मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

चेन्नईको रोमाञ्चक जितसँगै कोलकातालाई प्ले अफमा धक्का

१४ कार्तिक, २०७७ ०८:०५ मा प्रकाशित

303 पटक पढिएको

kkr in ipl 2020

काठमाडौं – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) २०२० क्रीकेट अन्तर्गत हिजो राती भएको खेलमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंससँग ६ विकेटले पराजित भएको छ। हारसँगै कोलकातालाई प्ले अफमा पुग्न कठिन भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चेन्नईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा नितिश रानाको अर्धशतकको मद्दतमा ५ विकेट गुमाएर १७२ रन बनायो। जवाफमा चेन्नईले १७३ रनको लक्ष्य अन्तिम बलमा भेट्टाउँदै रोमाञ्चक जित निकाल्यो।

अन्तिम बलमा जीतका लागी १ रन चाहिएको अवस्थामा रविन्द्र जडेजाले छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाए ।

जडेजाले चेन्नईका लागि ११ बलमा ३१ रन जोडे। त्यस्तै रुतुराज गैकवाडले ७२ तथा अम्बाती रयडुले ३८ रनको योगदान दिए। कप्तान महेन्द्रसिंह धोनी भने १ रनमै पेभिलियन फर्किए।

कोलकाताका लागी प्याट क्युमिन्स र वरुण चक्रवर्तीले २-२ विकेट हात पारे।

पहिले ब्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन जोडेका थिए। त्यस्तै शुबमान गिलले २६ तथा दिनेश कार्तिकले २१ रन जोडेका थिए।

चेन्नईका लागी लुङ्गी नगिडीले २ विकेट लिए भने कर्ण शर्मा, रविन्द्र जडेजा र मिचेल स्यान्टनरले १-१ विकेट झारे।

१२ अंक बटुल्दै पाँचौँ स्थान ओगटेको कोलकाताले अब एक खेल खेल्न बाँकी छ।

चौँथो स्थानमा रहेको किंस ११ पञ्जाबको पनि १२ खेलबाट १२ अंक नै रहेको छ। त्यस्तै छैठौँ र सातौँ स्थानमा रहेका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको १२ खेलबाट १० अंक रहेको छ।

हैदराबाद र राजस्थानले बाँकी दुई खेलमध्ये एक खेलमा हार व्यहोर्दा पञ्जाब आफ्नो बाँकी दुबै खेलमा पराजीत भएको स्थितिमा कोलकाताले आफ्नो अन्तिम खेलमा राजस्थान विरुद्ध राम्रो रनरेटसहितको जित निकाल्न सके मात्र प्ले अफमा पुग्न सक्नेछ।

चेन्नईको भने प्ले अफमा पुग्ने सम्भावना लगभग समाप्त भइसकेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome