बिहीबार, १० असार २०७८
बिहीबार, १० असार २०७८

IT Training Nepal

सूर्य चिह्नमा दाबी गर्दै प्रचण्ड-माधव समूहले आयोगमा बुझाए पत्र

९ पुष, २०७७ ०८:१५ मा प्रकाशित

905 पटक पढिएको

election commission nepal

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता दाबी गर्दै प्रचण्ड-माधव समूहले निर्वाचन आयोगमा कागजपत्र बुझाएको छ। बुधबार २८७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको नेकपा केन्द्रीय कमिटी बैठकको निर्णय आयोगमा दर्ता गरिएको हो।

पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको कारवाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपालाई नियुक्ति गरिएको उल्लेख छ। पार्टीको दुई तिहाइ बहुमतले गरेको निर्णयसहित सूर्य चिह्नमा आफूहरुको हक लाग्ने भन्दै आवश्यक कागजातसमेत आयोगमा पेश भएको छ।

यस अगाडि मंगलबार आयोगमा ओली पक्षले पनि आधिकारिकता दाबी गर्दै कागजात बुझाइसकेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले नयाँ थप गरेका केन्द्रीय समिति सदस्यको विवरण निर्वाचन आयोगमा दर्ता गराएको थियो। मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले नेकपा केन्द्रीय कमिटी विस्तार गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो। यस्तै ओली समूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई तोकेको छ। सोही बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

नेकपा दुई पक्षमा विभाजित हुँदा कतिपय नेताको कित्ता पनि फेरिएको छ। दुई चिरामा विभाजित नेकपाका दुवै समूहले संस्थापन र वैधानिक भएको दाबी गरेका छन्। संस्थापनको मान्यता पाउने पक्षले चुनाव चिह्न सूर्य पनि पाउने भएकाले दुवै पक्षले आधिकारिताका लागि जोडबल गरेका छन्।

अब आयोगले नै कसलाई नेकपाको आधिकारिकता दिने भन्ने विवादको निरूपण गर्नुपर्ने भएको छ। निर्वाचन आयुक्त नरेन्द्र दाहालले सम्बन्धित पार्टीको विधान, दल दर्ता ऐन र अन्य कानुन हेरेर आयोगले पार्टी आधिकारिताको निर्णय गर्ने गरिएको जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome