बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

खुलामञ्चमा खाना खुवाउने कामलाई निरन्तरता दिन गगन थापाको आग्रह

१९ कार्तिक, २०७७ ०८:५१ मा प्रकाशित

345 पटक पढिएको

nepali congress leader gagan thapa

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चमा खाना खुवाउने क्रमलाई निरन्तता दिन सबैलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले मंगलबार सामाजिक सञ्जालमार्फत खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका हुन् ।

जीवन निर्वाह गर्न कठिन भएकालाई विभिन्न स्थानमा परोपकारी मन भएकाले खाना खुवाइरहेको र यस्तो अवस्थामा परोपकारी काम गरेर सहरको इज्जत राखेको भन्दै थापाले यस्तो बताएका हुन् ।

कोरोना महामारी सुरु भएपछि जोगारी गुमाएका र सडकमा भोकभोकै भौतारिरहेकालाई अहिले बसपार्क र खुलामञ्चमा विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन्।

काठमाडौं महानगरपालिकाले सोमबार दैनिक खाना खुवाउने कार्यक्रम गर्दा खुलामञ्च फोहोर भएको भन्दै सम्बन्धित पक्षलाई त्यसो नगर्न निर्देशन दिएको थियो । यही निर्देशनपछि थापाले यस्तो आग्रह गरेका हुन्।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, थापाले ट्वीटरमा लेखेका छन्, ‘म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’

कसले रोक्छ हेरौँ : साझा पार्टी

त्यसैगरी साझा पार्टीले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महानगरको यो कदमको भत्र्सना गरेको छ । ‘केही परोपकारी समूहले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा यो संकटको घडीमा रोजगारविहीन असहायलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टी घोर भर्त्सना गर्दछ’, साझाको विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले सरकारले गर्नुपर्ने तर नागरिक स्तरबाट भइरहेको कामलाई रोक्न निर्देशन दिएको भन्दै आपत्ति जनाएको हो । यसलाई उसले अमानवीयताको पराकाष्ठाको संज्ञासमेत दिएको छ ।

‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्था सिर्जना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो’, साझाको विज्ञप्तिमा भनिएको छ, ‘तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो।’

महानगरको यो निर्देशनको विरोधमा साझा पार्टीले बुधबार बिहान र बेलुका खुला मञ्चमा खुवाइने खानाको खर्च बेर्होने समेत भएको छ । शान्तिपूर्ण र मानवीय कार्यलाई कसले रोक्छ भन्दै उसले महानगरप्रति आक्रोससमेत व्यक्त गरेको छ ।

‘सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुला मञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने छन् र साझा पार्टीका स्वयंसेवी पनि खाना खुवाउने कार्यमा सरिक हुनेछन्’, साझा पार्टीका प्रवक्ता शरदराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

साझा पार्टीले महानगरलाई यो निर्णय फिर्ता गर्न र कोरोना कहर रहँदासम्म श्रमिक तथा असहायका लागि काम अथवा मामको व्यवस्था गर्न मागसमेत गरेको छ ।

‘सरकारले तुरुन्त आफ्नो निर्णय फिर्ता गरोस् र कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायलाई कि ‘काम’को व्यवस्था गरोस् कि ‘माम’को व्यवस्था गरोस्’, विज्ञप्तिमा थप भनिएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome