बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

बनारस भिडिओ प्रकरण : चारजना पक्राउ, एक फरार

४ श्रावण, २०७७ ०८:४४ मा प्रकाशित

729 पटक पढिएको

nepali misbehaved in varanasi india

काठमाडौँ, ०४ साउन : भारतको बनारसमा नेपाली भनिएका एक व्यक्तिको कपाल मुण्डन गर्दै नेपाल र नेपालका प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्न लगाउनेहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ ।

हालै त्यहाँ हिन्दू अतिवादी समूहले गरेको हर्कत्सहितको भिडिओ भाइरल भएपछि प्रहरीले घटनालाई महत्व दिएको हो । यसै विषयलाई लिएर नयाँदिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यले पनि उत्तर प्रदेशका मुख्यमन्त्रीसँग कुरा गरेको बताइएको छ । यसले गर्दा नेपाल र भारतबीच सांस्कृतिक र परम्परागत सम्बन्धमा आँच ल्याउने काम भएको टिप्पणी पनि हुन थालेको छ ।

घटना के भएको थियो ?

उक्त भिडिओ फुटेज अनुसार हिन्दू संगठनका कार्यकर्ताहरुले नेपाली भनिएका एक वयष्क पुरुषको कपाल मुण्डन गरिदिएका छन् । साथै उनीहरुले नेपाल विरोधी र केपी ओली विरोधी नारावाजी गर्न लगाएका देखिन्छन् । साथै भारत र श्रीरामको पक्षमा नारावाजी गर्न लगाएको भिडिओमा देखिन्छ ।

हालै राजशेखर झा नामको स्थानीयको ट्वीटरमा लेखिए अनुसार ती व्यक्ति नेपाली नभएर भारतीय धर्मेन्द्र सिंह हुन् । जसलाई पाँच जनाको समूहले एक हजार रुपैयाँ दिएर त्यस्तो काम गर्न लगाएका थिए । घटनापछि संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको र एक जना फरार रहेको राजशेखरले ट्वीटमा लेखेका छन् ।

बीबीसीका अनुसार उत्तर प्रदेशस्थित वाराणसी प्रहरीका एसपी अमित पाठकले उक्त घटनाको भिडिओ खिची सामाजिक सञ्जालमा फैलाएको आरोपमा चार जनालाई अदालत पेश गरिँदैछ । एक जनाको खोजी कार्य जारी रहेको बताइएको छ ।

भिडिओमा देखिने व्यक्तिको पूर्ण पहिचान भने अझै खुलिसकेको छैन । उनी नेपाली मूलको भारतीय भएको दावी पनि सामाजिक सञ्जालमा गरिएका छन् । स्थानीय मिडियाका अनुसार ती व्यक्तिलाई पैसा दिएर त्यस्तो काम गराएको थियो ।

यद्यपि ती व्यक्ति नेपाली हुन् कि हैनन् भनी पहिचान गर्ने काममा स्थानीय नेपाली समुदायका अगुवाहरु पनि लागिपरेको बताइएको छ । कतिपयले उनलाई अवकाशप्राप्त गोर्खा सैनिक भएको दावी गरेका छन् । तर नेपाली नागरिक वा नेपाली मूलको भारतीयमध्ये एक पक्कै भएको भएको अनुमान गरिएको छ ।

प्रहरीले घटनामा संलग्नहरुलाई कडा कारवाही गर्ने जनाएको छ । उनीहरुले आफ्नो गल्ती स्वीकार गरिसकेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार स्थानीय हिन्दू संगठनले नेपालका प्रधानमन्त्रीको अयोध्याबारे अभिव्यक्ति आएपछि विभिन्न गतिविधि गर्दैआएको छ । नेपालविरोधी गतिविधि गर्ने क्रममा यस्तो हर्कत् गरेको बताइएको छ ।

तर वाराणसीमा रहेका नेपाली समुदायले यस्ता गतिविधिबाट आफूहरु सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome