बुधबार, १० मंसिर २०७७
बुधबार, १० मंसिर २०७७

IT Training Nepal

पुराना विवाद टुङ्ग्याउन ११ करोड डलर तिर्दै एप्पल

५ मंसिर, २०७७ ०७:५७ मा प्रकाशित

541 पटक पढिएको

apple inc headquarter california

काठमाडौं – पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एप्पल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एप्पल कम्पनीले पुराना आईफोन सुस्त बनाइदिएको दाबी गरेका थिए।

सन् २०१६ मा लाखौँ प्रयोगकर्ताहरूले आईफोन सिक्स, सेभन र एसईमा समस्या खेपेका थिए। त्यसलाई ‘ब्याटरीगेट’ को सङ्ज्ञा दिइएको थियो । एप्पलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यसअघि उसले पुरानो ब्याटरीको आयु बढाउन फोन ढिलो पारिएको तर्क गरेको थियो । यसअघि गत मार्च महिनामा उसले एउटा छुट्टै मुद्दामा प्रभावित प्रयोगकर्ताहरूलाई ५० करोड डलरसम्म तिर्न सहमति गरेको थियो ।

सन् २०१६ मा एप्पलले आईफोन सिक्स, सेभन र एसई मोडलका सफ्टवेर अद्यावधिक गरेको थियो। त्यसो गर्दा पुराना फोनहरूमा चिपको गति सुस्त भएको थियो। अनुसन्धानकर्ताहरूले सन् २०१७ मा अस्वाभाविक रूपमा आईफोनको गति घटेको पत्ता लगाएपछि एप्पलले सफ्टवेर अद्यावधिक गर्दा त्यसो भएको स्वीकार गरेको थियो।

विभिन्न अमेरिकी राज्यहरूले एप्पल कम्पनीले छलपूर्वक व्यवहार गरेको दाबी गर्दै उसले बरु ब्याट्री फेर्नुपर्थ्यो वा समस्याबारे स्पष्ट रूपमा जानकारी दिनुपर्थ्यो भन्ने तर्क गरेका थिए।

एरिजोना राज्यमा सङ्कलित विवरणअनुसार दशौँ लाख आईफोन प्रयोगकर्ताहरू उक्त समस्याबाट प्रभावित भएका थिए। एप्पलले आर्थिक लाभका लागि फोन ढिलो पारिएको भन्ने आरोप खण्डन गर्ने गरेको छ। एरिजोनाको अदालतमा पेस गरिएको एउटा दस्तावेज बुधवार सार्वजनिक गरिएको छ । त्यसमा उक्त राज्यका महाधिवक्ताले लेखेका छन्, ‘धेरै उपभोक्ताले उपयोगी केवल एउटा उपाय एप्पलबाट नयाँ मोडलको आईफोन किन्नु हो भन्ने निधो गरे।” एप्पललाई अवश्य पनि विक्री-वितरणमा त्यसको प्रभाव पर्छ भन्ने थाहा थियो।’

सम्झौतामा एप्पलले आफूले कुनै अनुचित काम गरेको वा कानुन उल्लङ्घन गरेको स्वीकार गरेको छैन। उक्त विशाल प्रविधि कम्पनीले आईफोन पावर व्यवस्थापनबारे आगामी तीन वर्ष आफ्नो वेबसाइट, सफ्टवेर अप्डेट टिपोट र आईफोन सेटिङ्समा सत्य सूचना दिने सहमति गरेको छ ।

विभिन्न आरोपहरूको शृङ्खलापछि एप्पलले अहिले यस्तो सम्झौता गरेको हो । एप स्टोरमा आफ्नो प्रभुत्व भएकाले आईफोन निर्माता उक्त कम्पनीले विकासकर्ताहरूबाट अनुचित रूपमा पैसा लिने गरेको आरोपका पनि लागेको छ । यसै विषयमा एपिक गेम्सले एप्पलविरुद्ध एउटा मुद्दा हालेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome