बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

ओली-प्रचण्ड मिल्नुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

२४ मंसिर, २०७७ १७:०६ मा प्रकाशित

716 पटक पढिएको

prithvi subba gurung

बेंसीसहर – नेकपाका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपाभित्र देखिएको संकट समाधानका लागि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दहाल (प्रचण्ड) मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

लमजुङमा उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरा कालोपत्रे सडकको मंगलबार शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले दुईअध्यक्ष ओली र प्रचण्ड मिलेर अघि बढ्दा मात्र नेकपामा देखिएको संकट समाधान हुने बताए ।

एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई अध्यक्षको महत्वपूर्ण योगदान रहेकोले उहाँहरुको संवाद र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । यतिवेला सरकार गिराउने र पार्टी अध्यक्ष परिवर्तन गर्ने समय नरहेको उनले बताए ।

‘यो सरकारलाई जनताले पाँच बर्षको लागि म्याण्डेट दिएका छन । पार्टी अध्यक्ष हुने हो भने महाधिवेशनसम्म पर्खनु पर्छ । पार्टी एकताको मर्म भनेको अल्पमत र बहुमतको खेल खेल्न हुनै सक्दैन’, नेता गुरुङले भने, ‘एकताको मर्म भनेको दुवै अध्यक्षले बैठकको एजेण्डा तय गरी सहकार्य र सहमतिमा अघि बढदै पार्टी एकताका बाँकी काम सम्पन्नगरी महाधिवेशन गर्नुपर्छ ।’ यो समय प्रचण्डले प्रधानमन्त्रीको राजिनामा र प्रधानमन्त्रीले प्रचण्डको राजिनामा माग्ने बेला नभएको उनले बताए । एकले अर्कालाई आरोप लगाउने अधिकार पनि पनि नभएको उनले बताए ।

नेता गुरुङले अध्यक्ष बन्न मन लागे ४ महिना धैर्य गर्नुपर्ने भन्दै सरकार भने पूरा अवधि रहने बताए । ‘सरकारले अहिलेसम्म कुनै सरकार र प्रधानमन्त्रीले गर्न नसकेको काम गरेको छ । यो सरकार ५ बर्ष टिक्छ । राजिनामा माग्नु जनमतको म्याण्डेट विपरित हुन्छ । जहाँसम्म पार्टी अध्यक्षको कुरा छ त्यो महाधिवेशनले तय गर्छ’,’नेता गुरुङले भने ।

प्रधानमन्त्री ओलीले अबको महाधिवेशनमा अध्यक्ष नउठने बताएकाले प्रचण्डलाई सहमतिको अध्यक्ष बनाउन सकिने उनले बताए । तर, यस्तै शैली हो भने एकता महाधिवेशन गर्ने र सहमतीमा अध्यक्ष बन्ने कुरा प्रचण्डले समेत गुमाउन सक्ने उनले बताए ।

मुख्यमन्त्री गुरुङले मंसिर २८ गते हुने स्थायी कमिटीको बैठकले पार्टी विभाजनबाट बचाउनु पर्ने बताए । दोस्रो र तेस्रो पुस्ताको नेतासंग त्यो क्षमता भएकोले स्थायी कमिटीले पार्टी एकताको मर्म र स्थायी सरकारको मर्मलाई बुजेर निर्णय गर्छ,’ मुख्यमन्त्री गुरुङले भने । मुख्यमन्त्री गुरुङले अहिले राजतन्त्रको पक्षमा उठिरहेको आवाज कुनै तुक नरहेको बताए । गुरुङले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र नभई अझै उन्नत खालको गणतन्त्र हो ।’

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभाका नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेशसभा सदस्य धनञ्जय दवाडी, बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्याललगायतले मन्तब्य राखेका थिए ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीका अनुसार गण्डकी प्रदेश सरकारको लगानीमा ७.१२१ किलो मिटर उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेसी–शेरासडक कालोपत्रे हुने भएको छ । सडकको लागत २६ करोड २९ लाख ६ हजार २ सय २५ रुपैयाँ रहेको छ भने २ वर्षभित्र सम्पन्न हुने भएको छ । सडकको निर्माण कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौंले गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome