मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

विप्लव समूहद्वारा मोरङका एक शिक्षकको बर्बरतापूर्वक हत्या

२४ मंसिर, २०७७ १६:५६ मा प्रकाशित

507 पटक पढिएको

teacher murdered in morang by biplav

विराटनगर – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताले मंगलबार बिहान मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बर्बरतापूर्वक हत्या गरेका छन्। श्रेष्ठ स्थानीय सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्। घरबाट लगभग एक किलोमिटर दूरीमा रहेको देउढुंगा जंगलमा पुर्‍याएर घाँटी रेटेर मारेको अवस्थामा श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको मेची–कोसी ब्युरो इन्चार्ज प्रतापले मंगलबारै प्रेस विज्ञप्ति निकाली उक्त घटना आफ्नो पार्टीले गराएको जनाएका छन्। शिक्षक श्रेष्ठले लामो समयदेखि सुराकी गरेको र सच्चिन आग्रह गर्दा पनि अटेर गरेकाले यो घटना भएको उक्त विज्ञप्तिमा उल्लेख छ। ‘उनलाई यसपटक पनि सच्चिन आग्रह गर्दै सम्झाउने क्रममा हतियार लिएर आक्रमण गरेपछि प्रतिकार गर्दा उनको मृत्यु भएको हो’, विज्ञप्तिमा लेखिएको छ। उक्त विज्ञप्तिमा पार्टीका कार्यकर्ता पक्राउ गर्न, सामान लुट्न श्रेष्ठले पटकपटक प्रहरीलाई सघाएकाले उनलाई यसअघि पनि सम्झाउँदै आएको जनाइएको छ।

श्रेष्ठको घाँटीको अगाडि भाग (रुद्र घण्टी) दुई ठाउँ रेटेको र टाउकोमा पनि चोट पाइएको प्रहरीले जनाएको छ। घटनास्थलमा कुनै पनि हतियार भने भेटिएको थिएन। प्रहरीले लट्ठी, श्रेष्ठका टोपी, चप्पल र मोबाइल भने फेला पारेको थियो। श्रेष्ठका भतिज महेशले घटनाको जानकारी प्रहरीलाई दिएका थिए।

घटनास्थलको भुइँ मडारिएको भेटिएकाले उक्त समूहबाट जोगिन श्रेष्ठले प्रतिकार गरेको हुन सक्ने देखिएको छ। ‘घटनाको प्रकृति हेर्दा बाँच्नका लागि निक्कै संघर्ष गरेजस्तो देखिन्छ। भुइँ मज्जाले मडारिएको छ’, प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले भने।

सुरुमा गोली हानेर घटना गराइएको हुन सक्ने बताइए पनि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेपछि घाँटी रेटेर हत्या गरेको पाइएको हो। २०४६ सालदेखि शिक्षण पेसामा आबद्ध उनी एकीकृत अखिल नेपाल शिक्षक संगठन मिक्लाजुङ गाउँ कमिटी सदस्यसमेत थिए। मंगलबार बिहान लगभग ६ बजेतिर आइपुगेका पाँच–सात जनाको समूहले उनलाई घरायसी काम गरिरहेको अवस्थामा अपहरण गरी लगेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए। होहल्ला गर्न थालेपछि मुख थुनेर श्रेष्ठलाई लगिएको उनीहरूको भनाइ छ।

अपहरण गरी अगाडिबाट दुबै हात बाँध्दै बोल्न पनि नदिइकन जंगलमा पुर्‍याएर हत्या गरिएको अवस्थामा शव भेटिएको वडाध्यक्ष नरबहादुर राईले बताए। राईका अनुसार हात बाँधेर उत्तानो पारी भुइँमा लडाएको अवस्थामा शव फेला परेको हो। घरमा एक्लै भएको अवस्थामा उक्त समूहले आफूलाई कब्जामा लिएपछि श्रेष्ठले छिमेकीसँग गुहार मागेका थिए। स्थानीयले चासो लिन थालेको केही बेरमै उनको हत्या भएको खबर आएको वडाध्यक्ष राईले बताए।

श्रेष्ठकी पत्नी ५३ वर्षीया धनकुमारीले आफू बिहानै बाख्रालाई घाँस पानी दिन र काम गर्न बाहिर गएको अवस्थामा घटना भएको सुनाइन्। त्यही कारण पतिलाई अपहरणकारीले कब्जामा लिँदै जंगलमा पुर्‍याएर हत्या गर्दा पनि आफूले पत्तै पाउन नसकेको उनले बताइन्। श्रेष्ठ दम्पतीका एक छोरा र छोरी छन्। ३० वर्षीय छोरा छत्रबहादुर बिहे गरेर मिक्लाजुङको मधुमल्लामा बस्दै आएका छन्। छोरी २८ वर्षीया पूजाको बिहे भइसकेको छ।

वडाध्यक्ष राईका अनुसार मिक्लाजुङको केन्द्र मधुमल्लाबाट उत्तरतर्फ रहेको घटनास्थल पुग्न मोटरसाइकलमा तीन घण्टाभन्दा बढी समस्य लाग्छ। वडा कार्यालय रहेको स्थानबाट पैदल हिँडेर जाँदा अढाई घण्टाभन्दा बढी समय लाग्ने जानकारी राईले दिए। वडाध्यक्ष राई र गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यसहित केही जनप्रतिनिधि दिउँसो मात्रै घटनास्थलमा पुगेका थिए। प्रहरी टोली दिउँसो ३ बजे मात्रै घटनास्थल पुगेको थियो।

मोरङको विकट क्षेत्रमा पर्ने बर्खेसम्म पुग्ने कच्ची सडक छ। वडाध्यक्ष राईका अनुसार मुस्किलले मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारीसाधन चल्दैन। घटनाको अनुसन्धान गर्न खटिएको प्रहरी टोली जोखिम मोलेर ट्र्याक्टरमार्फत साढे ८ घण्टापछि घटनास्थल पुगेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै घटनास्थल र मिक्लाजुङ क्षेत्रलाई चारैतिरबाट घेरा हालेर सर्च थालिएको बताए। घटनामा संलग्नको पहिचान गर्न र उनीहरूलाई पक्राउ गर्न एसपी खड्का विशेष टोली लिएर घटनास्थल पुगेका छन्।

घटनास्थल वरपर मोरङका साथै छिमेकी जिल्लाबाट पनि प्रहरी परिचालन भइसकेको र त्यस क्षेत्रबाट बाहिरिने सबै नाकामा विशेष निगरानी बढाइएको डीआईजी कार्कीले बताए।

स्थानीयले केही समयदेखि ‘विप्लव’ समूहका नाममा श्रेष्ठलाई फोनमार्फत विभिन्न धम्की आइरहेको खुलाएका छन्। उनी केही समयदेखि तनावमा रहे पनि यस विषयमा कुनै जानकारी भने नगराएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार श्रेष्ठ गाउँमा विकासप्रेमी र शैक्षिक सुधारकका रूपमा चिनिन्थे।

मोरङमा विप्लव गतिविधि तीव्र

मोरङको पहाडी क्षेत्र मिक्लाजुङमा ‘विप्लव’ समूहको सैन्य तालिम हुँदै आएको सूचना प्रहरीमा छ। उनीहरूले उक्त क्षेत्रलाई आफ्नो परेड स्थलका रूपमा प्रयोग गरेर सैन्य तयारी गरिरहेको खबर स्थानीयले प्रहरीलाई दिएका छन्। यही सूचना पाएको प्रहरीले त्यस क्षेत्रमा यसअघि पटकपटक ‘स्विप’ अप्रेसन चलाइसकेको छ।

एसपी खड्काका अनुसार उनीहरू आधार इलाका बनाएर बसेको सूचनाका आधारमा विशेष निगरानी बढाइएको थियो। प्रहरी स्रोतका अनुसार विप्लव समूहले तालिम र अन्य विभिन्न गतिविधि सञ्चालन गर्दै आएपछि त्यस क्षेत्र उच्च निगरानीमा थियो।

प्रहरीले केही दिनअघि मिक्लाजुङबाट उक्त समूहका दुई नेतालाई पक्राउ गरेको थियो। घटनालगत्तै मोरङसहित छिमेकी जिल्लाको पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। ‘सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको छ’, डीआईजी कार्कीले भने।

शान्ति सम्झौतापछि भूमिगत पार्टीले मोरङमा पहिलो पटक सर्वसाधारणको हत्या गरेको हुन सक्ने प्रहरी स्रोतले बतायो। ‘मिक्लाजुङको उत्तरी क्षेत्र विकट रहेकाले सहजै सबैको पहुँच नपुग्ने हुँदा पनि भूमिगत भएको ‘विप्लव’ समूहले निर्वाध रूपमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेको सूचना प्रहरीसम्म आइपुगेको छ’, उक्त स्रोतले भन्यो। घटनास्थल भएको क्षेत्र पाँचथर, इलाम र मोरङको सीमा हो।

प्रदेश प्रहरी प्रवक्ता डीएसपी कविन्द्रकुमार कार्कीले प्रदेश १ बाट हालसम्म उक्त समूहका २ सय ४ जनालाई पक्राउ गरिएको जानकारी दिए। ‘सरकारले २०७५ सालमा ‘विप्लव’ समूहलाई प्रतिबन्धित गरेपछि हालसम्म प्रदेशबाट पक्राउ गर्दै कारबाहीका लागि कार्यकर्तालाई अदालतमा पेस गर्ने काम प्रहरीले गरिरहेको छ,’ डीएसपी कार्कीले भने, ‘पक्राउ परेका विप्लव समूहका कार्यकर्तामध्ये विभिन्न मुद्दामा अदालतको आदेशानुसार हाल २९ जना कारागारमा कैद भुक्तान गरिरहेका छन्। सात जना अनुसन्धानका क्रममा छन्। अन्य १ सय ६८ जनामध्ये कैयौंले कैद भुक्तान गरिसकेको र केही तत्कालै अदालतबाट भएको आदेशबाट थुनामुक्त भएका छन्।’

उनले हालसम्म पेस्तोल १२ थान, भरुवा बन्दुक पाँच थान, एसएलआर एक थान, राइफल एक थान तथा सकेट बमलगायत अन्य विभिन्न विस्फोटक पदार्थ बरामद गरिएको जानकारी दिए। भोजपुर सदुरमुकामको पाँचधारे होटलनजिक २०७६ असार २५ गते बुधबार बिहान प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको थियो। मृत्यु भएकामा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुंगा इन्चार्ज नीरकुमार राई छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome