बुधबार, १० कार्तिक २०७८
बुधबार, १० कार्तिक २०७८

IT Training Nepal

कम्युनिष्ट सरकार कोरोनाभन्दा पनि खतरनाक छ : निधि

३० मंसिर, २०७७ ०७:४० मा प्रकाशित

752 पटक पढिएको

politician bimalendra nidhi nepali congress

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार सबै दृष्टिले असफल भइसकेको दावी गरेका छन् ।

नेपाली कांग्रेसको घोषित कार्यक्रमअनुसार सोमबार भक्तपुरमा भएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारले कुनै पनि क्षेत्रमा देश र जनताको हितमा काम गर्न नसकेको स्पष्ट पारे । उनले सरकार कोरोनाभन्दा पनि खतरनाक भएको बताए।

नेता निधिले कांग्रेसले आधिकारिक रुपमै सरकार असफल भएको निष्कर्ष निकालेको र प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा समेत पार्टीको उक्त निष्कर्ष सुनाएको जानकारी दिए ।

ओली सरकार असफल भएको पुष्टि गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको १९ पन्ने प्रस्ताव नै पर्याप्त रहेको उनको भनाइ थियो ।

‘नेपालीमा एउटा उखान छ, तस्बिर आफै बोल्छ’, नेता निधिले भने, ‘ओली नेतृत्वको कम्युनिष्ट सरकार असफल भइसकेको पुष्टि गर्न उनकै समकक्षी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पन्ने प्रस्ताव नै पर्याप्त छ । त्यसले पुष्टि गर्दैन ?’ उनले ओली सरकारले बद्नामीको शिखर नै चढेको समेत ठोकुवा गरे । जसले गर्दा उनलाई भेट्ने अरु नेताहरुको समेत बद्नाम हुने गरेको उनको भनाइ थियो ।

‘ओली सरकारको बद्नाम यति बढिसक्यो कि उनलाई भेट्ने अरु नेताहरुको पनि बद्नाम हुन थालिसक्यो’, नेता निधिले भने, ‘उनलाई भेट्दा हाम्रा सभापति शेरबहादुर देउवाको समेत बद्नाम हुने गरेको छ ।’

उनले सरकार असफल भए पनि सरकारविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव नल्याउने स्पष्ट पारे । पाँच वर्ष चलाउँछु भन्ने ओली सरकार चलाएको तीन वर्षमै असफल हुँदा पनि सबै आफू हुँ भन्ने अधिनायकवादी सोचले अघि बढेको नेता निधिको भनाइ थियो ।

उनले ओली सरकारलाई संघीयताविरोधी, गणतन्त्रविरोधी, संसदीय व्यवस्थाविरोधी र समावेशिताको विरोधी भएको आरोप लगाए । ओली सरकारले देशभरका स्थानीय तहलाई संविधानले निर्दिष्ट गरेका अधिकारसमेत नदिएको उनको भनाइ थियो ।

‘ओली सरकारले स्थानीय तहलाई संविधानले निर्दिष्ट गरेका अधिकारसमेत दिएन’, पूर्वगृहमन्त्रीसमेत रहेका निधिले भने, ‘हुँदाहुँदा मन्त्रालयमा भएका अधिकारसमेत आफूमा केन्द्रित गरियो ।’

ओलीको कम्युनिष्ट सरकारको पालामा भ्रष्टाचारमात्रै बढेको उनको जिकिर थियो । कसैले देखिने गरी भ्रष्टाचार गर्दा पनि प्रधानमन्त्री ओली आफै अघि सरेर बचाउँदै आएको भन्दै कांग्रेस नेता निधिले प्रश्न गरे, ‘के प्रधानमन्त्री आफै सर्वोचच अदालत हो ? अख्तियार हो ? सीआईबी हो ? सर्तकर्ता केन्द्र हो ? नभए आरोप पुष्टि नभई आफै बचाउँदै र निर्णय सुनाउँदै किन हिँड्छन् ?’
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय सीता गुरुङ र रमा पौडेलले ओली सरकार के हो र कस्तो छ भन्ने कुरा सत्तारुढ नेकपाकै अध्यक्षद्वयको पत्रयुद्धले छर्लंग हुने बताए ।

त्यस्तै नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, सचिव उद्धव सिलवाल, प्रदेश सांसद कृष्णलाल भँडेल, भक्तपुर क्षेत्र नं. १ र २ का सभापति क्रमशः जीवन खत्री र नारायणभक्त खायमली, नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थलगायतले ओली सरकरको पालामा बेथितिको घैंटो भरिसकेको दावी गर्दै सरकारविरुद्ध जनता सडकमा आउनुको विकल्प नभएको धारणा राखे ।

भक्तपुरको सूर्यविनायक चोकमा विरोधसभा हुनुअघि सल्लाघारीबाट विरोध जुलुस प्रदर्शन गरिएको थियो । उक्त जुलुस भक्तपुर–काठमाडौं ६ लेन सडक हुँदै सूर्यविनायक चोकमा समापन गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome