शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

हत्या आरोपीत वडा अध्यक्षलाई धरौटीमा छाड्न अदालतको आदेश

१२ मंसिर, २०७७ १६:३५ मा प्रकाशित

477 पटक पढिएको

ward chief released

विराटनगर – छिमेकी हत्याको आरोप लागेपछि डेढ वर्षदेखि फरार रहेका विराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष वलदेव यादवलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ। कर्तव्य ज्यान मुद्दामा न्यायाधीश तेजबहादुर खड्काको इजलासले बिहीबार उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतका स्रेस्तेदार राजकुमार दाहालका अनुसार आदेशपछि साँझ धरौटी रकम बुझाएर वडा अध्यक्ष यादव छुटेका छन्। ‘पछि ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई हाल तीन लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाडिदिनू,’ अदालतको आदेशमा भनिएको छ।

हत्या आरोप लागेपछि फरार रहेका उनी ‘सुटुक्क’अदालत हाजिर भएकै दिन धरौटीमा छुटेका हुन्। विराटनगर–१४ कै ५५ वर्षीय समानन्द यादवको हत्या गरेको आरोप उनीमाथि थियो। आफूविरुद्ध हत्या आरोपमा किटानी जाहेरी परेपछि उनी फरार बनेका थिए। समानन्द वडा अध्यक्ष वलदेवका छिमेकी हुन्।

घटना अनुसार समानन्दले आफ्ना जेठा छोराको बिहे स्थानीय एक युवतीसँग गर्ने बचन दिएका थिए। तर छोराले बिहे अस्वीकार गरेपछि सुरु भएको विवाद हत्याको घटनामा परिणत भयो। छोराले बिहे अस्वीकार गरेपछि वडा अध्यक्ष यादवकै घरमा समानन्दलाई बोलाएर २०७६ साल जेठ ३२ गते पञ्चेती बसेको थियो।

बिहे गर्न छोराले नमानेको बताएपछि समानन्दमाथि पञ्चेतीमा भेला भएकाहरुले कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएका उनको झन्डै एक महिनापछि २०७६ असार २६ गते मृत्यु भयो। वडा अध्यक्ष बलदेवसहित अन्य दुई वडा अध्यक्ष र केटी पक्षका आफन्तले समानन्दमाथि कुटपिट गरेको आरोप परिवारको छ।

समानन्दको मृत्युपछि परिवारले वडा अध्यक्ष बलदेव यादव, मोरङको जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीप यादव, विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह, वडा अध्यक्ष वलदेवका छोरा रविन, भतिज दीपेश, छिमेकी विन्देश्वर यादव, सम्भुप्रसाद यादव, भोलु यादव, विरेश यादव, दिनेशप्रसाद यादवसहित १० जना विरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी परेपछि प्रहरीले तीन जना वडा अध्यक्षसहित १० जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

हत्याको आरोप लागेका विराटनगर–१८ का वडा अध्यक्ष सञ्जय साह र जहदा–१ का वडा अध्यक्ष प्रदीप यादवलाई भने जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। घटनापछि उनीहरु पनि फरार थिए। सञ्जय गत जेठ १४ गते र प्रदीप २०७६ माघ २४ गते अदालत उपस्थित भएका थिए।

तर उच्च अदालत विराटनगरले जिल्ला अदालतको आदेश बदर गर्दै प्रदीपलाई यसअघिनै धरौटीमा छाड्न आदेश दिइसकेको छ। सञ्जयको हकमा भने उच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएको छ। घटनामा संलग्न भनिएका एक जना वडा अध्यक्ष छुटेको र एक जना थुनामै रहे पनि जिल्ला अदालतले पञ्चेती राखिएकै घरका धनी वडा अध्यक्ष वलदेवलाई भने पूर्पक्षका लागि धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतमा हाजिर भएकै दिन धरौटीमा छुटेपछि अविरजात्रा गर्दै उनलाई घर लगिएको छ। समर्थक, परिवारका सदस्य र आफन्तले उनलाई अविरजात्रा गरेर घर पुर्‍याएका हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome