बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

कपडा पसलमा प्रहरीको छापा : लाखौं बराबरको तस्करीको कपडा बरामद

२५ मंसिर, २०७७ १७:१४ मा प्रकाशित

842 पटक पढिएको

police raid

विराटनगर – अवैध रुपमा कपडा भण्डारण गरी बिक्री गर्ने गरेको भन्दै विराटनगरको मेनरोडमा रहेको एउटा कपडा पसलमा प्रहरीले बिहीबार दिउँसो छापा हानेको छ ।

विराटनगर महानगरपालिका–७ मेनरोडमा तरुण रौनियारले सञ्चालन गरेको ह्वाइट हाउस कपडा पसलमा प्रहरीले चारैतिरबाट घेरा हालेर छापा मारेको हो । पसलबाट ठूलो परिणाममा तस्करीको कपडा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उक्त कपडा पसल विराटनगरमा नाम चलेकामध्येको एउटा हो ।

भारतबाट भन्सार छली गरेर अवैध रुपमा ल्याउँदै गोदाममा भण्डारण गरेर बिक्री गर्ने गरेको पाइएपछि विशेष टोली परिचालन गरेर छापा हानिएको खड्काले जानकारी दिए । छापा हान्न वानटेन ट्रक नै लिएर प्रहरी टोली विराटनगरको जलजला चोक नजिक रहेको पसलमा पुगेको थियो । त्यस क्रममा पसल सञ्चालन गरिएको घरको माथिल्लो तलामा भण्डारण गरेर राखेको अवस्थामा कपडा बरामद भएको एसपी खड्काले बताए ।

उनका अनुसार पसल सञ्चालकले कपडाको कुनै पनि बिल विजक प्रस्तुत गर्न सकेनन् । ठूलो परिणाममा भण्डारण गरेर राखिएको कपडाको खरिद बिलनै देखाउन नसकेपछि पसल सञ्चालक रौनियारलाई पनि पक्राउ गरिएको उनले बताए । खड्काका अनुसार पक्राउ परेका रौनियारले लामो समयदेखि भारतबाट राजस्व छली गरेर अवैध रुपमा तस्करीको कपडामा सस्तोमा नेपाल भित्राउँदै महँगोमा बिक्री गर्ने गरेको सूचना प्रहरीमा थियो ।

‘चोर बाटोबाट भन्सार छली गरेर अवैध रुपमा कपडा भित्राएर बिक्री गर्ने गरेको सूचनाका आधारमा पसलमा एक घण्टा बढी समय लगाएर छापा हानिएको हो,’ उनले भने, ‘प्रहरीले खानतलासी गर्दा बिल नभेटेपछि र पसल सञ्चालकले पनि बिल देखाउन नसकेपछि कपडासहित सञ्चालकलाई नियन्त्रणमा लिइएको छ ।’ उनले पसलबाट एक ट्रक सर्ट लगायतका कपडा बरामद भएको जानकारी दिए ।

खड्काका अनुसार कपडा लाखौं रुपैयाँ बराबरको भए पनि अनुसन्धानकै क्रममा रहेका कारण मूल्य यकिन हुन बाँकी छ । बिल प्रस्तुत गर्न सके पसल सञ्चालकलाई छाडेर कपडा फिर्ता गरिने र बिल देखाउन नसके आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइने जानकारी उनले दिए । प्रहरी पुगेका बेला कपडा माथिल्लो तलाको गोदाममा थोपरेर राखिएको थियो । माथिल्लो तालमा भण्डारण गरेर राखिएको कपडाको अवैध रुपमा कारोबार हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome