शुक्रबार, ८ आश्विन २०७८
शुक्रबार, ८ आश्विन २०७८

IT Training Nepal

केही नेताहरुको जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तियो : उपप्रधानमन्त्री पोखरेल

१८ पुष, २०७७ १६:३८ मा प्रकाशित

553 पटक पढिएको

minister ishwor pokharel

काठमाडौँ – केपी ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले केही नेताहरुको जंगली महत्वाकांक्षाका कारण पार्टीमा दुर्भाग्य निम्तिएको बताएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहलाई लक्षित गर्दै नेता पोखरेलले यस्तो आरोप लगाएका हुन् । साथै संसद विघटन पनि नेपाल प्रचण्डका कारण नै निम्तिएको उनले बताए ।

दाहाल र नेपाल समूहमा देश बनाउने र संकट समाधान गर्नेबारे छलफल नभएर ‘पावर सेयरिङ’बारे छलफल हुने गरेको दावी गरे । साथै उक्त समूहले राष्ट्रिय महत्वका बारे छलफल गर्नुपर्नेमा कचिंगल मात्रै निकाल्ने गरेको उनले बताए ।

यस्तै प्रचण्ड माधव समूहले गम्भीर षड्यन्त्रको तानाबाना बुन्दै अविस्वासको प्रस्तावको तयारी गरेको पनि नेता पोखरेलले बताए । साथै विपक्षी समूहले एकताविरोधी हर्कत गरेको पनि उनको आरोप थियो ।

नेता पोखरेलले भनेका छन्, ‘अहिलेको परिणाम आउनुमा अवसरवादको लागि लज्जावोध नगर्ने, जता पनि छलाङ गर्ने र जुनसुकै रुप लिन तयार हुने प्रचण्डको कारण यस्तो अवस्था आएको हो । अर्को कारण भनेको कुण्ठाको भारी बोकेर हल न चल भएका कारण यस्तो दुर्भाग्यपूर्ण अवस्था आएको बताए ।’

यस्तै पोखरेलले आफूहरुको लडाइँ पार्टीभित्र मात्रै नभएर बाहिरका कम्युनिस्ट विरोधीहरुविरुद्ध पनि भएको बताए । अहिलेको अवस्थालाई नग्न उत्कर्ष भएको पनि उनको भनाइ थियो ।

प्रचण्ड र नेपालका कारण पार्टी विभाजनको अवस्थामा

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको आरोप लगाएका छन्। उनले दुवै नेताले नेतृत्वमा पुग्नका लागि अस्वाभाविक ढङ्गले चलखेल गर्दै केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउनका षड्यन्त्र गरेका कारण पार्टी विभाजनको स्थितिमा पुगेको बताए।

मजदूर विशेष जिल्ला कमिटीले यहाँ आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रचण्डले पार्टी कब्जा गर्ने गरी गतिविधि सञ्चालन गरेपछि गम्भीर समस्या देखा परेको उल्लेख गरे। ‘प्रचण्डले निर्वाचनका बेलादेखि नै सहमति उल्लङ्घन गर्दै आउनुभएको हो’, उनले भने, ‘एउटै चुनाव चिन्हमा निर्वाचनमा जाने सहमति कार्यान्वयन नगर्दा १० लाख मत खेर जान पुग्यो।’

उनले आफूहरु अझै पनि एकताका पक्षमा रहेको उल्लेख गर्दै एकता कमजोर पार्न खोज्ने तत्वलाई उचित ढङ्गले जवाफ दिन तयार रहेको चेतवानी दिए। प्रम ओलीले राम्रा काम अघि सार्दा आफूहरु पछि पर्ने डरले प्रचण्ड–नेपाल समूहले निरन्तर विरोध र अवरोध सिर्जना गरेको उनको आरोप छ।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्रीले राष्ट्रियता र स्वाधीनताका पक्षमा दृढता पूर्वक उभिंदै नाकाबन्दीको सामना, चीनसँग पारवहन सम्झौता र भारतले अतिक्रमण गरेको भूमि समेटी नयाँ नक्सा जारीलगायतका थुप्रै महत्वपूर्ण काम गर्दा सो समूहलाई असह्य भएको बताए।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्ड–नेपाल समूहले पार्टी र सत्ता कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दा संसद् विघटनको अवस्था सिर्जना भएको बताए। उनले प्रतिपक्षले भन्दा पार्टीभित्रबाटै विरोध हुँदा सरकार सञ्चालनमा समस्या सिर्जना भएको उल्लेख गरे।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome