सोमबार, १९ जेठ २०७७

hostgator optimized wordpress hosting

लकडाउनका कारण नेपाल वायुसेवा निगमलाई ५ अर्ब नोक्सानी

२० बैशाख २०७७, शनिबार १४:२१ मा प्रकाशित

790 Views पटक पढिएको

nepal airlines aircraft a330

काठमाडौं, २० बैशाख : नेपाली ध्वाजाबाहक नेपाल वायुसेवा निगमले कोरोना भाइरस महाव्याधि (कोभिड–१९) का कारण उडान कटौती र चैत महिनायता भइरहेको लकडाउनले करिब ५ अर्ब रुपैयाँ नोक्सानीमा जाने अनुमान गरेको छ। सरकारले चैत १० गतेदेखि सुरु गरेको बाह्य तथा आन्तरिक उडान बन्द र लकडाउनका कारण कुनै पनि उडान नभएपछि चालु आर्थिक वर्षको असारसम्म करिब ५ अर्ब रुपैयाँ नोक्सानी हुने आँकलन छ।

चालु आर्थिक वर्षमा करिब १७ अर्ब रुपैयाँ आम्दानी गर्ने आंकलन भएको भए पनि कोभिड १९ का कारण सबै उडान बन्द भएपछि चालु अवधिमा निगम घाटामा जाने अध्यक्ष सुशील घिमिरेले जानकारी दिए। चालु आर्थिक वर्षको साउनबाट फागुनसम्म निगमको आम्दानी करिब १२ अर्ब रुपैयाँ रहेको छ। जेठ २ गतेसम्म उडान बन्द गरिएको र बन्द फुकुवा भए पनि नियमित उडान हुन नसक्ने र साविकको जस्तो आम्दानी पनि हुन नसक्ने अध्यक्ष घिमिरे बताउँछन्।

निगमको मुख्य आम्दानीको स्रोत व्यावसायिक उडानभन्दा पनि यात्रु तथा कार्गोको ग्राउन्ड ह्यान्डलिङ हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने दैनिक करिब ६५ अन्तर्राष्ट्रिय उडान वापतको ग्राउन्ड ह्यान्डलिङ शुल्क निगमले नै लिने गर्छ। चालु आर्थिक वर्षको फागुनसम्म ग्राउन्ड ह्यान्डलिङवापत करिब २ अर्ब ८२ करोड रुपैयाँ उठेको छ। यो रकमलाई प्रत्येक महिनाको औसत हिसाब गर्दा प्रत्येक महिना करिब ३५ करोड २५ लाख रुपैयाँ आम्दानी हुन्छ। यसरी हिसाब गर्दा चैतदेखि असारसम्म १ अर्ब ७६ करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ। निगमको अन्य आम्दानीको स्रोतमा व्यावसायिक उडान, सेयर लगानी तथा भाडा रहेको छ।

लकडाउनयता सम्पूर्ण उडान बन्दाकाबीच भएका केही चार्टर्ड उडानले निगमलाई केही राहत दिएको भए पनि अहिले आम्दानी नगन्य भएको अध्यक्ष घिमिरेले बताए। लकडाउनयता निगमले ४ वटा कार्गो र ४ वटा चार्टर्ड उडान गरेको छ। योबीचमा केही आन्तरिक रूपमा पनि चार्टर्ड उडान भएका छन्। चार्टर्ड उडान वापत निगमले प्रतिघण्टा १८ हजार डलर लिने गरेको बताइएको छ।

आम्दानीको स्रोत बन्द भएपछि निगमले खर्च व्यवस्थापनका लागि कर्मचारीको तलब कटौती र बेतलबी विदाको निर्णय गरिसकेको छ। अहिलेको समयमा संस्था टिकाइ राख्नु चुनौती भएको निगम अध्यक्षले बताए।

आर्थिक अप्ठ्यारोमा परेपछि निगमले पनि सरकारसँग आफ्ना केही माग अघि सारेको छ। जहाज खरिदका लागि करिब ३७ अर्ब रुपैयाँ ऋणको किस्ता हरेक ३ महिना तिर्नुपर्छ। तर, चैतको किस्ता तिर्न सक्ने अवस्था नभएपछि अर्थमन्त्रालयसँग ऋण सहजीकरणका लागि माग गरिएको अध्यक्ष घिमिरेले बताए। सरकारको नै संस्था भएकाले अप्ठ्यारो परेको बेलामा सरकारको भरथेग आवश्यक पर्ने उनको भनाइ छ।

यस्तै, आन्तरिक उडान थप गर्नका लागि ५ वटा जहाज किन्ने सम्बन्धमा पनि अर्थमन्त्रालयसँग छलफल भएको घिमिरेले जानकारी दिए। भएका जहाजले दुरदराजका ठाउँसम्म पुग्न नसकिने हुँदा जहाज थप गरेर व्यवसाय वृद्घिको योजना निगमको रहेको छ।

साथै निगमले आफ्ना भौतिक सम्पत्तिलाई व्यावसायिक रूपमा प्रयोग गरेर आम्दानीको स्रोत बढाउने योजनामा पनि बनाएको छ। काठमाडौंको सिनामंगलमा भएका ३५ रोपनी जग्गामा भवन बनाएर प्रधान कार्यालय सार्ने र कान्तिपथको करिब १४ रोपनी जग्गालाई व्यावसायिक भवन बनाएर भाडामा लगाउने गरी काम अघि बढाइएको छ। यस्तै काठमाडौंबाहिर रहेको निगमको सम्पत्तिलाई पनि व्यावसायिक प्रयोगमा ल्याउने गरी काम अघि बढाइएको अध्यक्ष घिमिरेले बताए।

शेयर गर्नुहोस् ।
Share on Facebook
Facebook
Pin on Pinterest
Pinterest
Tweet about this on Twitter
Twitter
Share on LinkedIn
Linkedin

प्रतिकृया दिनुहोस्

hostgator optimized wordpress hosting

webtrickshome web design and development tutorials

hostgator 60% off on optimized wordpress hosting