बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

खुलामञ्चमा नि:शुल्क खाना खुवाउने अभियानमा महानगरले लगायो रोक

१७ कार्तिक, २०७७ १७:०३ मा प्रकाशित

640 पटक पढिएको

free food distribution kathmandu

काठमाडौं – काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण गर्न रोक लगाएको हो ।

केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै आएका थिए ।

तर, तीनदिन यता महानगरले नगर प्रहरी पठाएर खाना वितरण गर्न रोक लगाएको हो । पहिलो पल्ट ३ दिनअघि नगर प्रहरीले खाना खुवाउने अभियान रोक्न आग्रह गरेको थियो ।

महानगरपालिकाले पुनः सोमबार नगर प्रहरी पठाएर खाना खुवाउने अभियानमा रोक लगाएको एकजना अभियन्ता बद्रीप्रसाद ढुंगानाले बताए । सईको नेतृत्वमा पुगेको नगर प्रहरीको टोलीले ‘मेयरसापको आदेश’ भन्दै खाना वितरणमा रोक लगाएको उनको भनाइ छ ।

महानगरपालिकाले पनि सार्वजनिक स्थलमा खाना वितरण गर्न रोक लगाएको बताएको छ । हाल सडकमा खाना वितरण गर्नु पर्ने कोही पनि नभएको निर्क्यौलका साथ खाना वितरण बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाको तर्क छ ।

सार्वजनिकस्थलमा फोहोरसमेत भएको र सडकमै खाना खुवाउँदा सरकारको बेइज्जत भएकोले खाना खुवाउन नदिने निर्णय भएको महानगर स्रोतको भनाइ छ ।

‘हामीले मानव सेवा आश्रममार्फत सडकमा बस्नुपर्ने अवस्थाकालाई उद्धार गरिरहेका छौं, अहिले सडकमा खाना खानुपर्ने अवस्थाका सबैले आश्रममा सेवा पाइरहेका छन्,’ महानगरपालिका स्रोतले भन्यो,’ सडकमा खाना बाँड्दा आफैं खानसक्ने अवस्थाका मान्छे पनि त्यहाँ आएका छन् ।’

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ अभियानअन्तरगत सडकमा सहयोगको अपेक्षा राख्नेमाथि आश्रममार्फत सेवा दिने काम भइरहेको महानगरपालिकाले जनाएको छ ।

महानगरका एक अधिकारीका अनुसार खाना खुवाउने भए आफैंले पार्टी प्यालेस भाडामा लिन अभियान्ताहरुलाई भनिएको छ । ‘सरकारको बेइज्जत हुने गरी सार्वजनिक स्थलमा किन खाना खुवाउनुपर्‍यो ?,’ती अधिकारीले भने,’कसैले खान पाएका छैनन् भने हामी मानव सेवा आश्रममा लगेर खुवाउँछौं, त्यहाँ हामीले करोडौं लगानी गरेका छौं ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome