बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

कार्यकर्ता हत्याको जाहेरी नबुझ्ने सरकारबाट कानुनी राज्यको अपेक्षा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

८ कार्तिक, २०७७ २०:४८ मा प्रकाशित

604 पटक पढिएको

bishwa prakash sharma

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सा घटनाको विषयमा यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। शनिबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीलाई घटनाबारे ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन्।

प्रवक्ता शर्माले विज्ञप्तिको सुरुमै कार्यकर्ता हत्याको जाहेरी नबुझ्ने सरकारबाट कानुनी राज्यको अपेक्षा गर्न नसकिने भन्दै प्रश्न गरेका छन्।

‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ?’, शर्माले प्रश्न गर्दै भनेका छन्, ‘पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं।’

सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच झडप भएको, उपचारक्रममा एक घाइतेको निधन भएको, दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेको घटनाप्रति कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

घटना दुःखद् भएको भन्दै प्रवक्ता शर्माले यसको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरेका छन्। उनले दोषीलाई कानुनी कारवाही गर्नसमेत माग गरेका छन्।

‘घटना विवरण अत्यन्तै दुःखद छ। विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरेर कानुनी कारवाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ’, प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो। तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ।’

जुनसुकै घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारवाही गर्नुपर्ने माग शर्माले गरेका छन्। पर्सा घटना भएको तीन दिनसम्म जाहेरीसमेत नलिएको भन्दै उनले आपत्ति जनाएका छन्। उनले घटनाको छानबिनका लागि केन्द्र र संघीय सरकार दुवैसँग माग गरेका छन्।

घटनाका दोषीलाई कारवाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस निष्पक्ष अनुसन्धान र कानुनी कारवाहीको प्रक्रिया अविलम्ब थालनी गर्न संघीय र प्रदेश दुबै सरकारको गम्भीर ध्यानाकर्षण र माग गर्दछ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome