शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

प्रचण्डसहित नेकपाका शीर्ष पाँच नेताको प्रधानमन्त्री ओलीसँग भेटवार्ता, सचिवालय बैठक बोलाउन लिखित पत्र

२२ कार्तिक, २०७७ १६:४८ मा प्रकाशित

569 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष पाँच नेताले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका पाँच नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

भेटमा नेताहरुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन लिखित पत्र बुझाएका छन् । सचिवालय बैठक बोलाउनुपर्नेसँगै पत्रमा पछिल्ला दिनमा पार्टीभित्र देखिएका विवाद र सरकारले गरेका कामको समीक्षा हुनुपर्ने माग गरिएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डसहित ओलीलाई पत्र बुझाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालसँगै उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए ।

नेताहरुसँगको भेटमा ओलीले बैठक बोलाउने आश्वासन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

शुक्रबार नेकपा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा बसेको थियो । सचिवालय बैठक बोलाउन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पटकपटक आग्रह गरे पनि सहमति नभएपछि प्रचण्डले हिजो सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।

धुम्बाराही बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष पाँच नेता सहभागी थिए । अध्यक्ष ओलीले बैठक उपस्थित नहुने जानकारी गराएका थिए भने अन्य तीन सचिवालय सदस्य बैठकमा सहभागी थिएनन् ।

धुम्बाराही छलफलमा सहभागी नभएका महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सिंहदरबारको छुट्टै छलफलमा सहभागी थिए ।

धुम्बाराहीमा भएको बैठकमा प्रचण्डले अध्यक्ष ओलीले बिना सहमति औपचारिक बैठक बोलाए पार्टी फुटको बिन्दु त्यही हुने भन्दै चेतावनी दिएको ‘ब्रिफिङ’ गरेका थिए ।

सचिवालय सदस्यको अनौपचारिक बैठकले पार्टीभित्र पछिल्ला दिनमा देखिएका समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीलाई सामूहिक रुपमा आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार पाँच नेता शनिबार बालुवाटार पुगेका हुन् ।

कार्यकारी अध्यक्षले नै औपचारिक बैठक बोलाउन सक्ने भए पनि सहमतिका आधारमा अगाडि बढ्न अध्यक्ष ओलीलाई सामूहिक आग्रह गर्न नेता बालुवाटार पुगेका हुन् । पार्टीभित्र देखिएको संकट समाधान गर्ने, सकारात्मक ढंगले पार्टीलाई अगाडि बढाउने, अहिलेसम्मको कामको समीक्षा गर्ने, पार्टी निर्णयको कार्यान्वयन गर्ने र पार्टीलाई एकताबद्ध गरेर अगाडि बढाउन आवश्यक कदम चाल्नका लागि छिटो बैठक बोलाउन पत्रमा अनुरोध गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बिहीबार बालुवाटारमा प्रधानमन्‍त्रीसँगको भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने बताउँदा प्रधानमन्त्री ओलीले भने बैठक जरूरी नभएको बताएका थिए।

अहिले पार्टी बैठक बोलाउने र भदौ २६ मा स्थायी समितिले गरेको निर्णय कार्यान्वयन गर्ने विषय मात्रै आफूहरूले उठाए पनि राजीनामाको उठ्दै नउठेको विषय किन उठाएको भन्दै दाहालले ओलीसँग आपत्ति जनाएका थिए।

पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्‍त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome