सोमबार, ११ आश्विन २०७८
सोमबार, ११ आश्विन २०७८

IT Training Nepal

अध्यक्ष पद चाहिए महाधिवेशनबाट जितेर आउन दाहाल-नेपाललाई ओलीको चुनौती

१६ पुष, २०७७ ०८:३५ मा प्रकाशित

571 पटक पढिएको

prime minister of nepal kp oli

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन्। संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीले बुधबार बबरमहलमा आफू नेतृत्वको नेकपाका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संसद्को ६४ प्रतिशत सांसदको सर्वसम्मत दलका नेता आफू रहेको र त्यो सर्वसम्मत दलका नेताले गरेको निर्णयलाई बाँकी ३८ प्रतिशतले उल्ट्याएर सरकार बनाउने विकल्प दिन नसक्ने बताएका हुन्।

उनले अध्यक्ष पद चाहिने भए महाधिवेशनबाट निर्वाचनमा प्रतिस्पर्धा गरी जितेर आउन पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई चुनौती दिए। उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै निर्वाचनमा आएर प्रतिस्पर्धामा भाग लिन आग्रह गरे।

ओलीको सम्बोधनका मुख्य अंश

मैले प्रचण्डजीसँग प्रस्ताव राखें। तपाईं कांग्रेससँग मिलेर चुनाव लडेको थाहा छ हामीलाई, छोरी जिताउन। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्रको धुजाधुजा पार्नु। त्यसका लागि तपाईं कांग्रेससँग जानुभएको थियो। खासै उपलब्धि भएन। हामी मिलेर अगाडि जाऔं। हाम्रा संविधान सर्वोच्चताका निम्ति होस्, हाम्रा शान्तिपूर्ण संघर्षको कार्यदिशामा सहमत भइसकेपछि अलग भएर बस्नुपर्ने अवस्था छैन। निर्वाचनमा मिलेर जाने प्रस्ताव उहाँलाई असाध्यै राम्रो लाग्यो। सुनौं सुनौं लाग्यो। अझ मैले भन्दिएँ, भोलि मिल्नै पर्ने भएपछि ४० प्रतिशत लिनुस्। उहाँलाई साह्रै सुन्दर कुरा लाग्यो। हामीले एकताबद्ध भएर निर्वाचन लड्यौं। तपाईंहरूलाई थाहा छ, बहादुर भवनबाट मंसिर २४ गते आएको प्रतिनिधिसभा निर्वाचनको नतिजा राष्ट्रपति भवन पुग्न फागुन २ गतेसम्म लाग्यो। पैदल हिँडेर जान १० मिनेटको बाटो, सवा २ महिना लाग्यो कम्तीमा। मैले हेरिरहेको छु के पाकिरहेको छ खिचडी ? त्यतिबेला पनि निर्वाचन मसँग मिलेर लड्ने, ४० प्रतिशत लिएर लड्ने, कमला–कमला, मीठा–मीठा छानेर खाने अनि सरकार बनाउन कांग्रेससँग वार्ता गर्ने ? र, हामीसँग बार्गेनिङ गर्ने ? मलाई पाँच वर्ष प्रधानमन्त्री दिन्छु भनेको छ। लाज लाग्नुपर्ने होइन ? वामपन्थीसँग मिलेर निर्वाचन लड्ने, दक्षिणपन्थीसँग मिलेर सरकार बनाउने ? कस्तो अचम्मको तरिका हो उहाँहरूको ?

मैले हेरिरहेको छु, के पाकिरहेको छ खिचडी ? जहिले पनि म मित्रताले अँगालो हाल्छु, उहाँ (प्रचण्ड) धृतराष्ट्रले जस्तो अँगालो हाल्नुहुन्छ। अँगालो त अँगालो नै मारेको हो, धृतराष्ट्रले पनि अँगालो नै मारेको हो। हाम्रो त्यही चलिरहेको छ। उहाँको ध्यान कसरी कब्जा गर्ने, कसरी हत्याउने ? त्यो मात्रै हँुदो रहेछ। यी तीन वर्षमा मेरा डोब साबुनका धेरै डल्लाहरू सकिएका छन्। धेरै स्याम्पु खर्च भयो। ड्रमका ड्रम पानी, ट्यांकीका ट्यांकी पानी खत्तम भयो, उहाँलाई धुँदाधुँदा। साबुन लगायो, पखाल्यो जस्ताको तस्तै। अन्तिममा तपाईंहरूले देखिहाल्नुभयो के हुँदो रहेछ।

उहाँहरू बहुमत छ भन्दै हुनुहुन्छ, केको बहुमत ? पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ? थाहा थियो नि माधव गुट छ। फेरि प्रचण्ड गुट। उसलाई उत्तिकै गुट दिँदाखेरी दुइटा गुट मिल्दा बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ? अनि यति ५५–५६ वर्ष राजनीति गरेको, ५० वर्षदेखि एउटा नयाँ आन्दोलन थालेको मान्छेलाई यतिका तिकडम, उनीहरूले औंलामा थुक लगाएर यस्सो, मैले नबुझेजस्तो गरी चुप लागेर बसेको, उनीहरू यता औंलामा देख्यौं, कस्तो जादु हँुदो रहेछ, अर्काे औंलामा देख्यौं कस्तो जादु हुँदो रहेछ। यस्तो जादु उहाँहरूले धेरै देखाउनुभयो। म ए हो भन्दै बसें। तर, मैले देखेको छु औंला चस्सचस्स। उहाँहरूलाई मैले दिएको त्यो संख्या एकताका लागि दिएको थिएँ, एकीकरणका लागि दिएको थिएँ। यो देश बनाउनका लागि दिएको थिएँ। संविधान कार्यान्वयन गर्नका लागि दिएको थिएँ। स्थायित्व, स्थिरताका लागि दिएको थिएँ। तर, उहाँहरूले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो। मान पाइनँ मैले (नेपालको नक्कल गर्दै) त्यसैका लागि थियो ?

कति पटक सम्झौता गर्ने ? मेरो एउटा ब्रिफकेस भरिएको छ प्रचण्डजीसँग सम्झौता गर्दा। कति वटा सम्झौता गर्ने ? आज सम्झौता गर्‍यो भोलिपल्ट काम छैन। फेरि एउटा सम्झौता गर्‍यो अर्काे दिन काँचै हुने। तपाईंहरूले सुन्नुभयो होला। एक दिन आउनुभयो आधा–आधा गर्ने भनेको थियो, तपाईंंले नै चलाउनुस् प्रधानमन्त्री, जनताले स्थायित्व चाहेका छन्, तपाईं नै प्रधानमन्त्री हुनुपर्छ भन्ने चाहेका छन्। त्यो मैले बुझें, अहिले म प्रधानमन्त्री हुन खोज्दा राम्रो मानेनन् जनताले, मलाई कार्यकारी अध्यक्ष दिएर पार्टीमा काम गर्न दिनुस्, तपाईं नि अध्यक्ष, प्रधानमन्त्री भएर चलाउनुस्, प्रथम अध्यक्ष तपाईं हुँदै हुनुहुन्छ मैले सचिवालयमा प्रस्ताव राख्नुस् भनेँ। उहाँले आफैँ प्रस्ताव राख्नुभयो। मैले हुन्छ भनें। भोलिपल्टै फेरि उहाँले मैले गल्ती गरेछु कि क्या हो कमरेड भन्नुभयो। गल्ती गरेको भए अर्काे दिन सही प्रस्ताव राख्नुस् सच्याउनुस्। के निर्णय चाहिएको छ, त्यो सच्याउनुस्। महाधिवेशन अलिक अगाडि गर्नुपर्‍यो। जहिले सकिन्छ त्यहिले गरौं न त भनेपछि गत वर्ष माघ १५ देखि १९ सम्म भएको बैठकले ०७७ चैत २५ देखि ३० सम्म गर्ने निर्णय गर्‍यो। म बैठकमा पनि बसेको थिइनँ, उद्घाटनमा आएँ, समापनमा आएँ। बाँकी उहाँले चलाउनुभएको हो। उहाँले नै सबै पास गराएको। फेरि पास भएपछि विधान संशोधन गरियो, केन्द्रीय समितिबाट पारित गरिसकियो, उहाँहरू अर्काे कुरा गर्न थाल्नुभयो। पदका लागि मात्र लडाइँ गर्नुभयो।

सरकार असफल भयो भनेर कराको कराई गर्नुहुन्छ। संवैधानिक परिषद्को बैठक बस्न उहाँहरू मान्दै मान्नुभएन। अन्तिममा मैले आजित भएर अध्यादेश निकालेँ। त्यसपछि अब मान्छु, खुरुखुरु सहमतिसाथ गर्ने भन्नुभयो। फिर्ता लिनुस् भन्नुभयो। फेरि भोलिपल्टबाट छैन। फेरि मैले अध्यादेश जारी गर्नै पर्ने भयो। उहाँहरू कपटपूर्ण ढंगले प्रस्तुत हुनुभयो। उहाँहरू ममाथि अविश्वासको प्रस्ताव, राष्ट्रपतिमाथि महाभियोगको प्रस्ताव, अरू विभिन्न संघसंस्थामाथि महाभियोगको प्रस्ताव। यो लोकतान्त्रिक संस्थाहरूको मर्यादा केही नराख्ने ? यो लोकतन्त्र, गणतन्त्र भन्ने नै ठीक रहनेछ, कामै नलाग्ने व्यवस्था रहेछ भन्ने। अहिले पनि भन्नुहुन्छ खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ। अरू कसैले सुन्लान् कि भनेर यसो कोेही छ कि भनेर हेर्नुहुन्छ फेरि।

–उहाँ अहिले महान् परिवर्तनकारी, शान्तिवादी, जनताका पक्षपाती देखिनुभएको छ। उहाँले युवालाई सेन्टिमेन्टमा ल्याएर आन्दोलनमा होमेर कत्तिका हात छैनन्, कत्तिका खुट्टा छैनन्, कति शरीरमा गोली बोकेर कत्तिका कम्मरका अड्डी खुस्केका छन्। बाँचिएका छन्। विस्तरा परिएको छ। त्यस्तो जिन्दगी बिताउन कति कष्टकर हुन्छ उहाँलाई के थाहा ? उहाँ त आफ्नो पदका लागि मरिमेट्नुभएको छ। मैले धेरै भन्नु पर्दैन। त्यही उहाँको आत्मकेन्द्रित स्वार्थी प्रवृत्तिका कारण उहाँ देशप्रति अत्यन्त गैरजिम्मेवार हुनुहुन्छ। हिजो आफूलाई साथ दिने साथीहरू छैनन्। लड्ने बेला युवाहरू खोजेर लडाउनुभयो। म तपाईंहरूलाई सम्झाउन चाहन्छु, लोकेन्द्र विष्ट आन्दोलन नै छाडेर कृषिमा लाग्नुपर्ने अवस्था थिएन। तर, त्यो योद्धाको मन नै उहाँले भाचिदिनुभएको छ। कहिले कालो धान उमार्न जानुहुन्छ, कहिले ड्रागन फ्रुट उमार्न जानुहुन्छ। हिजो उहाँलाई कालीबहादुर खामहरू चाहिन्थ्यो, आज किन चाहिँदैनन् ? खोइ कहाँ छन् कालीबहादुर खामहरू ? हिजो उहाँलाई बचाउन, जिताउन ज्यान दिने हजारौं परिवारको अवस्था के छ ? बेसहारा भएका बाआमाको चिन्ता उहाँलाई छ ? उहाँका परिवारका नातागोता म धेरै भन्न चाहन्नँ। तपाईंहरूले नै देख्नुभएको छ।

माधव नेपालका बारेमा खास मलाई टिप्पणी गर्नुपर्ने छैन। किनकि उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता। उहाँ कार्यकर्ता हुन जानुभएको रहेछ। (नक्कल गर्दै) मलाई पदको लोभ छैन, म पदालोलुप होइन तर मलाई उधारो आश्वासन चाहिँदैन। उधारो म पत्याउँदिनँ। हातहाती चाहिन्छ। नगद के रहेछ भनेको त द्वितीय अध्यक्ष रहेछ। एउटा खास परिस्थितिमा हामीले दुई अध्यक्ष बनाएका थियौं। एमालेको अध्यक्ष, माओवादीको अध्यक्ष दुई मिलाएर बनायौं। आन्दोलनलाई एकीकृत बनाउन बनाएका थियौं, दुई अध्यक्ष। आन्दोलन फुटाउन पनि दुई–तीनवटा अध्यक्ष चाहिन्छ ? जुटाउन पो हामीले बनाएको, फुटाउन पनि दुई–तीन वटा अध्यक्ष किन चाहियो ? मन भनेको अचम्मकै हुने रहेछ, न सभापति हुन पाउने ? सभापति पनि प्रचण्डले चलाउने, छेउमा बस्न पाएकै थियो। फेरि सभापति अध्यक्ष नै नभई नहुने किन हो ? उहाँको बारेमा म कुनै कमेन्ट गर्दिनँ। बिचरा दुखित मन बनाउनुभएको छ।

उहाँहरू वैशाखपछि ओली सकिन्छ भन्नुहुन्छ। उहाँहरू भविष्यवाणी पनि कस्तो नमिल्दो–नमिल्दो खालको गर्नुहुन्छ भने पोहोर म बिरामी हुँदा म मरिहाल्छ भन्नुहुन्थ्यो। त्यो पनि मिलेन। पोहोर परार म बिरामी परें बैंकक गएँ, काठको बाकसमा फर्किन्छ भन्नुभयो। म त प्लनेको सिटमै बसेर आएँ। अस्ति म आकस्मिक रूपमा इन्फेक्सन भएँ, अप्रेसन गर्नुपर्ने भयो। अप्रेसन जटिल हुन्छ अब गयो, गयो (हात हल्लाउँदै) भन्ने थियो। उहाँहरूले भविष्यवाणी कस्तो–कस्तो गर्नुहुन्छ मिल्दै नमिल्ने। म मर्छु एकदिन। उहाँहरूको आकांक्षा पूरा हुन्छ एकदिन। कसको अगाडि पछाडि हुन्छ प्रकृतिको केही थाहा हुँदैन। तपाईंहरूलाई सुन्न राम्रो लाग्दैन। तर, म मर्छु एक दिन। तर, मान्छे मरोस् भन्ने कामना विरोधीलाई पनि गर्नु सभ्यता होइन। गर्नुहँुदैन। विरोधीको पनि स्वास्थ्यलाभको कामना गरिन्छ। लड्ने हो भने एउटा स्वास्थ्य, मजबुत पाखुरा भएको, राम्रो मसलधारहरूसँगै खेल्न मज्जा आउँछ। त्यसकारण सुस्वास्थ्यको कामना गरिन्छ।

उहाँहरू भन्नुहुन्छ चुनाव हुँदै हुँदैन। वैशाखको चुनावमा केपी ओली पत्तासाप भन्नुभयो अस्ति। चुनाव हँुदै हुन्न पनि भन्नुहुन्छ। वैशाखको चुनावमा केपी ओली पत्तासाप पनि भन्नुहुन्छ। म उहाँहरूलाई भन्छु, तपाईंहरूले पनि केही सिटचाहिँ ल्याउनुहोस् मेरो शुभकामना छ। तर, त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुस्। बेकार सडकमा अलकत्रामा कपडा बिचार गरेर बस्नुस्। घाम लागेका बेला सडकको अलकत्रामा बस्नुहुन्छ, कपडा बिगार्नलाई। अचम्म के भने लोकतन्त्र आइसक्यो। उहाँहरूले नै भनेको होइन, सडकमा अब जानु पर्दैन भनेर। सिगौरी खेलेर हिँड्नुहुन्छ कहिले माइतीघर मण्डलामा, कहिले प्रदर्शनीमार्गमा। एक्लै सिगौरी खेल्दा कही खतरा हुँदैन। चुनावमा भिडेको बेला उहाँहरूलाई थाहा हुन्छ, जनताले मतदान गरेको बेला थाहा हुन्छ। मेरो सुझाव छ, तपाईंहरू पनि दुई–चार सिट जित्नुस्। जित्नु छ भने अहिलेदेखि नै तयारी गर्नुस्।

प्रतिनिधिसभा पुनःस्थापना संविधानले मिल्दैन। संविधानले मिल्ने भए पुनःस्थापना हुन्थ्यो। संविधानले नै मिल्दैन। ६४ प्रतिशत बहुमत भएको सर्वसम्मत दलका नेता हुँ म। अहिले संसद् विघटन भएपछि को कता छ ? के छ ? त्यो भिन्दै कुरा हो। जतिबेला मैले संसद् विघटनको कुरा गरें, त्यतिबेला संसद्को ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म। त्यस अर्थमा मैले सिफारिस गरेको छु निर्वाचन। अब बाँकी ३६ प्रतिशतमा विकल्प बन्छ र सरकार बनाउन ? विकल्प भनेको ५१ प्रतिशत चाहिन्छ। सरकार बन्ने विकल्प छैन भने संसद् पुनःस्थापना केका लागि ? अस्थिरताका लागि, तमासाका लागि हुन्छ ? संसद् पुनःस्थापनाको सम्भावना छैन। संविधानले होइन, हाम्रा कतिपय वकिल सापहरू राजनीतिक आग्रहका आधारमा संविधानमा विघटन लेखेको छैन भन्छन्। धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नेछ र नयाँ निर्वाचनको मिति तोक्नेछ। ५ वर्षअगाडि संसद् विघटन हुनै सक्दैन भन्नुहुन्छ उहाँहरू। धारा ८५ ले भन्छ, अगावै विघटन भएबाहेक संसद् अवधि ५ वर्षको हुनेछ। अनि राजनीतिक आग्रह देखाएर हुन्छ ? संविधानमा के व्यवस्था छ हेर्नुपर्‍यो नि ? दुनियाको अभ्यास हेर्नुपर्‍यो।

–चुनाव गर्दा के संविधान जान्छ ? चुनाव गराउँदा के गणतन्त्र जान्छ ? तपाईंहरू भन्नुस् त ? चुनाव गर्दा लोकतन्त्र जान्छ ? केही पनि जाँदैन। चुनाव गर्दा लोकतन्त्र मजबुत हुन्छ। जनताले आफ्नो ताजा फैसला दिन्छन्। म साथीहरूलाई भन्न चाहन्छु, तपाईंहरूले यो देशलाई अन्धकारमा फस्न नदिने शक्तिहरूलाई हेर्नुपर्छ। हामीले अलमलमा फस्न दिनु हँुदैन। हामी नभएको भए संविधान बन्दैनथ्यो। तपाईं हामीले देखेका छैनौं र ? हामी नभएको भए नाकाबन्दीको डटेर सामना कसले गर्न सक्थ्यो ? कसैले पनि सक्दैनथ्यो। गणतन्त्र मास्न सक्ने, लोकतन्त्र खोस्न सक्ने तागत अब कोही हुन सक्छ ? सक्दैन। अब चुनाव हुन्छ। केही मान्छेहरू किन उत्ताउलिएका हुन् मलाई थाहा छैन। चुनाव घोषणा गरेपछि प्रचण्डलाई मैले भनें मिलेर चुनावमा जाऔं। हाम्रा अन्तरविरोध थिए भने पनि मिलेर चुनावमा जाऔं। चुनावले त्यसलाई टुंग्याउँछ। उहाँ मान्नुभएन। उहाँहरूले केपी ओलीलाई पार्टीबाट निकालेको घोषणा गर्नुभयो। केपी ओलीलाई उहाँहरूले दिएको पार्टी सदस्यता हो र ?

–म जेलमा हुँदा एउटा आन्दोलन चलिरहेको बेला आन्दोलनमा सरिक भएर हो कि तमासा हेरेर हो, एउटा कलिलो केटोलाई पनि समातेर ल्याएको थियो। मैले भेट्टाएको थिएँ। सम्झाएर बुझाएर राजनीतिकरण गरेर वामपन्थी बनाएर अलिक अलिक काममा लगाएँ। विद्यार्थी नेता बनाइदिएँ। सुदूरपश्चिमको पनि परेछ। म पूर्णकालीन भएको ५ वर्ष भएको थियो, भूमिगत भएको ३ वर्ष भएको थियो। मोरङ आउँदा महेन्द्र मोरङ कलेजमा पढिरहेको एउटा विद्यार्थी भेटेँ। इमानदार विद्यार्थी, सहयोगी भावनाको विद्यार्थी भेटें, राजनीतिमा लाग, देशमा परिवर्तन ल्याउनुपर्छ भने। सम्झाएँ, उत्साहित गरेँ प्रेरित गरेँ, त्यो मान्छे, एक-डेढ वर्षपछि राजनीतिमा प्रवेश गर्‍यो। पहिले इमानदार थियो, सोझो थियो। बैंकमा काम गर्ने मान्छे, पछि आदत के बनेछ भने उधारो होइन। पछि कपट पसेछ। पहिलेजस्तो छैन, त्यो मान्छे। मैले धेरै केही नभनौं।

–तपाईंहरू आउनुस्, स्वस्थ निर्वाचन हुनेछ, धाँधलीरहित निर्वाचन हुनेछ। पारदर्शी निर्वाचन हुनेछ। बत्ती निभाइने छैन, मतपत्र च्यातिने छैन। चुनावमा आउनुस्। तर, मतपत्र च्यात्छु र बत्ती निभाउँछु भन्ठान्नुहुन्छ भने त्यो हुन दिनेछैन। बत्ती निभाउन पाइँदैन। बाक्सा साट्न पाइँदैन। मतपत्र च्यात्न पाइँदैन। यस्तो तमासा लोकतन्त्रमा गर्न पाइँदैन। स्वस्छ निर्वाचन हुनुपर्छ। स्वच्छ निर्वाचन शान्तिपूर्ण ढंगले चुनाव हुन्छ नडराउनुस्। आउनुस्। अब तपाईंले बबुर रोपेर सुन्तला खोज्नुहुन्छ। बबुर मरुभूमिमा काँडा भएको हुन्छ, त्यसमा चरा पनि बस्दैन। अनि बबुरो रुखो ठाउँमा हुन्छ। त्यो बबुर रोपेर सुन्तला खोजेर हुन्छ ? उहाँहरूले पनि जिन्दगीभरि बबुर रोप्नुभएको छ। अनि चुनावमा सुन्तला खोजेर हुन्छ ?

केपी ओली तानाशाह भन्नुभएको छ, उहाँहरूले एकपटक महाधिवेशन नगर्ने, एकपटक प्रतिस्पर्धा नगर्ने ? प्रतिस्पर्धा गर्नुपर्‍यो भने डराउने, प्रतिस्पर्धा गर्नुपर्‍यो भने हार्ने अनि हारेपछि मतपत्र च्यात्ने, त्यो इतिहासबाट आएको हो केपी ओली ? केपी ओली चुनावबाट आउँछ। संसदीय दलको नेता चुनावबाट भएको हो। झलनाथ खनालजीसँग चुनाव लडेर म संसदीय दलको नेता छानिएको थिएँ। पछिल्लो पटक कसैले पनि लड्ने आँट गरेनन्। माधव नेपालजीसँग नवौं महाधिवेशनमा चुनाव लडेर अध्यक्ष भएको हुँ। म आँखा देख्दैनथें। मेरो आँखामा फुलो परेको थियो। उहाँहरूले प्रचार गर्नुभयो आँखा देख्दैन, उहाँहरूले प्रचार गर्नुभयो म हिँड्न सक्दिनँ। हो, म हिँड्न सक्ने थिइनँ। तर, देश चलाउने मेरो जोश थियो। त्यो अस्पतालबाट सीधै आएर महाधिवेशनमा बसेको थिएँ। माधव नेपालसँग चुनाव लडेको थिइनँ। समातेर हिँडनुपर्ने अवस्थामा थिएँ। त्यो हालतमा तपाईंहरूले चुनाव जिताउनुभयो। फेरि पनि उहाँहरू चुनावमा आउन तयार हुनुभएन। उहाँहरू मागिरहनुभएको थियो, अध्यक्ष चाहियो। अध्यक्ष चाहिने हो भने ठीक छ, आउनुस् चुनावमा लड्न। ल म छाडिदिन्छु। चुनावमा आउनुस् भन्दा पनि आउन डराउनुभयो। दुई ठाउँबाट चुनाव हार्ने, स्टिरिङबाट फुत्त संविधानसभामा आउने, जम्प गर्दै संवैधानिक समितिमा जाने, फेरि अर्को जम्प गर्दै फुत्त प्रधानमन्त्री बन्ने। कस्तो मज्जा, दुनियाँ छक्क। त्यस्तो लोकतन्त्र खोज्नुहुन्छ उहाँहरू। मलाई धम्क्याएर प्रधानमन्त्री चाहिने। कसरी ती झुटा आरोपपत्रका पुलिन्दा पेस गरेर। म उहाँहरूलाई कुनै लाञ्छना लगाइरहन चाहन्नँ किनभने कसैले नदेखेको भए पो त्यसको नाकमा कालो लागेछ भनेर मैले भन्नुपर्ने। सबैले देखेको नाकमा मैले भनिरहनुपर्छ र ?

झलनाथ खनालजीले भाषण गर्नुभयो। धरहरा केपी ओलीले बनाएको हो र ? इन्जिनियरले बनाएको भनेर। उहाँलाई के थाहा रहेनछ भने इन्जिनियरले डकर्मीको काम गर्दैन, त्यो त नापजाँच गर्ने मात्र हो। डकर्मीले बनाएको हो। इन्जिनियरले इँटा लगाउँछ, के गराउँछ भन्ने लागेको रहेछ उहाँलाई। कहिल्यै नजिक गएर हेरेको भए पो। कसले काम गर्छ भनेर हेर्नुपर्‍यो नि थाहा पाउनुपर्‍यो नि !


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome