८ मंसिर, २०७७ ०८:१५ मा प्रकाशित
543 पटक पढिएको
काठमाडौं – पछिल्ला दिन निरन्तर उकालो लागिरहेको सेयर बजाले दिनदिनै नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सेयर बजारमा अहिलेसम्मकै सर्वाधिक झन्डै सात अर्बको कारोबार भएको छ।
नेप्से परिसूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा पुगेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।
सेयर बजारमा आइतबार देखिएको अर्को उत्साहजनक संकेत भनेको नेप्से सूचकले १८ सय विन्दु छोएको छ। आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएकोले बजार परिपक्क रुपमा अघि बढेको विश्वास लगानीकर्ताले गरेका छन्। नेप्सेको यसअघिको अधिकतम विन्दु १८८१ हो।
गत बिहीबार नेप्से परिसूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको थियो।कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर छ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ मूल्यमा खरिद बिक्री भएका थिए। त्यो कारोबार रकमले आइतबार थप उचाइ लिएको छ।
नेप्से सूचकमा निरन्तर वृद्धिसँगै कारोबार रकमले समेत नयाँ उचाइ हासिल गर्दै गएकोले लगानीकर्ताले सेयर बजार अब बुलिस बाटोतिर उन्मुख भएको विश्वास गर्न थालेका छन्।
गत साउनको पहिलो हप्ता नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले प्रदान गरेको सहुलियत र राहतले लगानीकर्ता उत्साहित भएका छन्। त्यसपछि नै सेयर बजारमा सुधारको क्रम सुरु भएको थियो। पुँजी बजारप्रति अनुदार देखिएको तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको बहिर्गमन र नयाँ अर्थमन्त्री विष्णु पौडेलको नियुक्तिपछि सेयर बजारमा बेग्लै माहोल सुरु भएको हो।