बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

सप्तरीमा संक्रमित महिलाको शव सुटुक्क जलाईयो

२७ आश्विन, २०७७ ०७:१५ मा प्रकाशित

524 पटक पढिएको

hindu funeral

राजविराज – सप्तरीमा मृत्यु भएकी एक कोरोना संक्रमित महिलाको शव परिवारका सदस्यले सुटुक्क जलाएका छन्। कोरोना संक्रमणबाट मृत्यु भएकी ६६ वर्षीया महिलाको शव उनका परिवारका सदस्यले जानकारी नदिइ अन्तिम संस्कार गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी महिला राजविराज नगरपालिका–६ सिरहा रोडमा पसल सञ्चालन गरेर श्रीमानसँगै बसेकी थिइन्। उनको सप्तकोशी नदी किनारमा परिवारका सदस्यहरुले आइतबार दाह संस्कार गरेका छन्।

राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम यादवले शव व्यवस्थापनको जिम्मेवारी स्थायी घर रहेको डाक्नेश्वरी नगरपालिकाको रहेकोले शव व्यवस्थापन बारे आफूलाई जानकारी नभएको बताए। त्यसैगरी डाक्नेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष रामनारायण चौधरीले पुर्ख्यौली घर डाक्नेश्वरी भए पनि लामो समयदेखि आवतजावत समेत नगरी राजविराजमै बसेकाले राजविराज नगरपालिकाले शव व्यवस्थापन गर्नु पर्ने भन्दै पन्छिए।

केही दिनदेखि ज्वरो आएको महिलाको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बसेकी उनलाई आइतबार बिहान स्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको एक घण्टामै मृत्यु भएकी महिला कोरोना संक्रमित भएको जानकारी समेत नदिई परिवारका सदस्यहरुले शव लिएर गएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

शव व्यवस्थापनबारे स्वास्थ्य कार्यालय, स्थानीय प्रहरी, प्रशासन र नेपाली सेनाले दिनभरि पत्ता लगाउने प्रयास गर्दा मृतकको दाह संस्कार भइसकेको जानकारी राति मात्र पाएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। यो समेत सप्तरीमा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सप्तरीमा हालसम्म १ हजार ४०१ जना कोरोना संक्रमित भएकोमा १ हजार ११२ जना निको भएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome