बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

भक्तपुरका विद्यालयले पुस १ देखि ८, ९ र १० का कक्षा सञ्चालन गर्ने

२६ मंसिर, २०७७ १६:५९ मा प्रकाशित

616 पटक पढिएको

bhaktapur city

भक्तपुर – भक्तपुर नगरपालिकाले यहीँ पुस १ गतेदेखि आफ्नो नगर क्षेत्रभित्रका विद्यालयमा ८, ९ र १० कक्षा आलोपालो चलाउने निर्णय गरेको छ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिले नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई माथिल्लो कक्षातर्फ ८, ९ र १० कक्षा आलोपालो गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो।

माथिल्लो तहका तीनवटा कक्षा आलोपालो सञ्चालन गर्न गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ बमोजिम स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न विद्यालयलाई आग्रह गरिएको छ।

समितिले विद्यार्थी संख्या एकसयभन्दा कम भएका सामुदायिक तथा निजी एवं संस्थागत विद्यालयलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना नगर शिक्षा शाखामा पेस गर्न भनेको छ। सोही प्रस्तावनाको आधारमा मात्रै कक्षा सञ्चालन गर्ने गराउने निर्णय भएको प्रमुख प्रजापतिले जानकारी दिए।

उनका अनुसार कक्षा सञ्चालन सम्बन्धमा विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक–कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सरसल्लाह गरेको बैठकको निर्णयसहितको विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना मंसिर मसान्तभित्र नगर शिक्षा शाखामा पेश गर्नुपर्नेछ।

नगर प्रमुख प्रजापतिले विद्यालय सञ्चालनसम्बन्धी अन्योल हटाउन नपाले विद्यालयका प्रतिनिधि, शिक्षक तथा अभिभावक संघका प्रतिनिधिसँग नियमित छलफल गर्दै आएको बताए। त्यसैको आधारमा पुस १ गतेदेखि पहिलो चरणमा माथिल्लो तहका तीनवटा कक्षा आलोपालो सञ्चालनमा ल्याउने निर्णय गरिएको उनले स्पष्ट पारे।

भक्तपुर नगर क्षेत्रमा ५७ वटा निजी एवं संस्थागत र ३५ वटा सामुदायिक गरी ९२ वटा विद्यालय छन्।

कोरोना भाइरस संक्रमणका दृष्टिले भक्तपुर नपा जिल्लाकै तेस्रो सर्वाधिक संक्रमित रहेको नगरपालिका हो। यहाँ करिब एक हजार ७ सय संक्रमित रहेका छन्। कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने जिल्लावासीमा भक्तपुर नपाकै सबैभन्दा बढी छन्। यहाँका २७ पुरुष र १५ महिला गरी ४२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा नआएकाले उपत्यकाभित्र विद्यालय सञ्चालन गर्न हतार नगर्न जोड दिँदै आएको छ। तैपनि उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन्। सञ्चालनमा ल्याएका केही विद्यालयले विद्यार्थीहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै पुनः अनिश्चितकालीन पठनपाठनसमेत बन्द गरेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome