मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

‘दुई करोड’ अडियो प्रकरणको विषयमा अनुसन्धान गर्न प्रवक्ता श्रेष्ठको चुनौती

२७ मंसिर, २०७७ ०७:४८ मा प्रकाशित

628 पटक पढिएको

narayan kaji shrestha

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि आर्थिक लेनदेनमा मुछिएको आरोप लागेको छ ।

बिहीबार बिहान नेकपा केन्द्रीय सदस्य, पूर्वसांसद एवम् पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै नेता श्रेष्ठले उनीसँग गरेको लेनदेनमा आधारित कुराकानीको अडियो र भिडियो सार्वजनिक भएसँगै उनीमाथि लेनदेनको आरोप लागेको हो।

सार्वजनिक भएको भिडियोमा प्रवक्ता श्रेष्ठले लामासँग दुई करोड बढी कारोबारको विषयमा कुराकानी गरेको सुन्न सकिन्छ। प्रवक्ता श्रेष्ठसँग कमानसिंहले उक्त कुराकानीमा दुई करोडको हिसाब खोजेका छन्। नेता श्रेष्ठले कुराकानीमा ३० र ७० प्रतिशतको कुरासमेत गरेका छन्।

उता लामाले भने फसेको आफ्नो पैसा जसरी पनि पाउनुपर्ने अडान लिएका छन्। यसमा नारायणकाजीले दुई पक्ष मिलाउने प्रयास गरेको देखिन्छ। स्वर्गीय कमानसिंह नारायणकाजीसँगै चौमबाट माओवादी हुँदै नेकपामा आएका हुन्।

यता प्रवक्ता श्रेष्ठले भने अडियो प्रकरणमा आफू दोषी नरहेको बताएका छन् । श्रेष्ठले यो विषयमा अनुसन्धान गर्न चुनौती दिएका छन् । उनले यो सबैकुरा आफ्नो चरित्रहत्या गर्न ल्याइएको बताएका छन् । यसको विषयमा नेकपाले समेत कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

उता नेता श्रेष्ठले मध्यस्थता गरेको भनिएको याम्बालिङ्ग हाइड्रोपावर प्रालिले विज्ञप्ति सार्वजनिक गर्दै सञ्चार माध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

ध्यानाकर्षण विज्ञप्तिमा २०५७ साल फागुन २४ गते कमानसिंह लामा र उनकी पत्नी इन्द्रमाया तामाङले सञ्चालन गरेको हाइड्रोपावर गम्भीर आर्थिक संकटमा परेपछि संकट समाधानका लागि पटकपटक अनुरोध गरेपछि नेता श्रेष्ठले समाधानको प्रयासका लागि छलफल मात्र गरेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा यो विषयमा सत्यतथ्य जानकारी लिन लामाकी पत्नी तामाङसँग सम्पर्क गर्न सकिनेसमेत उल्लेख गरिएको छ । त्यसैगरी विज्ञप्तिमा भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरिएको छ ।

यता इन्द्रमाया तामाङले छुट्टै विज्ञप्ति सार्वजनिक गर्दै यो विषयमा नारायणकाजी श्रेष्ठलाई जोडेर उनको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने काम भएको बताएकी छन् ।

‘सुरुको अवस्थामा हाम्रो राजनीतिक अभिभावक भएकाले हामीमा परेको समस्या कमरेड नारायणकाजी श्रेष्ठलाई पनि हामीले नै जानकारी गराएका थियौँ । त्यसैक्रममा उहाँले हामीलाई आर्थिक पारदर्शीता र अनुशासनको बारेमा सम्झाउनु भएकै हो’, उनले विज्ञप्तिमा भनेकी छन्, ‘तर त्यही कुरालाई जोडेर उहाँको राजनीतिक निष्ठापूर्ण जीवनलाई बदनाम गर्ने निहित स्वार्थपूर्ति गर्ने केही व्यक्ति वा संस्थाहरु लागिरहेकामा म घोर भत्सना गर्दछु ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome