बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव, मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य !

१० पुष, २०७७ १७:०८ मा प्रकाशित

512 पटक पढिएको

dormani poudel and astalakshmi shakya

काठमाडौं – बाग्मती प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका ४५ सांसदले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। यो प्रदेशमा नेकपाका ८० सांसद छन्।

प्रदेशको समृद्धि र सर्वोपरी हितकालागि सबै स्रोत र साधनको सदुपयोग एवम् परिचालन हुनुपर्नेमा त्यसलाई विभिन्न व्यक्ति र समूह स्वार्थहरुको लागि दुरुपयोग गर्ने क्रम नरोकिएको सांसदहरुको दावी छ। उनीहरुले दण्डहीनताले प्रश्रय पाएको र आरोपितहरुलाई संरक्षण गरिएको देखिएको बताएका छन्। पत्रमा भनिएको छ ‘महंगी, कालोबजारी र अपराध नियन्त्रणमा प्रदेश सरकार जसरी अगाडि बढ्नु पर्थ्यो त्यसरी अगाडि बढेको पाइएन। देशमा शान्ति, सुव्यवस्थाको सुदृढ व्यवस्था गर्नुका साथै अपराधिक क्रियाकलाप गर्नेहरु हतोत्साही हुने वातावरण सिर्जना भएन।’

देश कोराना विषाणु संक्रमणको महामारीको रोकथाम र औषधीउपचारमा समेत उचित नीतिका साथ यथोचित प्रबन्ध हुन नसकेको सांसदहरुको दाबी छ। सांसदहरुले दर्ता गराएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा नेकपा बागमती प्रदेशसभा दलको विधान २०७५ को धारा २८ बमोजिम हामी तपसिल बमोजिमका बागमती प्रदेश सभाका सदस्यहरुले माननीय मुख्यमन्त्री डोरमणी पौडेलमाथिको विश्वास छैन भनी अविश्वासको प्रस्ताव पेश गर्ने प्रयोजनको लागि नेपालको संविधानको धारा १८३ को उपधारा ३ अनुसार तत्काल प्रदेशसभाको बैठक बोलाउन अनुरोध गर्दछौं।’

सांसदहरुले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरी नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम बागमती प्रदेशको मुख्यमन्त्री पदका लागि माननीय प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन्।

प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष निकाल्दै तीन मन्त्रीले राजिनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजिनामा दिएका हुन्।

उनीहरुले आजैका मितिबाट लाग हुने गरि राजीनामा दिएको पत्रका उल्लेख छ। राजीनामा पत्रमा भनिएको छ, ‘२०७४ माघ २९ गते संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अनुसार पहिलो पटक बनेको बागमती प्रदेश (तत्कालिन प्रदेश नं.३) मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दल नेता माननीय श्री डोरमणी पौडेलको नेतृत्वमा बनेको सरकार यतिबेला प्रदेशका जनताको भावना अनुरूप योजनाबद्र रुपमा विकास निर्माण, जनसेवा र सुशासन कायम गर्दै प्रदेश सरकारको महत्वलाई स्थापीत गर्दै अगढि बढ्नु पर्नेमा निकै सुप्त रहन पुग्नुमा मुख्यमन्त्री स्वयम्मा दिशाविहिन, निर्णय विहिन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रिपरिषदका सदस्यको सल्लाह सुझाव, पार्टीको संसदीय दलको सल्लाह सुझावलाई विल्कुलै वेवास्ता गर्दै अगाडि बढेको र मुख्यमन्त्रीकै कारण जनताप्रति सरकार जवाफदेहीविहिन बन्दै जान लागेको कारण यहि नेतृत्वमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसक्ने निष्कर्ष सहित आजैका मितिबाट लाग हने गरि राजीनामा दिएका छौं ।’

उनीहरुले मुलुकको राजनीति र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि आइपरेको अकल्पनीय संकटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएका राजनीतिक उपलब्धि र पार्टी एकतालाई बचाउन आफूहरु प्रतिबद्ध र सक्रिय रहने बताएका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome