बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

२९ आश्विन, २०७७ १५:१५ मा प्रकाशित

551 पटक पढिएको

shital niwas

काठमाडौं – नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार बिहान करिब साँढे ११ बजेतिर नवनियुक्त तीन मन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित समारोहमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन्।

प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका थिए। उनले पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ। उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राखेका छन्। अन्य मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी यथावत् छ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति र हेरफेरको निर्णय भएको जानकारी दिएको थियो।

यो पुनर्गठनमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी नयाँखाले जिम्मेवारी दिइएको छ। ‘सरकार गठनको सुरुदेखि नै यस किसिमको जिम्मेवारीबारे प्रधानमन्त्रीले भन्दै आउनुभएको थियो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘फराकिलो दायरा, ठूलो क्षेत्र र महत्वपूर्ण दायित्व भएकाले उहाँले प्रधानमन्त्री कार्यालयका लागि छुट्टै मन्त्रालयको अवधारणा ल्याउनुभएको हो।’

प्रधानमन्त्री कार्यालयअन्तर्गत सम्पत्ति शुद्धीकरण, राजस्व न्यायाधिकरण, राष्ट्रिय अनुसन्धानलगायत महत्वपूर्ण विभागीय जिम्मेवारी पोखरेलले सम्हाल्ने गरी उनलाई त्यता सारिएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

२०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन तथा विस्तार गरेको यो एघारौंपटक हो। गत भदौ २६ मा पार्टीभित्रको आन्तरिक विवाद मिलाउँदै नेकपाको स्थायी समिति बैठकले सरकार पार्टीको नीतिगत मार्गनिर्देशनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय लिने प्रस्ताव पारित गरेको थियो।

त्यसयता नेकपाले सचिवालयमा एकपटक मन्त्रिमण्डल पुनर्गठनको मापदण्डका विषयमा केन्द्रित रहेर छलफल गरेको थियो। दुई अध्यक्षले यसबीच पटक–पटक वार्तालाप गरेका थिए। प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिमण्डल पुनर्गठन गर्नुअगाडि मात्रै पनि बालुवाटारमा अर्का अध्यक्ष दाहाल, महासचिव पौडेललगायत नेतासँग झन्डै दुई घण्टा छलफल गरेका थिए। ओली मन्त्रिमण्डल पुनर्गठनको विषयमा सुरुदेखि नै रिक्त मन्त्रालयमा मात्र नयाँ मन्त्री नियुक्त गरेर जानुपर्ने पक्षमा अडिग थिए। दाहाल अधिक मन्त्री हेरफेर गर्नुपर्ने पक्षमा उभिँदै आएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome