आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

दुई कर्मचारीमा कोरोना देखिएपछि पाटन नगरपालिका एक हप्ताका लागि सिल

२३ आश्विन, २०७७ १६:४७ मा प्रकाशित

614 पटक पढिएको

patan municipality baitadi

बैतडी – बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने स्वास्थ्य अवस्था समान्य रहेको उनले बताए ।

यसैबीच नगरपालिकामा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि पाटन नगरपालिका एक हप्ताका लागि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए ।

एक हप्ताका लागि नगरपालिका सिल गरिएको उनले बताए । उनले भने, ‘यही असोज ३० गते सम्मका लागि नगरपालिका र वडाबाट प्रदान गरिने सबै सेवाहरु बन्द गरिएका छन् । कोरोनाको जोखिम बढ्दै गएकाले यस्तो निर्णय गरेका हौं ।’

यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरी कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

बैतडीका थप दुईजनामा कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमतिको संख्या ४२० पुगेको छ । संक्रमित मध्ये ३९७ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भइसकेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २२ रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

जोखिमयुक्त क्षेत्रबाट फर्केकाहरुको पीसीआर परीक्षण गरिने

बैतडीको पाटन नगरपालिकाले भारत तथा नेपालका जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौंबाट फर्केका दुईजनामा कोरोना पुष्टि भएपछि देशका जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकको पीसीआर परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

जोखिमयुक्त क्षेत्रबाट फर्केका नागरिकका बारेमा वडाले जानकारी राख्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए । कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि पीसीआर परीक्षणको रिपोटको आधारमा मात्रै घर पठाइने उनले बताए । नेपालका जोखिमयुक्त क्षेत्रबाट आएका नागरिकलाई पनि क्वारेन्टाइनमा बस्न लगाइने बताइएको छ ।

दसैंतिहार नजिक आएसँगै काठमाडौंलगायतका क्षेत्रबाट नागरिकहरु घर फर्कने क्रम बढेकाले कोरोना संक्रमणको जोखिम पनि बढ्दै गएको छ । यस्तै तिहारसम्म नगरपालिका क्षेत्रभित्र सबै प्रकारका तालिम, गोष्ठीलगायत भीडभाड हुने खालका कार्यक्रम बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome