बुधबार, १२ कार्तिक २०७७
बुधबार, १२ कार्तिक २०७७

IT Training Nepal

बीपी प्रतिष्ठानले भर्ना नलिँदा तीन कोरोना संक्रमितको मृत्यु

२९ आश्विन, २०७७ १६:४९ मा प्रकाशित

699 पटक पढिएको

corona patient dies

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेभल थ्री कोभिड–१९ अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नमान्दा धरानका तीन पुरुषको मृत्यु भएको छ । पटक–पटक भर्ना गरिदिन अनुरोध गर्दा पनि चिकित्सकले अटेरी गरी ती पुरुषको उपचार अभावमा मृत्यु भएको हो । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–९ का ५८ वर्षीय पुरुष, १५ का ६८ वर्षीय पुरुष र धरान १६ का ६२ वर्षीय पुरुषको निधन भएको हो ।

धरान १५ का पुरुषलाई श्वास फेर्न समस्या भएपछि बुधबार प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि लगिए पनि प्रतिष्ठानले भर्ना नलिएपछि विराटनगरको कोसी कोभिड अस्पताल भर्ना गरिएको थियो ।

उनको बुधबार राती निधन भएको थियो । त्यस्तै धरान १६ का पुरुषको पनि प्रतिष्ठानले भर्ना नलिइदिँदा घरमा नै बुधबार राती मृत्यु भएको उनका आफन्त जय सम्बाहाम्फेले बताए । उनले सरकारले करौडौं रुपैयाँ खर्च गरेर स्थापना गरेको कोभिड अस्पतालमा बिरामीलाई उपचार गर्न अस्वीकार गर्ने चिकित्सलाई कडा कारवाही गर्न माग गरेका छन् ।

तीन दिन अगाडि कोरोना पोजिटिभ देखिएका धरान–९ का पुरुषलाई पनि बीपी प्रतिष्ठानले भर्ना नलिएकै कारण उपचार नपाएर निधन भएको वडाअध्यक्ष रत्न कट्वालको आरोप छ । उनले बीपी कोभिड अस्पतालका फोकल प्रर्सन डा. इन्द्र लिम्बूलाई पटक–पटक आग्रह गर्दा समेत संक्रमित बिरामीलाई भर्ना नगरिदिएको गुनासो गरे । बुधबार धेरै पटक फोन सम्पर्क गरी डाक्टरलाई बिरामी भर्ना गर्न अनरोध गरे चिकित्सले नमानेपछि विजयपुर हस्पिटलबाट अक्सिजन ल्याइ घरमै दिएपनि सुधरा नभएपछि बिहीबार बिहान जबरजस्ती बीपी लैँजादै गर्दा संक्रमितको प्रतिष्ठानको प्राङगणमा मृत्यु भएको वडाअध्यक्ष कट्वालले बताए ।

उनले बिरामी भर्ना नगर्ने चिकित्सक र अस्प्ताल व्यवस्थापन गर्न नसक्ने प्रतिष्ठानका पदाधिकारीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेका छन् । सय बेडको कोभिड अस्पतलमा बिहीबारसम्म ५६ जना बिरामी भर्ना भएका छन् ।

४४ बेड अझै खालि भएपनि संक्रमित बिरामीलाई भर्ना नगर्नु प्रतिष्ठान व्यवस्थापनको चरम लापरवाही भएको स्थानीयको आरोप छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा. आषिश श्रेष्ठले कोभिड अस्पतालमा अक्सिजन अभाव र भेण्टिलेटर अभावका कारण प्रतिष्ठानमा आउने सबै बिरामीलाई भर्ना गर्न नसकिएको बताए ।

उनले संक्रमित बिरामीको उपचार सेवा प्रभावकारी र सबै बिरामीलाई भर्ना गर्ने वातावरणका लागि आवश्यक व्यवस्थापन भइरहेको जानकारी दिए। सरकारले बीपी प्रतिष्ठानमा करोडौं रुपैयाँ रकम दिएर लेभल थ्री कोभिड अस्पताल स्थापना गरेको भएपनि प्रतिष्ठनको नेतृत्व सम्हालेका पदाधिकारीको चरम लापरवाहीका कारण अस्पताल अस्तव्यस्त बनेको छ ।

कोभिड अस्पतालमा भर्ना भएका बिरामीलाई अक्सिजन र भेण्टिलेटर अभावका कारण चिकित्सकले बिरामी भर्ना गर्न छाडेका छन् । सिमित बिरामीलाई मात्र भर्ना गरी उपचार गरिँदै आएको कोभिड अस्पतालमा गम्भीर प्रकृतिका संक्रमित बिरामी भर्ना हुन नपाएपछि घरमै मर्न बाध्य पारिएको धरानका मेयर तिलक राईले बताएका छन् ।

उनले प्रतिष्ठानको कोभिड अस्पतालले बिरामी भर्ना लिन अस्विकार गरेका कारण धरानवासीलाई घरमै मर्न वाध्य पारिएको भन्दै प्रतिष्ठानको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीसमक्ष प्रतिष्ठान सुधारको माग गरेका छन् ।

कोभिड अस्पताल संचालनका लागि प्रतिष्ठानले दश वटा भेण्टिलेटर खरिद गरेको भएपनि हाल ६ वटा काम नलाग्ने गरी बिग्रिएका छन् । भेण्टिलेटर खरिद गरिएको दुई महिना नपुग्दै बिग्रिएपछि संक्रमित बिरामी उपचार पाउनबाट बञ्चित भएका छन् ।

प्रतिष्ठानमा कमसल उपकरण खरिद गरि प्रतिष्ठानको नेतृत्व सम्हाल्न नसक्ने ग्रैह जिम्मेवार पदाधिकारीलाई कारवाहीको दायरमा ल्याउन समेत मेयर राईले प्रधानमन्त्री समक्ष माग गरेका छन् ।

यता उपचार नपाएर संक्रमित बिरामीको मृत्यु भएको खबर सार्वजनिक भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रतिष्ठानको अनुगमन गरेका छन् । बिहीबार प्रतिष्ठान आएका उनले प्रतिष्ठानको स्वास्थ्य सेवामा व्यवस्थापन पक्षले धेरै कमजोरी गरेको र सर्वसाधारणको समेत व्यापक गुनासो आएको भन्दै तत्काल स्वास्थ्य सेवा सुधार गर्न मन्त्री घिमिरेले प्रतिष्ठानका चारैजना पदाधिकारीलाई निर्देशन दिएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले पनि प्रतिष्ठानले बिरामीको उपचार सन्तोषजनक नरहेको र संक्रमितलाई भर्ना नगर्नू अत्यन्तै गलत काम भएको भन्दै स्वास्थ्य सेवा सुधार गर्नुपर्नेमा जोड दिए। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि प्रतिष्ठानको उपचार सेवा प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिएको बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome