शनिबार, ९ श्रावण २०७८
शनिबार, ९ श्रावण २०७८

IT Training Nepal

डीआइजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

१६ मंसिर, २०७७ १६:१० मा प्रकाशित

228 पटक पढिएको

dig bishwo raj pokharel

काठमाडौं – सरकारले प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको ।

सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा सिफारिस भएका पोखरेल नै भावि आईजीपीका एक्ला दाबेदार हुन् । यो बढुवा सिफारिससँगै खाली भएका रिक्त दरबन्दी पूर्तिको बाटो खुलेको छ । सरकारले मंसिर ४ गते एक एआईजी र पाँच डीआईजीको दरबन्दी प्रहरी किताबखानामा दर्ता गरेको थियो ।

सरकारले थपिएको एआईजी दरबन्दीमा डीआईजी पोखेरल सिफारिस भएपछि एक जना थप डीआईजीको दरवन्दी खाली भएको छ । अब नयाँ एक, पुराना खाली तीन र हाल थपिएको पाँच गरी ९ जना डीआईजी दरवन्दी खाली हुनेछन् । खाली दरवन्दीमा कस्लाई सिफारिस गर्ने भन्ने टुंगो बढुवा समितिको बैठकले निर्धारण गर्ने जानकारी समितिका एक सदस्यले बताए ।

आगामी साताभित्रै बढुवा समितिको बैठक बसेर रिक्त दरबन्दीमा बढुवा सिफारिस गर्ने तयारी गृह मन्त्रालयको छ । मंसिर ४ गते सरकारले एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो ।

डीर्आइजीका लागि हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीकै ब्याचकालाई माथि ल्याउनुपर्ने चुनौती क्षेत्रीमाथि छ । क्षेत्रीका ब्याचका एसएसपीहरु गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

यस्तै, एसएसपीहरु उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा रहेका छन् ।

एसपीबाट एसएसपीको बढुवा आकांक्षीहरुमध्ये चार जना डीआईजी विश्व पोखरेलकै ब्याचीका छन् । एसपीहरु उमाशंकर पञ्जियार, गोविन्द कुमार साह, जनकराज पाण्डे र सुदिपराज भण्डारी एसएसपी बढुवाका मुख्य दाबेदार मानिन्छन् ।

प्रहरी मुख्यालयस्थित कर्मचारी प्रशासन महाशाखाका अनुसार एआईजी र डीआईजीको बढुवा सिफारिस भएपछि एसएसपीमा ९, एसपीमा १०, डीएसपीमा १२ र प्रहरी निरीक्षकमा १४ जना दरवन्दी खाली हुनेछ ।

प्रहरी महानिरीक्षक क्षेत्रीले बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई बढुवा सिफारिस गर्ने पक्षमा आफू नरहेको गृहसचिव महेश्वर न्यौपनोलाई जनाउ दिईसकेका छन् । तर, बढुवा आकांक्षीले राजनीतिक घरदैलो सुरु गरिसकेकाले क्षेत्री आफ्नो अडानमा कति टिक्न सक्लान्, त्यो सिफारिस सूचीले बताउने जानकारी प्रहरी मुख्यालयका एक उच्च अधिकृतले दिए । उनले भने, ‘आईजीपीसापको मनसाय सिनियरलाई नै अगाडी ल्याउने छ । तर, राजनीतिक दबाब आएको अवस्थामा उहाँले आफ्नो अडानलाई कसरी टिकाउन सक्नुहुन्छ थहाछैन।’ ति अधिकृतका अनुसार सीट थोरै तर आकांक्षी धेरै भएकाले बढुवा सिफारिसको टुंगो लगाउन सकस परिरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले थपिएको दरबन्दी प्रहरी किताबखानामा दर्ता भइसकेकाले अब बढुवा प्रक्रियाको बाटो खुलेको बताए । उनले भने, ‘केही दिन भित्रैमा बढुवा समितिको बैठक बसेर टुंगो लाग्छ ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome