बिहीबार, २१ श्रावण २०७८
बिहीबार, २१ श्रावण २०७८

IT Training Nepal

भक्तपुरको रिसोर्टमा काम गर्ने १७ वर्षीया बालिका बलात्कृत, ४ पक्राउ

२ पुष, २०७७ १६:५० मा प्रकाशित

471 पटक पढिएको

rape graphic

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको हेल्मेट डाँडास्थित एक रिसोर्टमा काम गर्ने बालिका बलात्कृत भएकी छन् । प्रहरीले बालिकामाथि बलात्कार गर्ने एक युवकसहित ४ जनालाई पक्राउसमेत गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेल्मेट डाँडास्थित बाटोमाथिको रिसोर्टमा काम गर्ने १७ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनलाई जबरजस्ती करणी गर्ने बझाङको थलारा गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्यायलाई पक्राउ गरिएको परिसरले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जबरजस्ती करणी गर्न सघाएको आरोपमा तनहुँ म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई हाल बाटोमाथिको रिसोर्टमा वेटरको काम गर्ने २० वर्षीय प्रदीप कुँवरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

त्यस्तै बालिकामाथि जबरजस्ती करणी गर्ने उपाध्याय र सघाउने कुँवरलाई पक्राउ गर्न बाधा पुर्‍याएको भन्दै प्रहरीले सोही रिसोर्टमा काम गर्ने थप दुई मजदुरलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार प्रहरीलाई अवरोध तथा दुव्र्यवहार गर्ने काभ्रेको भुम्लु गाउँपालिका २ डटुवा घर भएका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नपा ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवरलाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीले उक्त रिसोर्टमा उमेर नपुगेका बालिकाहरुलाई ललाईफकाई ल्याएर काम गराउने गरेको विशेष सूचनाको आधारमा मंसिर ३० गते छापा मारेको थियो ।

रिसोर्टमा काममा आएपछि उमेर नपुगेका बालिकाहरुलाई जबरजस्ती डरत्रास देखाएर रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गर्न बाध्य पार्ने गरेको विशेष सूचना आएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

सोही सूचनाको आधारमा रिसोर्टमा छापा मार्दा उमेर नपुगेकी बालिका र निश्चल कोठामा आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रिसोर्टमा यौनजन्य क्रियाकलाप हुँदै गरेकाले छापा मार्न गएको प्रहरी टोलीले दुई मजदुरले अवरोध पुर्‍याएको प्रहरीले बताएको छ ।

परिसरका प्रहरी निरीक्षक शशिधर शर्माको नेतृत्वको प्रहरी टोलीले रिसोर्टमा छापा मारेको थियो । उक्त टोलीले चेकजाँच गर्दा रिसोर्टको कोठामा भेटिएका १७ बर्षीया बालिका र निश्चल उपाध्यायलाई नियन्त्रणमा लिएको थियो । बालिकाले दिएको बयानको आधारमा प्रहरीले रिसोर्टमा वेटर काम गर्ने प्रदीपलाई समेत पक्राउ गरेको थियो ।

बालिकाले वेटर प्रदीपले उनको इच्छाविपरीत प्रलोभनका साथै डर, धाक धम्की दिई जबरजस्ती ग्राहकसँग पठाउने गर्दै आएको बयान दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार उक्त दिन पनि प्रदीपले ती बालिकालाई निश्चल उपाध्याय बसेको रिसोर्टको कोठामा जबरजस्ती पठाएर बाहिरबाट ढोका बन्द गरेको र त्यसको फाइदा उठाउँदै निश्चलले जबरजस्ती करणी गरेको भनी बालिकाले बयान दिएकी थिइन् ।

प्रहरीका अनुसार बालिकाले आफ्नी फुपूको रोहबरमा निश्चलले जबरजस्ती करणी गरेको र प्रदीपले जबरजस्ती करणी गर्न गराउन सहयोग गरेको भन्दै भक्तपुर प्रहरीसमक्ष जाहेरी दर्ता गरेकी छन् ।

सोही जाहेरी दर्खास्तको आधारमा अनुसन्धान गर्न भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

उक्त स्थानमा पहिले रातो भाले रिसोर्ट नामकको अर्कै रिसोर्ट थियो । त्यसबेला पनि उक्त रिसोर्टमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भन्दै स्थानीयले व्यापक विरोध गरेपछि उक्त रिसोर्ट बन्द नै गरिएको थियो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome