शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

बैतडीमा एक प्रधानाध्यापक मृत फेला : छानबीनको माग गर्दै आफन्तले गरे राजमार्ग अवरुद्ध

१९ कार्तिक, २०७७ ०८:४० मा प्रकाशित

578 पटक पढिएको

protest in highway

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित डाँडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडीको शव दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक फेला परेका हुन् ।

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए । यसका साथै उनको साथमा नगद ८५ हजार समेत भेटिएको छ । उनले भने,’ प्रधानाध्यापक घरडी सोमबार तलब बुझ्न भनि गोकुलेश्वर आएका बुझिएको छ । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घरडीसंगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन् ।

मृतकको शरीरमा निलडाम र घाउ देखिएकाले हत्या गरेर फालेको आफन्तको आशंका छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच मृतकको आफन्तले महाकाली राजमार्ग अवरुद्ध पारेका छन् ।

घटनाको सत्यतथ्य छानबिनको माग गर्दै उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका हुन् । साथै उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दासम्म शव नबुझ्ने अडान लिएका छन्।

‘प्रधानाध्यापक घरडीको हत्या भएको आशंका छ । हामीले उहाँ बसेको होटेलसहितको ठाउँमा अनुसन्धान गर्न माग गरेका छौं, ‘डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल रानाले भने, ‘प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान गर्नुपर्छ । उहाँको हत्यामा संलग्नको खोजी गरी कारवाही हुनुपर्दछ भन्ने हाम्रो माग छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome