउने ओझाको भनाइ छ । सुन तस्करीमा जोडिएका खड्कालाई प्रहरीले सोमबार नै अदालतमा बुझाएको थियो । कोरोना भाइरसको संक्रमण भएनभएको बारेमा प्रहरीले आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अदालतले तत्काल काम कारबाही रोकेर उनलाई फिर्ता पठाएको थियो । पीसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित पेस गर्न प्रहरीलाई आदेश दिँदै उनलाई अदालतले फिर्ता पठाएको हो ।

आरडीटी पोजिटिभ आएपछि प्रहरी कार्यालय र अदालतमा खैलाबैला मच्चिएको थियो । अदालतका कर्मचारी र उनको सम्पर्कमा रहेका प्रहरी त्रसित बनेका थिए । प्रहरीले कुनै घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको छ ।

प्रहरीले उनको सोमबार नै पीसीआर विधिबाट परीक्षण गरेको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार पुनः अदालतमा पेस गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई आइतबारराति ११ बजे मोरङ ल्याइपुर्‍याइएको थियो ।

प्रहरी स्रोतकाअनुसार उनलाई दुवईमै हुँदा कोरोना संक्रमण भएको थियो । उपचारपछि निको भएर नेपाल आउने क्रममा ‘इन्टरपोलको रेकर्नर नोटिस, मा रहेका खड्का पक्राउ परेका हुन् । १४ वर्षअघि कामदारका रुपमा दुवई गएका काभ्रेको बेथानचोक गाउँपालिका-४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने उतै लुकेर बसेका थिए।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुवईबाट २०७४ साल माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव बनाइएको थियो । अनुसन्धानबाट हराएकोसहित अरु पनि सुन तस्करीमा खड्काको संलग्नता रहेको पत्ता लाग्यो । तस्करीको सुन गायव भएपछि गोरे समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ साल फागुन १९ गते शाक्यको हत्या गरेपछि घटना बाहिर आएको थियो । यो घटनाको भिडियो नै बाहिरिएको थियो ।

अहिलेसम्म पनि उक्त सुन कहाँ छ भन्ने बारेमा केही खुलेको छैन । तर खड्का दुवईबाट नेपालमा सुन तस्करी गर्ने गिरोहका महत्वपूर्ण सदस्य रहेको पत्ता लागेको थियो । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको ईश्वरराज पौडेल नेत्रृत्वको छानबिन समितिले मोरङ प्रहरीहुँदै सरकारी वकिल कार्यालयमार्फत २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान, मुद्दा दायर गरेको थियो । सो मुद्दामा १७ अर्व एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ ।

सुन तस्करीमा प्रहरीका उच्च अधिकारीको पनि मिलेमतो रहेको खुलेको थियो । पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकाशराज खनाल, डीएसपीहरु प्रजित केसी, सञ्जयबहादुर राउत, सइ बालकृष्ण सञ्जेल लगायत छानबिनमा तानिएका थिए । एसएसपी खत्री र डीएसपी राउत बाहेक अरु सबै प्रहरीलाई अदालतले साधारण तारेखमा छाडिसकेको छ । खत्री र राउतलाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश अदालतले दिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome