बुधबार, ३ कार्तिक २०७८
बुधबार, ३ कार्तिक २०७८

IT Training Nepal

वर्तमान सरकारले नै ५ वर्ष काम गर्नेछ : अर्थमन्त्री पौडेल

१० मंसिर, २०७७ १६:५६ मा प्रकाशित

586 पटक पढिएको

politician bishnu poudel ncp-uml

बुटवल – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले नै ५ वर्ष काम गर्ने बताएका छन्। सत्तारुढ दलभित्र भइरहेको आन्तरिक खटपटले अस्थिरता आउँछ कि भन्ने आशंका भइरहेको बेलामा अर्थमन्त्री पौडेलले वर्तमान सरकार स्थिर रहने कुरामा विश्वस्त हुन आग्रह गरे।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारले पाँच वर्ष सरकार सञ्चालन गर्छ’, अर्थमन्त्री पौडेलले भने,‘अस्थिरता हुन्छ कि भन्ने आशंका गर्न जरुरी छैन। विश्वस्त रहनुस ५ वर्ष सरकारले काम गर्छ।’ रुपन्देहीको सैनामैनास्थित पर्रोहा माध्यमिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै बुधबार पौडेलले जनताको जनादेश अनुसार नै सरकारले काम गर्ने बताए।

सरकारले गत निर्वाचनमा गरेका प्रतिवद्धता पूरा गर्दै लगेको भन्दै बाँकी कार्यभार पनि यही सरकारले पूरा गर्ने जिकिर गरे। राजनीतिमा उतारचढाव हुँदा अस्थिरता उत्पन्न हुने चिन्ता नागरिकमा हुनु स्वभाविक रहेको भन्दै उनले संघर्षबाट प्राप्त उपलब्धी गुम्न नदिने विश्वास दिलाए।

अर्थमन्त्रीलाई कालो झण्डा

निर्वाचन क्षेत्रमा तीन दिने कार्यक्रमका लागि आएका पौडेललाई नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र नेविसंघले कालो झण्डा देखाएका छन्। सैनामैनाको कार्यक्रममा बुटवलबाट जाँदै गर्दा नेपालगञ्ज रोडमा कालो झण्डा देखाइएको हो। प्रदेशको राजधानीसँग अर्थमन्त्री पद साटेको अरोप कांग्रेसले लगाएको छ। कालो झण्डा देखाइरहँदा पौडेलले हात हल्लाएर स्वागत गरे।

पौडेलले प्रदेश सभाको अधिकार क्षेत्रको विषयमा पद साट्ने भन्ने कुरै नहुने बताएका छन्। राजधानी नहुँदैमा बुटवल पछि नपर्ने जिकिर उनको छ। ‘विकासमा यो या त्यो राजनीतिक दल भन्ने हुँदैन सबै एकैसाथ मिलेर काम गर्नुपर्छ’, उनले भने।

पौडेललाई कालो झण्डा देखाएकाप्रति नेकपा रुपन्देहीले आपत्ती जनाएको छ। विकास योजनाको अनुगमन, उद्घाटन गर्न हिंडेका जनप्रतिनिधिमाथि कालो झण्डा देखाएर कांग्रेसले आफूलाई विकास विरोधीका रुपमा उभ्याएको नेकपाले जनाएको छ। रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईंले यो विषयलाई पार्टीले गम्भीर रुपमा लिएको बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome