मंगलवार, १ असार २०७८
मंगलवार, १ असार २०७८

IT Training Nepal

भक्तपुरमा राप्रपा एकीकरणमा सकस

२ पुष, २०७७ ०८:०४ मा प्रकाशित

706 पटक पढिएको

rpp unificitaion incomplete in bhaktapur

भक्तपुर – नेतृत्वको लागि दुवै पार्टीका साविक अध्यक्षद्वयले दावी गरेपछी केन्द्रीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबीच पार्टी एकीकरण भए पनि नेतृत्वमा सहमति नहुँदा केन्द्रले तोकेको म्याद गुज्रिए पनि भक्तपुर जिल्लामा एकीकरण हुन सकेको छैन।

पार्टी एकीकरण नटुंगिएकै कारण बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रम राप्रपा संयुक्त पक्षधरका नेता तथा कार्यकर्ताले बहिस्कार गरेका छन्।

भक्तपुरका दुइटै राप्रपाको संयुक्त बैठकले बुधबार भक्तपुरमा राप्रपाको झण्डोत्तोलन गर्ने तथा चुनाव चिन्ह अनावरण गर्ने कार्यक्रम तय गरिएको थियो।

उक्त कार्यक्रम गर्न भक्तपुरमा उपलब्ध राप्रपाका १३ केन्द्रीय सदस्य तथा राप्रपा र राप्रपा संयुक्तका जिल्ला अध्यक्ष क्रमशः माधव खत्री र रामशरण लामिछानेको उपस्थितिमा संयुक्त बैठक बसेको थियो। मंसिर २६ गते भएको उक्त बैठकले पार्टी एकीकरण प्रक्रिया पूरा नभए पनि जिल्लामा हुने पार्टीको कार्यक्रममा दुवै पक्ष सहभागी हुने निर्णय गरेको थियो।

सोही निर्णयानुसार केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहको संयोजकत्वमा पुस १ गते बुधबार पार्टी कार्यालयमा झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गर्ने कार्यक्रम तय गरिएको राप्रपाका नेता मुकुन्द कार्कीले जानकारी दिए।

उनका अनुसार राप्रपा संयुक्त पक्षका शाह कार्यक्रम संयोजक तोकिएपछि राप्रपा पक्षकी केन्द्रीय सदस्य युवती कार्कीलाई सहसंयोजक तोकिएको थियो। सचिवमा भने राप्रपा भक्तपुरका अध्यक्ष माधव खत्री छानिए।

तर निर्णयानुसार बुधबारको कार्यक्रमका संयोजक तोकिएका राप्रपाका केन्द्रीय सदस्य शाह स्वयम् उक्त कार्यक्रममा उपस्थित भएनन्।

उनी सहभागी नभएपछि राप्रपा संयुक्ततर्फका केन्द्रीय सदस्यहरु दिनेश श्रेष्ठ, रामेश्वर थापा, भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेलगायतका अन्य नेता तथा कार्यकर्ता पनि कार्यक्रममा सहभागी नभएको नेता कार्कीले जानकारी दिए।

‘सहमतिअनुसार भएको कार्यक्रममा सहभागी नभएपछि बहिस्कार जस्तै भन्नुपर्‍यो’, उनले भने।

सहमति उल्लंघन गरियो : लामिछाने

राप्रपा संयुक्तका भक्तपुर जिल्ला अध्यक्ष लामिछानेले भने राप्रपा भक्तपुरले संयुक्त बैठकको सहमति उल्लंघन गरेकाले बुधबारको कार्यक्रममा सहभागी हुन नसकिने पहिल्यै जानकारी दिएको स्पष्टीकरण दिए।

जिल्लामा पार्टीको तर्फबाट हुने सम्पूर्ण कार्यक्रमको संयोजन केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले गर्ने भनी भएको निर्णयलाई राप्रपा भक्तपुरले मंसिर ६ गते गरिने मोटरसाइकल ¥यालीको मात्रै भनेपछि बुधबारको कार्यक्रममा आफूहरु नआउने अग्रीम जानकारी दिएको उनको भनाइ थियो।

‘हामीले पार्टीको झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण पार्टी एकीकरणपछि गरौं भन्ने प्रस्ताव गरेका थियौं’, अध्यक्ष लामिछानेले थपे, ‘तर राप्रपा भक्तपुरले बुधबार नै गर्ने, तपाईंहरु नआए पनि हामी कार्यक्रम गर्छौं भन्ने जवाफ दिएपछि त्यसो भए हामी आउँदैनौं भनेका थियौं।’

उनले मंसिरबा ६ गतेको कार्यक्रमबारे भने बिहीबार बस्ने पार्टी जिल्ला समितिको बैठकले निर्णय गर्ने जानकारी दिए। मंसिर ६ गते भक्तपुरमा हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको पक्षमा बृहत मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम तय गरिएको छ।

देशमा बलियो प्रजातान्त्रिक शक्ति आवश्यक : ढकाल

यसैबीच राप्रपाका उपाध्यक्ष टंक ढकालले देशमा बलियो प्रजातान्त्रिक शक्ति आवश्यक भएको बताएका छन्।

भक्तपुरमा राप्रपाको झण्डोत्तोलन र चुनाव चिन्ह अनावरण गर्दै उनले राप्रपा बलियो प्रजातान्त्रिक शक्ति निर्माणमै अघि बढेको बताए।

‘देशमा बलियो प्रजातान्त्रिक शक्तिको अहिले आवश्यकता छ’, नेता ढकालले भने, ‘जसले हाम्रो धर्म, संस्कृति, भाषा, परम्पराको रक्षा गर्दै सम्पूर्ण नेपालीलाई एक ढिक्का बनाउन सकियोस्।’

उनले देशको राष्ट्रियतालाई बलियो बनाउन राप्रपा एकीकरण गरिएको जिकिर गरे। राप्रपाकै केन्द्रीय सदस्य रामसुन्दर विष्टले राष्ट्रवादी आन्दोलनमा सहभागी हुन आह्वान गरे।

नेकपा र कांग्रेसलाई मत दिएका जनता अहिले पश्चातापमा रहेको उनको भनाइ थियो। त्यस्तै राप्रपा भक्तपुरका अध्यक्ष माधव खत्रीले गणतान्त्रिक व्यवस्था परिवर्तन गर्ने जिम्मेवारी राप्रपाको काँधमा आएको दावी गरे।

उनले हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापना नभएसम्म राष्ट्रवादी आन्दोलन टुंग्याउन नहुने बताए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome