बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

ठूलो परिमाण ब्राउन सुगरसहित दाजुभाइ पक्राउ

२ कार्तिक, २०७७ १६:४३ मा प्रकाशित

654 पटक पढिएको

brown sugar smugglers in custody

राजविराज – सप्तरी प्रहरीले ठूलो परिमाणमा पहिलो पटक लागूऔषध खैरौ हेरोइन (ब्राउन सुगर)सहित दाजुभाइ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा र उनका भाइ १९ वर्षीय निरज शर्मालाई शनिबार पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपित काका–ठूलो बुवाका छोराहरू हुन् ।

निरजले चलाएको स. ७ प १८६५ नम्बरको मोटरसाइकल इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीबाट खटेको प्रहरी टोलीले रोकेर जाँच गर्ने क्रममा पछाडी सवार भरतले लगाएको पेण्ट्सको गोजीमा लुकाएर राखेको अवस्थामा ५० ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित महदेवा गाउँबाट महुलीतर्फ जाने भित्री सडक खण्डबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । भरतको गोजीबाट १० ग्रामको दरले बनाएको ५ पोका खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताए ।

लागुऔषध खैरो हेरोइन ओसारपसार गर्ने ट्रान्जिट प्वाइन्ट बनेको महुलीमा प्रहरीले निगरानी बढाएपछि आरोपितहरू पक्राउ परेको एसपी धमलाले बताए । एसपी धमलाका अनुसार भारतबाट ल्याइने लागु औषध उदयपुर र धरानलगायतका ठाउँमा जाने गरेको छ । यसअघि उदयपुर प्रहरीबाट खटिएको सादा पोशाकका प्रहरीले महुलीबाट गएको खैरौ हेरोइन बरामद गरे पनि ओसारपसार गर्ने आरोपित पक्राउ परेका थिएनन् ।

आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको र एक वर्षदेखि लागुऔषध ओसारपसार गर्न थालेको स्वीकारेका छन् । सप्तरी जिल्ला अदालतबाट आइतबार म्याद थप गराएर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ को दफा १४ (१) को (छ) अनुसार अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन र खेती गर्ने कार्य बोहक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्म कैद र पाँचलाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवाना छ ।

पच्चीस ग्रामसम्मको कारोबार गर्नेलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना तथा एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्म कैद र पाँच लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome