बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

उपल्लो मुस्ताङमा ४ सय घरधुरीलाई सोलार प्यानल वितरण

१२ मंसिर, २०७७ १६:३९ मा प्रकाशित

266 पटक पढिएको

solar plant distributed

जोमसोम – दुर्गमको उत्तरी सीमावर्ती उपल्लो मुस्ताङमा गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत सौर्य-उर्जा सोलार प्यानल वितरण जडानकार्य अघि बढाएको छ । गण्डकी प्रदेश सरकारको ७५ प्रतिशत विशेष अनुदान र स्थानीयको २५ प्रतिशत लगानी रहने गरी उपल्लो मुस्ताङको स्थानीय तहमा सोलार प्यानल वितरण गरेको हो ।

गण्डकी प्रदेश सरकारले राष्ट्रिय प्रशारण लाइनको पहुँच नपुगेका स्थानमा गत आवमै सौर्य/उर्जा सोलार प्यानल वितरणका लागि आवश्यक बजेट बिनियोजन गरेता पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित लकडाउनले प्रभावित बनेको थियो ।

गण्डकी प्रदेशले सौर्य उर्जा बितरण गर्ने योजनालाई मूर्तरुप दिन चालु आवमा पनि कार्यक्रम समावेश गरेकाले उपल्लो मुस्ताङका घरघरमा सोलार प्यानल वितरण तथा जडान कार्यले पूर्णता पाएको हो ।

गण्डकी प्रदेश सरकारले मुस्ताङमा राष्ट्रिय प्रशारण लाइन नजोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न वडामा सोलार प्यानल वितरण तथा जडानका लागि श्री रोशनी इन्टिच्युट कम्पनीलाई जिम्मा दिएकाले आफुहरु फिल्डमा आएको कम्पनीका प्राविधिक कमानसिंह गुरुङले जानकारी दिए ।

कम्पनीको वितरण तथा जडान प्राविधिक टोली यतिबेला हिउँदयामको अत्यधिक चिसो मौसमका बावजुत उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका करिव ४ सय बढी घरधुरीलाई सोलार प्यानल वितरण तथा जडानकार्यमा खटिएको छ ।उपल्लो मुस्ताङमा कम्पनीले अनुदानमा स्थानीयको घरघरमा पुगेर सोलार प्यानल जडान गरेपछि स्थानीयमा खुसीको रौनक छाएको छ ।

गण्डकी प्रदेशको उज्यालो प्रदेश कार्यक्रम अन्तर्गत उपल्लो मुस्ताङको २ स्थानीय तहका विभिन्न वडाहरुमा ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण कार्य भइरहेको गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टले जानकारी दिए ।

सांसद बिष्टले उपल्लो मुस्ताङमा राष्ट्रिय प्रशारणको लाइनको पहुँच नभएकाले प्रदेशले सोलार प्यानल वितरण गरेको बताए । उपल्लो मुस्ताङमा राष्ट्रिय प्रशारण लाइन नहुदा स्थानीय अन्धकारमा बस्न बाध्य थिए ।

उपल्लो मुस्ताङमा बिजुली नहुँदा स्थानीयलाई बत्ती बाल्न ,मोबाइलको ब्याट्री चार्ज गर्न ,टेलिभिजन हेर्न र अनलाइनका समाचार पढ्नबाट बञ्चित रहनु परेको स्थानीयको भनाइ छ ।

उपल्लो मुस्ताङमा विद्युत पहुँच नपुगेका दुरदराजका गाउँमा प्रदेश सरकारले सोलार प्यानल वितरण तथा जडान गरेपछि स्थानीयमा खुसीयालीको रौनक छाएको हो । गण्डकी प्रदेशले मुस्ताङमा १८ हजार मुल्यको सोलार प्यानल,ब्याट्री,सोलार वायर र ब्लपहरु उपलब्ध गराइ जडान गरेको छ ।

गण्डकी प्रदेशले चालु आर्थिक वर्ष २०७७-०७८को वार्षिक बजेट अनुसार राष्ट्रिय प्रशारणको लाइन नजोडिएका मुस्ताङसहित गोरखा,मनाङ र म्याग्दी जिल्लाका ७ स्थानीय तहमा करिब एघार सय ६० घरधुरीलाई ७५ प्रतिशत अनुदान सहुलियतमा सोलार प्यानल वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome