बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई बन्यो च्याम्पियन

२६ कार्तिक, २०७७ ०६:४१ मा प्रकाशित

412 पटक पढिएको

mumbai indians wins ipl 2020

काठमाडौं – साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता हरेक फाइनलमा जित हात पार्दै उपाधि जितेको छ । मुम्बईले यसअघि २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । पहिलो पटक फाइनल पुगेको दिल्ली भने उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

मुम्बईका कप्तान रोहित शर्माले समग्रमा छैटौं पटक उपाधि जिते । उनले सन् २००९ मा डेक्कन चार्जर्सबाट खेल्दै उपाधि जितेका थिए ।

उनै कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेलेपछि मुम्बईले दिल्लीले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर रोहितले ६८ रन बनाए । उनले ५१ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । इशान कसनले अविजित ३३ रन योगदान गरे ।

रोहितले पहिलो विकेटका लागि क्वीन्टन डि कक र दोस्रो विकेटका लागि सूर्य कुमार यादवसँग समान ४५ रनको साझेदारी गरे । रोहितले तेस्रो विकेटका लागि इशान किसनसंग ४७ रनको साझेदारी गरे । इशन किसनले १९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।

दिल्लीका लागि एनरीच नोर्टेले २ तथा कागिसो रबाडा र मार्कस स्टोइनिसले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास ऐर र विकेटकिपर ऋषभ पन्तले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान श्रेयासले अविजित ६५ रन बनाए । उनले ५० बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे । यस्तै ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५६ रन जोडे ।

दिल्लीको सुरुवात गतिलो हुन सकेन । अघिल्लो खेलबाट ओपनिङ थालेका अलराउण्डर मार्कस स्टोइनिङ पहिलो बलमै ट्रेन्ट बोल्टको बलमा विकेटकिपर क्विन्टन डि ककबाट क्याचआउट भए ।

तेस्रो ओभरको चौथो बलमा बोल्टले अजिन्का रहानेलाई पनि डि ककबाटै क्याच आउट गराए । राहुल चाहरको स्थानमा फाइनलमा मौका पाएका जयन्त यादवले आफ्नो पहिलो ओभरमै दिल्लीका मुख्य ब्याट्मसयान शिखर धवनलाई बोल्ड गरे । १५ रन बनाएर धवन आउट हुँदा दिल्ली ३.३ ओभरमा २२–३ को अवस्थामा पुगेको थियो । दिल्लीको इनिङ्स उकास्न कप्तान श्रेयास र ऋषभले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

मुम्बईका लागि ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ४ ओभरमा २८ रन खर्चेका जसप्रित बुमराह विकेटविहिन बने ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome