सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

मोरङको लोहन्द्रा खोलामा भएको सामूहिक आक्रमणका मुख्य अभियुक्त पक्राउ

३० भाद्र, २०७७ १६:२३ मा प्रकाशित

579 पटक पढिएको

arrested illustration

विराटनगर – मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा खोलामा एकजनाको ज्यानै जाने गरी भएको सामूहिक आक्रमण घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार भनिएका बेलबारी ५ का ३१ वर्षीय विनय सरदार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङ र प्रहरीको क्षेत्रीय अनुसन्धान समूह (रिट)को संयुक्त टोलीले सरदारलाई घटना भएको १८ दिनपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनबाट सोमबार राति ८:३० बजेतिर नियन्त्रणमा लिएको हो ।

घटनापछि भागेर मधुवन पुगेका उनलाई एकजना साथीको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको पुष्टि मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले गरेका छन् । सम्पर्कमा रहेका केही व्यक्तिको मोबाइल कल डिटेल अनुसन्धान गर्दै सरदारलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । एसपी खड्काले सरदारलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

सरदारको नेतृत्वमा गत भदौ १२ गते भएको सामूहिक आक्रमणमा परेर ४० वर्षीय चन्द्रकुमार राईको मृत्यु र उनकै परिवारका तीन जना घाइते भएको प्रहरीले जनाएको छ । बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा त्यहीदिन बूढीगंगाको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनामा ४३ वर्षीय सइकुमार, ३७ वर्षीय समुन्द्र र १६ वर्षीय गौरव राई घाइते भएका थिए । उनीहरु उपचारपछि घर फर्किसकेका छन् ।

मृतक र घाइतेहरु एउटै परिवारका हुन् । चन्द्रकुमार र समुन्द्र परिवारका माइलो छोरा सइकुमारका भाई र गौरव छोरा हुन् । मृतक चन्द्रकुमारलाई सरदारले नै बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

यस्तो थियो घटना

लोहन्द्रा खोलामाथि मानिस र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय राजन चौधरी, मञ्जा माझीलगायतका युवाहरुले बाँसको भाटा प्रयोग गरेर अस्थायी पुल बनाएका थिए ।

पुल बनाएको खर्च उठाउन भन्दै युवाहरुले खोला वारपार गर्दा स्वेच्छाले दिनेसँग प्रति मोटरसाइकल २५ रुपैयाँ लिन्थे । मानिसलाई भने पुल प्रयोग निःशुल्क थियो । लोहन्द्रा खोलामा रहेको सुनसरी–मोरङ सिँचाई आयोजनाको साइफनसहितको पक्की पुल २०७४ साल साउनमा आएको बाढीले बगाइदियो । खोलामाथिको पक्की पुल पुननिर्माणको काम भने तीन वषपछि भर्खर थालिएको छ ।

पक्की पुल नभएसँगै खोला वारपार गर्न समस्या हुँदा स्थानीय युवाले बाँसको पुल बनाएको वडा अध्यक्ष विश्वबन्धु बस्नेतले बताए । उनका अनुसार यसअघि पनि बनाइएका चारवटा बाँसका अस्थायी पुल खोलामा आएको बाढीले बगाइसकेको छ ।

बाँसको अस्थायी पुलबाट दैनिक सैयौं सर्वसाधारणले खोला वारपार गर्थे । वडा अध्यक्ष बस्नेतका अनुसार त्यही पुलमा उठाउने गरिएको पैसाको विवादका कारण ज्यानै जाने घटना हुन पुग्यो भने एउटै परिवारका अरु तीनजना घाइते । भदौ ११ गते राति मादक पदार्थ सेवन गरेर आएका कसेनीकै दिनेश श्रेष्ठ लगायतका युवाहरुले पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनु पर्नेभन्दै विवाद गर्न थालेको स्थानीयको भनाइ छ । त्यत्तिकैमा मोटरसाइकलमा आइपुगेका ग्रामथान गाउँपालिका–२ का ३३ वर्षीय कृष्ण चौधरी पनि विवादमा सामेल भए । चौधरी त्यहाँबाट जानुको साटो कसेनीकै विनय सरदारलाई फोन गरेर बोलाए ।

केही युवा लिएर सरदार आइपुगेपछि उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाए । तर उक्त विवाद भोलिपल्ट ज्यान लिने घटनामा परिणत भएको वडा अध्यक्ष बस्नेतले बताए । रिसइबी साँधेर बसेका सरदारले २५/३० जना युवा बटुलेर अघिल्लोरात विवाद गर्नेको खोजी गर्दै भोलिपल्ट आक्रमण सुरु गरेको स्थानीय बासिन्दाले बताए ।

झगडा सुरु हुनथालेको चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको उनीहरुकै आक्रमणमा परेर मृत्यु भएको हो । ‘पुलका कारण उत्पन्न विवादले मानिसकै ज्यान जाने घटनाको रुप लियो,’ वडा अध्यक्ष बस्नेतले भने, ‘जुन विवाद झगडामा परिणत हुँदा एकै परिवारका एक जनाको मृत्यु र तीन जना घाइते हुन पुगे ।’ उनका अनुसार अघिल्लो दिनको घटनासँग जोडिएका युवाहरू भएको भन्दै राई परिवारमाथि आक्रमण गरिएको पाइएको छ । तर उनीहरुको अघिल्लो घटनामा कुनै संलग्नता नभएको बस्नेतले बताए ।

विराटनगरमा नृत्य प्रशिक्षकको काम गर्ने अविवाहित चन्द्रकुमार कोरोना संक्रमणका कारण गरिएको ‘लकडाउन ‘ पछि गाउँमै गएर बसेको जानकारी बस्नेतले दिए । घटनामा संलग्नमध्ये ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी –६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई (थुलुङ) यसअघि नै पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।

घटनामा संलग्न ग्रामथान–७ का २५ वर्षीय प्रभात चौधरी, ३५ वर्षीय अनुज माझी, ग्रामथन– ५ का ३३ वर्षीय दिनेश चौधरी, ग्रामथान–४ का ३७ वर्षीय ओम धामी, ग्रामथान–२ का ३३ वर्षीय कृष्ण चौधरी, सुन्दरहरैँचा नगरपालिका–११ का ३३ वर्षीय दिनेश मास्के लगायत अझै फरार रहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome