मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

न्याय माग्दै नेपाली सेनाको पूर्वी पृतनामा प्रदर्शन र धर्ना

१६ पुष, २०७७ १७:२९ मा प्रकाशित

486 पटक पढिएको

protest in jhumka barrage

इटहरी – झुम्काका पर्शुराम भट्टराईको हत्या ब्यारेकभित्रै गरिएको भन्दै उनको परिवार र आफन्तले नेपाली सेनाको पूर्वी पृतनामा धर्ना दिएका छन् ।

सेनाको धनकुटा २ नं. बाहिनीमा हुद्धा पदमा कार्यरत भट्टराईलाई ब्यारेक भित्रकै सहकर्मीले हत्या गरेको तर लडेर मृत्यु भएको भन्दै ढाँटेको आरोप परिवारको छ । परिवार र आफन्तले ब्यारेक अघि धर्ना दिएको यो दोस्रो पटक हो ।

प्रदर्शनका क्रममा मृतक भट्टराईकी श्रीमती, बुवालगायत आफन्तले सरकार विरोधी प्लेकार्डसमेत बोकेका थिए । सरकारले नै हत्यारालाई बचाएको आरोप उनीहरुको छ । दोषी सैनिकलाई हदैसम्म कारवाही गर्न माग गरेका छन् ।

३८ वर्षीय भट्टराईको गत जेठ १२ गते विराटनगरस्थित बीएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई जेठ ६ गते नै त्यहाँ ल्याइएको जानकारी बाहिनीका कर्मचारीले परिवारलाई दिएका थिए । तर गुपचुपमा अपरेशन र पोष्टमार्टम गरिएको श्रीमती कमला बोगटीको आरोप छ ।

‘धनकुटाबाट अस्पताल पुर्याएपछि मात्र थाहा पायौं,’ बोगटीले भनिन्, ‘टाउको फुटेको, आँखामा निलडाम, हात खुट्टामा चोटपटक थियो, लड्दा यतिसम्म चोट लाग्दै लाग्दैन ।’

घटनाको प्रभावकारी अनुसन्धानसमेत नगरी लडेर मरेको भनेर ब्यारेकले जवाफ दिएको उनको आरोप छ । जेठमा भएको मृत्युको बारेमा परिवारले गत मंसिरदेखि मात्र आवाज उठाउन थालेको थियो । सेनाका अधिकारीले आवाज उठाए पेन्सन पट्टा नै रोकिने भन्दै डर देखाएकोले गर्दा आफूहरु चुप बसेको उनले बताइन् । असोजदेखि पेन्सन पाउन थालेपछि भट्टराई परिवारले न्यायका लागि पहल थालेको हो ।

त्यसो त घटनालगत्तै जाहेरी दिन खोजे पनि प्रहरीले जाहेरी लिन चाहेको थिएन । जिल्ला प्रहरी कार्यालय धनकुटाले जाहेरी नलिएपछि गत जेठ १३ गते सरकारी वकिलको कार्यालयमार्फत् उजुरी गरिएको थियो । पछि पुरक उजुरी भने हुलाकबाट पठाएको छ । जसमा बाहिनीपति यामप्रसाद ढकाल, मेजर रामकुमार बस्नेत, पुर्वसुमे तुन्जिङ शेर्पा, बाबुराम कार्की, सुवेदार दिलबहादुर कार्कीलगायत १४ जनालाई कसुरदार बनाइएको छ ।

धनकुटा प्रहरी प्रमुख गोविन्द अधिकारीले भने आफू आउनुअघि नै एउटा उजुरी दर्ता भएर अनुसन्धान भइरहेको र आफूले थप बुझिरहेको बताएका छन् । ब्यारेकभित्रको घटनामा ब्यारेकले पनि आफ्नै तरिकाले अनुसन्धान गरिरहेको र ज्यान केस भएकोले सिभिल कोर्टले पनि हेर्ने भएकोले आफूहरुले पनि अनुसन्धान गरिरहेको बताए ।

यता नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले भने भट्टराईको मृत्यु रक्सी खाएपछि लडेर नै भएको आन्तरिक छानबिनको निष्कर्ष रहेको बताउँदै आएका छन् । उनले परिवारले भनेजस्तो घटना नभएको दाबी गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome