शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

आईपीएलमा मुम्बई इन्डियन्सको चौँथो जित

२१ आश्विन, २०७७ ०७:१० मा प्रकाशित

292 पटक पढिएको

mumbai indians in ipl

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा मुम्बई इन्डियन्सले चौँथो जित निकालेको छ। हिजो राति अबुधाबीस्थित शेख जायद रंगशालामा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको हो।

टस जितेर पहिलो ब्याटिङ गर्दै मुम्बईले ४ विकेट गुमाएर राजस्थानलाई १९४ रनको चुनौति दिएको थियो। जवाफमा राजस्थान १८.१ ओभरमै सबै विकेट गुमाउँदै १३६ रनमा रोकियो।

राजस्थानका लागि जोस बटलरले ७० रन बनाउन बाहेक अन्य ब्याटसम्यान चल्न सकेनन्। इङल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले २४ रन बनाए। त्यस्तै टोम कुरानले १५ रन जोडे।

राजस्थानका लागि मुम्बईका बलर जसप्रित बुम्राह घातक सावित भए। उनले ४ ओभर बलिङ गर्दा २० रन खर्चिएर ४ विकेट झट्काए। त्यस्तै ट्रेन्ट बोल्ट र जेम्स प्याटिन्सनले समान २/२ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको मुम्बईका सूर्यकुमार यादवले विष्फोटक ब्याटिङ गरेका थिए। उनले ४७ बलमा ७९ रन बनाएका थिए। उनले २ छक्का र ११ चौका हिर्काएका थिए। त्यस्तै कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पान्ड्याले ३० रनको योगदान गरेका थिए।

राजस्थानका लागि श्रेयस गोपालले २ विकेट लिए। त्यस्तै जोफ्रा आर्चर र कार्तिक त्यागीको नाममा १/१ विकेट रह्यो।

जितसँगै ६ खेल खेलेको मुम्बई ८ अंकका साथ शीर्षस्थानमा पुगेको छ। रनरेटका आधारमा मुम्बई दिल्ली क्यापिटल्सभन्दा माथि रहेको हो। दिल्लीको ५ खेलबाट ८ अंक रहेको छ। त्यस्तै राजस्थान भने अन्तिमबाट दोस्रो स्थानमा रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome