सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

बैतडीका तीन स्थानीय तहका विद्यालयमा पठनपाठन सुचारु

८ आश्विन, २०७७ १६:३६ मा प्रकाशित

405 पटक पढिएको

school illustration

बैतडी – बैतडीका तीनवटा स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । कोभिड १९ का कारण लामो समयसम्म बन्द रहेका विद्यालय सञ्चालनमा आएका हुन् । जिल्लाको पुर्चौंडी नगरपालिकाका सामुदायिक विद्यालयमा बिहीबारदेखि पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । शिक्षण सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको उनले बताए ।

उनले भने,’ लामो समयदेखि विद्यालय बन्द हुँदा निकै समस्या भएको थियो । विद्यार्थीमा नकारात्मक असर नपरोस् भनेर हामीले विद्यालय सञ्चालनमा ल्याएका हौं ।’ नगरपालिकाका ७५ वटा सामुदायिक विद्यालयमध्ये ३९ वटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका थियो । ती विद्यालयमा निसंक्रमिकरण र सरसफाइ गरेपछि विद्यालय सञ्चालनमा आएको नागरीले बताए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाको सिकाइमा नकारात्मक असर पर्ने भएकाले केही दिनअघि बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरेको थियो । यस्तै जिल्लाको पञ्चेश्वर र शिवनाथ गाउँपालिकाले यही असोज ४ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गरेका छन् । कोभिड १९ का कारण बन्द रहेका विद्यालयमा पठनपाठन सुचारु गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने, ‘लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाहरुमा विभिन्न खालका समस्याहरु देखिन थाले । शैक्षिक गतिविधि बन्द हुँदा बालबालिकामा मानसिक समस्या समेत आउन थाले । त्यसैले हामीले विद्यालय सञ्चालनमा ल्याएका हौं ।’

बालबालिकाहरुको पठनपाठनमा असर नपरोस भनेर स्वास्थ्य सुरक्षाका मापदण्ड सहित विद्यालय सञ्चालनमा ल्याइएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् । विद्यालय सञ्चालनमा आएपछि बालबालिका खुसी भएर विद्यालय आएको कुलाउ माविका प्रधानाध्यापक मोतीसिंह मंगोलाले बताए ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाले पनि लामो समयदेखि बन्द रहेका विद्यालय खोल्ने तयारी गरिएको छ । गाउँपालिकाभरीका क्वारेन्टाइन र आइसोलेसन बनाइएका विद्यालयहरुमा निसंक्रमिकरण र सरसफाइको काम सकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्रप्रसाद ओझाले बताए ।

यस्तै मेलौली नगरपालिकाले पनि केही दिनभित्रै विद्यालय सञ्चालनको तयारी गरिरहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए । यस्तै जिल्लाको डिलाशैनी गाउँपालिकामा पनि विद्यालय सञ्चालनका लागि निसंक्रमिकरणको काम सम्पन्न भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिकाले पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । भीडभाड कम हुने गरेर टोलटोलमै गएर पढाउने, विद्यालयमा दुरी कायम गरेर पढाउने लगायतका उपायमा छलफल भएको र असोज दोश्रो साताबाट विद्यालय सञ्चालन ल्याउने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख मोहन नाथले बताए । जिल्लाका अन्य स्थानीय तहहरुले पनि विद्यालय सञ्चालनको तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome