बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

भक्तपुरको तलेजुमा यसपाली दशैँमा बलि नचढ्ने

२१ आश्विन, २०७७ ०७:०० मा प्रकाशित

503 पटक पढिएको

bhaktapur taleju temple

भक्तपुर – कोरोना भाइरस संक्रमणको कारण भक्तपुरको तलेजुमा बडा दशैँमा बलि नचढ्ने भएको छ। यसअघि बिस्काजात्रा, चैते दशैँ र यसपछिका विभिन्न पूजामा समेत तलेजुमा बलि चढेको थिएन।

दशैँमा सर्वसाधारणको भीड हुने हुँदा कोरोना भाइरस संक्रमण हुन नदिन दशैँमा तलेजुमा बलि रोक्ने निर्णय गरिएको हो। भक्तपुर नगरपालिकामा मंगलबार भएको सरोकारवालाहरुसँगको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो।

भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीका अनुसार दशैँभर तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ वटा हाँसको बलि दिइन्छ। उनले तलेजुमा सप्तमी, अष्टमी र नवमी गरी तीन दिन बलि पूजा हुने जानकारी दिए।

‘तर कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको कारण यस वर्ष पहिलोपटक दशैँमा तलेजुमा बलि नचढ्ने भयो’, मूल नाइके जोशीले भने, ‘गएको बिस्काजात्राको स्याक्वत्याक्वपछि १२ वटा थापूजामा समेत तलेजुभित्र बलि चढेन।’

उनले दशैँमा तलेजुसँगै तलेजुबाट त्रिपुरासुन्दरीसहित अष्टमातृका र नवदुर्गा पीठमा बलिसहितको पूजा जाने परम्परा भएकाले बलि दिइने चौपाया तथा दोपायाको संख्या बढी देखिएको स्पष्ट पारे।

त्यस्तै तलेजुभित्र पनि इष्टदेवदेवीहरु तलेजुसँगै द्वेमाजु र मानेश्वरीलगायत भएकाले धेरै बलिपूजा देखिएको उनको भनाइ थियो। मूल नाइके जोशीकाअनुसार दशैँको सप्तमीको एकैदिन ७ राँगो र ८ बोकाको मार हानिन्छ।

बिस्काजात्राअन्तर्गत स्याक्वत्याक्वमा मात्रै तलेजुमा ३७ वटा बोका, एउटा राँगो र केही हाँस तथा कुखुराको बलि पूजा हुन्थ्यो। जुन यस वर्ष पहिलोपटक रोकिएको थियो।

स्काजात्रापछि चैते दशैँ, बैशाखमा २, जेठमा ३, असारमा ५ र असोजमा २ गरी १२ वटा थापूजामा पनि बलि चढेन। त्यस्तै साउन महिनामा दमनारोहण र भाद्रमा पवित्रारोहण पूजामा पनि बलि नचढेको मूल नाइके जोशीले जानकारी दिए।

चैते दशैँमा ९ वटा बोका, प्रत्येक थापूजामा ७ वटा बोका, एउटा राँगो र एउटा हाँस तथा दमनारोहण पूजामा एकराँगो र एक बोका तथा पवित्रारोहण पूजामा एक राँगो र एक हाँसको बलि दिइँदै आएको उनले बताए।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले दशैँ अवधिभर तलेजुमा सर्वसाधारणको प्रवेशमा समेत रोक लागउने निर्णय गरेको छ।

दशैँको पहिलो दिन घटस्थापनादेखि पूर्णिमासम्म सर्वसाधारण विभिन्न अष्टमातृकाको शक्तिपीठमा पूजाआजापछि तलेजु पुग्ने गर्दै आएका छन्। तलेजुलाई अष्टमातृकाको केन्द्र मानिन्छ। त्यसैले दशैँमा बढीभन्दा बढी सर्वसाधारण तलेजु पुग्ने गर्छन्।

यससँगै दशैँको सप्तमी र विजया दशमीको दिन तलेजुको खड्गयात्रा हुन्छ। तलेजुको मूलचोकमा हुने उक्त खड्गयात्रा हेर्न सर्वसाधारणहरुबीच तँछाडमछाड हुँदै आएको छ।

त्यस्तै महानवमीको दिन तलेजुस्थित दशैँघरमा एकान्तकुमारीको सवारी हुन्छ। त्यसबेला पनि सर्वसाधारणको भीड लाग्छ। विजयादशमीको मध्यरात तलेजुबाट पायोजात्रा निकालिन्छ। तलेजु भवानीको प्रतीकस्वरुप खड्गलाई सेतो घोडामा सवार गराएर भक्तपुर नगर परिक्रमा गराइन्छ। यस जात्रामा पनि सर्वसाधारणको सहभागिता उल्लेखनीय हुने गर्दै आएको छ।

तर मंगलबार गरिएको निर्णयले सर्वसाधारणको सहभागिता हुने पायोजात्रा हुने या नहुने निक्र्योल नभएको मूल नाइके जोशीले सुनाए। सर्वदलीय बैठकले दशैँको पहिलो दिनदेखि शक्तिपीठहरुमा बाजागाजासहित पूजाआजामा नजान सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको छ।

दशैँको पहिलो दिनदेखि विजया दशमीसम्म क्रमशः ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी र त्रिपुरासुन्दरी शक्तिपीठमा सर्वसाधारण बिहान र बेलुका गरी नवरात जाने प्रचलन रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome