आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

चौतर्फी विरोधपछि विराटनगरमा कक्षा ११ को परीक्षा स्थगित

१३ आश्विन, २०७७ १६:०५ मा प्रकाशित

809 पटक पढिएको

grade 11 students protest in biratnagar

विराटनगर – विराटनगर महानगरपालिकाले लिने भनिएको कक्षा ११ को परीक्षा तत्काल नहुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिएको विराटनगरमा लिन लागिएको परीक्षा चौतर्फी विरोधपछि स्थगित गरिएको हो ।

महानगरले असोज २५ देखि कात्तिक ३ गतेसम्म परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको थियो । निजी विद्यालयसँग मिलेमतो गरेर महानगरपालिकाले एकलौटी तथा एकतर्फी रुपमा तालिका सार्वजनिक गरेको आरोप लगाउँदै विद्यार्थी र अभिभावकले विरोध गरेका थिए ।

कोरोना कहर र चाडपर्वको मुखमा अचानक परीक्षा गर्न लागिएको भन्दै आन्दोलित बनेका विद्यार्थीले महानगरको कार्यालय घेराउ गर्दै धर्ना दिएका थिए । पढाउँदै नपढाएको शुल्क असुल्ने हिसाबमा परीक्षा गर्न लागिएको भन्दै अभिभावक पनि आक्रोसित बनेका थिए ।

परीक्षाका नाममा एकै ठाउँमा ठूलो संख्यामा विद्यार्थी भेला पारिँदा कोरोना संक्रमण विद्यार्थी र उनीहरुको परिवारसम्म फैलन सक्नेभन्दै जोखिमपूर्ण अवस्थामा गर्न लागिएको परीक्षाको चौतर्फी विरोध भएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबारसाँझ बसेको सर्वपक्षीय बैठकमा परीक्षा स्थगित गर्ने सहमति भएको छ । अब परीक्षा कहिलेदेखि सञ्चालन गर्नेभन्ने निर्णय जिल्लास्तरीय कोरोना क्राइसिस मेनेजमेन्ट कमिटीको बैठकबाट हुने जानकारी प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दिए । कोरोना महामारीमा परीक्षा सञ्चालन गर्ने अवस्था नभएका कारण सर्वपक्षीय सहमतिमै तत्काललाई स्थगित गरिएको उनको भनाइ छ ।

परीक्षा गर्न नसकिने अवस्था हुँदाहुँदै परीक्षाको तालिका सार्वजनिक भएका कारण विद्यार्थीहरु अन्योलमा परेकोले सबैको सहमतिमा परीक्षा स्थगित गर्ने तयारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

महानगरका मेयर भीम पराजुलीले पठन पाठननै नभएकाले चैतदेखि असोजसम्मको शुल्क कुनै पनि विद्यालयले लिन नपाउने उल्लेख गरे । विद्यार्थीको मनोविज्ञान बुझेर परीक्षा लिने पक्षमा महानगर नभएको उनले बताए । कक्षा ११ को परीक्षा तत्काल आवश्यक नभएको बताउँदै पराजुलीले कक्षा १२ को परीक्षा नहुँदा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी भने समस्यामा परेको जनाए ।

उनले कक्षा १२ को चैं परीक्षा लिने वातावरण तत्काल बनाउनु पर्नेमा पनि जोड दिए ।विराटनगरमा प्रदेश १ र २ का करिव ८ हजार विद्यार्थी कक्षा ११ मा अध्ययनरत रहेको महानगरले जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome