मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

आईपीएलमा सुपर ओभर : कोलकाता र पन्जाब विजयी

३ कार्तिक, २०७७ ०८:२२ मा प्रकाशित

671 पटक पढिएको

ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत आइतबार भएको दुबै खेलको निर्णय सुपर ओभरबाट भएको छ । पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्‍यो भने दोश्रो खेलमा मुम्बई ईण्डियन्स र किङ्स ११ पञ्जाबबिचको खेलमा दुई पटक सुपर ओभर खेलीयो । पहिलो सुपर ओभरमा मुम्बई र पञ्जाब दुबैको समान ५ रन बनाए । दोश्रो सुपर ओभरमा भने मुम्बईले दिएको ११ रनको लक्ष्य विरुद्ध पञ्जाबले १५ रन बनाउँदै जित हात पार्‍यो ।

पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको कोलकाताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १६३ रन बनाएको थियो। १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले अन्तिम ओभरमा १७ रन जोड्दै बराबरी गरेपछी खेल सुपर ओभरमा धकेलिएको हो।

सुपर ओभरमा हैदराबादले डेभिड वार्नर र अब्दुल समादलाई मैदान उतारेको थियो। तर, कोलकत्ताका लक्की फर्गुसनले पहिलो बलमा वार्नर र दोस्रो बलमा समादलाई आउट गरे। फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो। सुपर ओभरमा पाएको ३ रनको चुनौती कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा भेट्दै विजयी भयो।

सुपर ओभरअघि हैदराबादका कप्तान वार्नरले अविजित ४८ रन बनाए। अन्तिम ओभरमा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्राएका थिए।

वार्नरपछि जोनी बेयरस्टो ३६, केन विलियम्सनले २९ रन बनाए भने अब्दुल समादले २३ रन जोडे। कोलकत्ताका लक्की फर्गुसन ३, पाट कुमिन्स, शिवम माभी र भरुण चक्रवर्तीले एकएक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन, कप्तान इयान मोर्गन ३४, नितिश राना २९, राहुल त्रिपाठीले २३ रन जोडे भने दिनेश कार्तिक २९ रनमा अविजित रहे।

हैदराबादका टी नटराजनले दुई, विजय शंकर, बसिल थाम्पी र राशिद खानले एकएक विकेट लिए। सुपर ओभरको यो जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ। कोलकत्ता लिगको चौंथो स्थानमा रहेको छ।

हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। उसको यो छैटौं हार हो। दिल्ली क्यापिटल लिगको शीर्ष स्थानमा रहेको छ।

त्यसैगरी हिजै किंग्स इलाभेन पन्जाब र मुम्बई इन्डियन्सबीच भएको निकै रोमान्चक दोश्रो खेल दुई पटकसम्म बराबरी भयो । कडा टक्करकाबीच अन्ततः पन्जाबले मुम्बईलाई हराउन सफल भयो । यस जितसँगै पन्जाब अंक तालिकामा छैटौं नम्बरमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । पन्जाबले जितका लागि १ सय ७७ रनको लक्ष्य पायो । पन्जाबले पनि कप्तान केएल राहुलको ७७ रनको मद्दतमा ६ विकेटकै क्षतिमा १७६ रन बनायो । खेल बराबरी भएपछि नतिजाका लागि सुपर ओभरमा गयो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले पाँच रन बनायो र मुम्बईले पनि समान पाँच रन नै बनायो । पहिलो सुपर ओभर पनि टाई भएपछि खेल दोस्रो सुपर ओभरमा धकेलियो ।

दोस्रो सुपर ओभरमा मुम्बईको मोर्चा केरोन पोलार्ड र हार्दिक पाण्ड्याले सम्हाले । मुम्बईले ११ रन बनायो । पाचौं बलमा अम्पायरले पोलार्ड आउट भएको संकेत गरेका थिए तर रिभ्यू गरेर हेर्दा अम्पायरको निर्णय बदल्नुपरेको थियो ।

पन्जाबले जितका लागि एक ओभरमा १२ रन बनाउनु पर्ने भयो । ट्रेन्ट बोल्टको पहिलो बलमा क्रिस गेलले छक्का प्रहार गरे । दोस्रो बलमा गेलले एक रन बटुले । तेस्रो र चौथो बलमा मयंक अग्रवालले चौका प्रहार गरेर पन्जाबलाई जित दिलाए । म्यान अफ द म्याच पन्जाबका केएल राहुल चुनिए ।

पहिलो विकेट गुम्दा पन्जाबको खातामा ३३ रन थियो । त्यसपछि केएल राहुल र क्रिस गेल मिलेर दोस्रो विकेटका लागि ५.४ ओभरमा ४२ रनको साझेदारी गरे । गेललाई दशौं ओभरमा दीपक चहारले आउट गरे । गेलले २४ रन बनाए ।

गेल आउट भएपछि क्रिजमा आएका निकोलस पुरनले १२ बलमा २४ रन बनाए । उनलाई १३ औं ओभरमा जसप्रित बुमराहले आउट गरे । ग्लेन म्याक्सवेल खाता खोल्न नपाइ आउट भए ।

जिततर्फ अघि बढेको पन्जाबको टिमलाई अन्तिम तीन ओभरमा २७ रन चाहिएको थियो । मुम्बईका कप्तान रोहित शर्माले १८ औं ओभरमा जसप्रित बुमराहलाई बलिङ गर्न दिए । उनले ओभरको तेस्रो बलमा केएल राहुललाई बोल्ड गरे । राहुल ७७ रनमा आउट भए । उनले ५१ बलमा सात चौका र तीन छक्का प्रहार गरेका थिए । किफायती बलिङ गरेका बुमराहले १८ औं ओभरमा जम्मा पाँच रन दिए ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ९ रन आवश्यक थियो । बलिङमा ट्रेन्ट बोल्ट थिए । अन्तिम बलमा २ रन चाहिएको बेला क्रिस जोर्डन रन आउट भए । र, पन्जाबको स्कोर मुम्बइसँग बराबर १७६ नै रहेपछि म्याच टाई भयो । मुम्बईका लागि जसप्रित बुमराहले २४ रन खर्चिएर तीन विकेट लिए ।

पन्जाबका लागि मोहम्मद शामी र अर्शदीप सिंहले दुई–दुई विकेट लिए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome