बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

जामुनेश्वर सहकारीका वचतकर्ताको डेढ करोड जोखिममा

१९ कार्तिक, २०७७ ०९:०९ मा प्रकाशित

914 पटक पढिएको

jamuneshwor cooperative biratnagar in mess

विराटनगर – विराटनगर महानगरपालिका-५ जामुनगाछीमा रहेको जामुनेश्वर बचत तथा ऋण सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ताको डेढ करोड रुपैयाँ जोखिममा परेको छ।

अध्यक्ष शिव थापा र व्यवस्थापक बाबुराम पोखरेलको मिलेमतोमा रकम हिनामिना भएकोभन्दै सहकारी सञ्चालक समितिमा रहेकाले हिसाब खोजी गर्न थालेका छन्। समितिनै आन्तरिक किचलोमा फसेको छ। जसका कारण पछिल्लो दुईवटा साधारणसभा हुन सकेको छैन। लेखा परीक्षण पनि रोकिएको छ।

त्यसअघि भएका लेखा परीक्षण प्रतिवेदनको हिसाब पनि फरकफरक देखाइएको समितिका पदाधिकारी बताउँछन्। सहकारी सञ्चालक समितिका सचिव राजेन्द्र सापकोटाले कार्य समितिलाई र विराटनगर महानगरपालिकाको सहकारी शाखालाई अध्यक्ष र व्यवस्थापकले फरकफरक प्रतिवेदन बुझाएको पाइएको बताए।

‘सहकारीमा नाफा भएको देखाएर अडिटको प्रतिवेदन कार्य समितिलाई दिइएको छ। महानगरको सहकारी शाखालाई भने वार्षिक घाटा देखाएर बुझाएको पाइयो,’ उनले भने, ‘पछिल्लो दुईवटा साधारणसभा नै हुन सकेको छैन। न त अडिटनै भएको छ।’

कार्यसमितिलाई छल्दै जालसाँजी गरेर नक्कली लेखा परीक्षण प्रतिवेदन तयार गरेको पाइएको उनको भनाइ छ। सापकोटाका अनुसार महानगरको सहकारी शाखामा बुझाइएको विभिन्न प्रतिवेदनमा अहिलेसम्म १६ लाख रुपैयाँ घाटा देखाइएको छ। तर कार्य समितिलाई भने नाफा देखाएर प्रतिवेदन दिइएको छ।

२०६७ सालबाट सञ्चालनमा आएको सहकारी सुरुका केही वर्ष राम्ररी जमेको थियो। तीन सय ५० जना यसका सेयर सदस्य छन्। सापकोटाका अनुसार यति धेरै वचतकर्ता रहेको सहकारीमा एक जनाले १० हजारदेखि २४ लाख रुपैयाँसम्म जम्मा गरेका छन्।

‘एक वर्षदेखि वचतकर्ताले पैसा फिर्ता मागिरहेका छन्,’ उनले भने, ‘समितिमा रहेका हामीलाई कुनै हिसाबकिताब नै थाहा छैन।’ सापकोटाले वचकर्ताको एक करोड ५० लाख रुपैयाँ बढी रकम जोखिममा परेको सुनाए।

सहकारीका उपाध्यक्ष विमल खरेलले पनि अध्यक्ष र व्यवस्थापकले नै हिनामिना गरेर रकम जम्मा गर्दै आएका सर्वसाधारणलाई अप्ठेरोमा पारेको सुनाए। सहकारीमा अध्यक्ष र कार्य समितिबीच नै विवाद छ।

अध्यक्षबाहेक अरु बचत फिर्ता गर्नुपर्ने पक्षमा रहेको खरेलले सुनाए। सहकारीका अध्यक्ष थापा भने आफूले नभई व्यवस्थापक पोखरेलले बद्मासी गरेको बताउँछन्।

उपाध्यक्ष खरेलका अनुसार अध्यक्ष, व्यवस्थापक र सह–व्यवस्थापक निशा गौतमले सहकारीमा जम्मा भएको रकम आफूखुसी खर्च गरेका कारण हिसाब देखाउन नसकेका हुन्। ‘वचतकर्ताको रकम लगेर अन्यत्रै लगानी गरिएको हुनसक्छ,’ उनले भने, ‘त्यही भएकाले उनीहरु रकम फिर्ता दिन र हिसाब देखाउन हिचकिचाइरहेका छन्।’

सचिव सापकोटाले सहकारीको समस्या समाधानका लागि डेढ वर्षदेखि पहल भइरहे पनि कुनै निस्कर्ष निस्कन नसकेको जानकारी दिए। ‘समस्या सुल्झाउनु पर्छभन्दा अध्यक्ष र व्यवस्थापक परपर हुन्छन्,’ उनले भने, ‘जसका कारण सर्वसाधारणको बचत जोखिममा पर्नुका साथै सहकारीकै बद्नाम भएको छ।’

सटर भाडामा लिएर सञ्चालन हुँदै आएको सहकारीमा चार महिनायता ताला लागेको थियो। अध्यक्ष थापाले सोमबार बिहान विराटनगर महानगरपालिका–५ का अध्यक्ष मीनकुमार आचार्यलाई उपस्थित गराएर ताला खोलेपछि झन् विवाद चुलिएको छ। समितिका अरुसँग कुनै राय नलिइकन बन्द रहेको सहकारीको ताला खोल्न अग्रसर भएर गएपछि वडा अध्यक्ष आचार्यसमेत विवादमा तानिएका छन्।

लामो समयदेखि बन्द रहेको सहकारीको ताला खुलेको थाहा पाएपछि भेला भएका बचकर्ताले आफूहरुको रकम फिर्ता गर्नुपर्ने र सहकारीको हिसाब देखाउनुपर्ने माग राखेर थापालाई घेराउ गरे। तर सबै कुरा व्यवस्थापकको टाउकोमा हाल्दै उनी त्यहाँबाट फुत्किए।

सहकारी बन्द भएकाले कुनै हिसाब गर्न नपाएको गुनासो अध्यक्षले गरेका कारण आफ्नो रहोबरमा ताला खोलिएको जिकिर वडा अध्यक्ष आचार्यले गरेका छन्। ‘मेरो रहोबरमा ताला खोलिएको हो,’ उनले भने, ‘खोलेर सहकारी सञ्चालक समितिलाई ताला जिम्मा लगाइएको छ।’

वचतकर्ता सुमन खरेलले आफ्नो परिवारले २४ लाख रुपैयाँ सहकारीमा जम्मा गरेको बताए। सरकारीमा बद्मासी हुँदैछ भन्ने थाहा पाएर उनले एक वर्षदेखि रकम फिर्ता माग्दै आए पनि पाउन नसकेको सुनाए। पछिल्लो समय सहकारी बन्द गरेर अध्यक्ष र व्यवस्थापक सम्पर्कविहीन बनेपछि झन् तनाव थपिएको खरेलको भनाइ छ। उनले रकम फिर्ता माग्दै विभिन्न निकायसम्म पुगिसक्दा पनि समस्याको सुनुवाइ नभएको बताए।

वचतकर्ता आरती गेलाल फुयाँलले जम्मा गरेको रकम फिर्ता मागेको लामो समय भइसक्दा पनि पाउन नसकेको सुनाइन्। ‘दसैंमा सहकारीबाट पैसा पाइन्छ होला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘तर लामो समयदेखि सहकारी बन्द गरेर अध्यक्ष र व्यवस्थापक सम्पर्कविहीन बनिदिए।’ आरतीका अनुसार बिहानबेलुका तरकारी बेच्ने, ज्यालामजदुरी गर्नेले पनि सहकारीमा बचत गरेका छन्। पटकपटक आफ्नो वचत फिर्ता माग्दा नदिएको बताउँदै उनले डेढ वर्षदेखि सहकारीमा विवाद रहेको बताइन्।

सहरकारीका अध्यक्ष थापा व्यवस्थापक सम्पर्कविहीन भएका कारण बचतकर्ताको रकम फिर्ता दिन नसकिएको बताउँछन्। ताला लगाएर व्यवस्थापक सम्पर्कमा नभएका कारण हिसाब मिलान गर्न वडा अध्यक्षको रहोबरमा ताला खोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ। व्यवस्थापकलाई पर्खदा सहकारीको अडिट पनि रोकिएको उनको दाबी छ।

विराटनगर महानगरपालिका सहकारी शाखाका नायब सुब्बा श्रवण दाहालले सेयर सदस्य एवं बचतकर्ताको रकम अपचलन गरेकोभन्दै उक्त सहकारीविरुद्ध ४० वटाजति उजुरी परेको बताए। ‘धेरै उजुरी परेपछि समस्या सुल्झाउन धेरै प्रयास गरिए पनि सकिएन,’ उनले भने, ‘अब कानुन अनुसार अघि बढाउने तयारी भइरहेको छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome