सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

नेकपा उपाध्यक्ष वामदेवको मन्‍त्री बन्‍ने बाटो खुल्‍यो

२७ कार्तिक, २०७७ ०७:२५ मा प्रकाशित

723 पटक पढिएको

politician bamdev gautam

काठमाडौं – सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्ने बाटो खुला गरिदिएको छ । नेकपाका नेता वामदेव गौतमको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने बताएपछि उनको यो बाटाे खुलेको हाे ।

राष्ट्रियसभामा गरिएको मनोनयन र मन्त्री बन्ने तयारीविरुद्ध परेका रिटको सुनुवाइ गर्दैै सर्वोच्चको संवैधानिक इजलासले बुधबार उनको मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने बताएको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी नहुने बताएपछि अब उनी राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न वा मन्त्री बन्न सक्ने छन्।

अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो।

सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको थियो। अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म वामदेवले कुनै जिम्मेवारी पाएका थिएनन् । अब भने उनलाई जिम्मेवारी दिने बाटो खुलेकाे छ ।

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश जारी दिनु नपर्ने बताएको हो ।

वामदेव मुद्दाको प्रारम्भिक सुनुवाइपछि यो मुद्दा हेर्दाहेर्दैमा सर्दै आएको थियो । असोज १४ गते र १६ गते सुनुवाइ भए पनि त्यसपछि सर्वोच्चका न्यायाधीश र कर्मचारीमा संक्रमण देखिएपछि सुनुवाइ रोकिएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए। संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome