शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

कोरोना महामारीकाबीच परीक्षा तालिका सार्वजनिक, कक्षा ११ का विद्यार्थी आन्दोलित

१२ आश्विन, २०७७ १६:५५ मा प्रकाशित

926 पटक पढिएको

grade 11 students protest in biratnagar

विराटनगर – कोरोना महामारीका बीच विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका छन्। पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गइरहे पनि महानगरले असोज २५ देखि कात्तिक ३ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको छ। संक्रमण तीव्र रुपमा फैलिएको र कोरोनाले ग्रस्त बनाएको विराटनगरमा निजी विद्यालय सञ्चालकको दबाबमा महानगरले एक्कासि परीक्षा तालिका सार्वजनिक गरेको स्रोतले बतायो।

परीक्षा सञ्चालनको विरोधमा उत्रिएका विद्यार्थीले सोमबार महानगरपालिकाको कार्यालय घेराउ गर्दै धर्ना दिए। कोरोना कहरले समस्यामा परिरहेका बेला चाडपर्वको मुखमा विद्यार्थीसँग शुल्क असुल्ने हिसाबले परीक्षा सञ्चालन गर्न लागिएकोभन्दै अभिभावकले पनि विरोध जनाएका छन्। उनीहरुले निजी विद्यालय सञ्चालकसँगको मिलेमतोमा कोरोना फैल्याउने गरी गर्न लागिएको परीक्षा तत्काल रोकिनु पर्ने माग राखेका छन्।

विद्यार्थीहरुले कोरोना महामारीको केन्द्र रहेको विराटनगरमा लिइने परीक्षामा सहभागी हुन नसक्ने जनाएका छन्। विद्यार्थी संरक्षण देवकोटाले परीक्षामा सहभागी हुँदा विद्यार्थीमा कोरोनाको जोखिम रहने बताए। ‘यति लामो समयदेखि पठनपाठन बन्द भएको अवस्थामा दशैंको मुखमा आएर परीक्षा लिन खोजियो,’ उनले भने, ‘विद्यार्थीसँग शुल्क उठाउने नयाँ काईदा रचिएको देखिन्छ।’ कोरोनाले खाना र लाउननै समस्या भइरहेका बेला अभिभावकसँग परीक्षा शुल्क बुझाउने पैसा नभएको विद्यार्थी शशांक पाठकले बताए। ‘समुदायस्तरमा कोरोना संक्रमण देखिएको विराटनगरमा ठूलो संख्या एकै ठाउँमा भेलाजम्मा हुँदा विद्यार्थीमा संक्रमण फैलन सक्छ,’ उनी भन्छन्, ‘यस्तो संकटको अवस्थामा हाम्रा अभिभावकले शुल्क बुझाउन सक्ने अवस्था छैन भन्ने कुरा पनि सम्बिन्धत निकायले बुझिदिनु पर्छ।’

पाठकले घरघरमा कोरोना पुग्ने जोखिम हुने भएकाले संक्रमण नियन्त्रणमा आएपछि परीक्षा लिनु पर्ने माग राखे। मुलुकमा अन्यत्र परीक्षाको तयारी नभए पनि विराटनगरमा परीक्षा लिन लागिएपछि विरोधमा उत्रनु परेको विद्यार्थीको भनाइ छ। विराटनगर बाहिरका विद्यार्थीहरुले कोरोना महामारीको कारण घरमै सुरक्षित बसिरहेको बेला परीक्षाको लागि विराटनगर आउन सम्भव नहुने बताएका छन्। ‘चाडपर्वको मुखमा परिवारमा कोरोना सर्‍यो भने कसले जिम्मा लिन्छ ?,’ सिरहा घर भएका विद्यार्थी अजय साहले भने, ‘परीक्षाका नाममा विद्यार्थी र परिवारलाई नै जोखिममा पार्ने काम भइरहेको छ।’

शिक्षा मन्त्रालयले माघ महिनासम्ममा परीक्षा लिन निर्देशन दिएको भए पनि अहिले नै परीक्षा लिनुपर्ने कारणबारे महानगरले कुनै स्पष्ट जानकारी दिएको छैन। शिक्षा मन्त्रालयले तत्काल विद्यालय नखोल्न दिएको निर्देशन उल्लंघन गर्दै जबरजस्ती शुल्क असुल्ने प्रयोजनको लागि परीक्षा लिन लागिएको विद्यार्थीको आरोप छ। अहिल्यै गर्ने भए अनलाइन पद्दतिबाट परीक्षा सञ्चालन गर्नुपर्ने विद्यार्थीको माग छ।

विराटनगरबाहेक मोरङका अरु कुनै पनि स्थानीय तहले परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेका छैनन्। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ। त्यहीअनुसार परीक्षा सञ्चालनको तयारी भएको विराटनगर महानगरपालिकाको शिक्षा शाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए। उनले महानगरले परीक्षाको समन्वय मात्र गरेको बताउँदै परीक्षाकै कारण कोरोना सर्छ भन्ने कुरा गलत भएको दाबी गरे।

उच्च माध्यकि विद्यालय सञ्चालकहरुको संगठन हिसान मोरङका अध्यक्ष राजेश कार्की परीक्षामा सहभागी हुँदैमा कोरोना नसर्ने दाबी गर्छन्। ‘विद्यार्थीबाटै शुल्क उठाएर शिक्षकलाई तलब खुवाउने बाध्यता छ,’ उनी भन्छन्, ‘त्यही भएर सुरक्षा सावधानी अपनाउँदै परीक्षा सञ्चालन गर्न लागिएको हो।’ कार्कीले अभिभावक र विद्यार्थीकै सहजताका लागि परीक्षा सञ्चालनको तयारी भइरहेको बताउँदै तत्काल शुल्क बुझाउन नसक्नेलाई पछि तिर्दा पनि हुने गरी बाटो खुल्ला राखिने जानकारी दिए।

विराटनगरमा कक्षा ११–१२ पढाई हुने ३७ वटा विद्यालय छन्। जसमा २६ वटा निजी स्तरका छन्। कक्षा ११ मा प्रदेश १ र २ का करिब आठ हजार विद्यार्थी अध्ययनरत छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome