शनिबार, ६ कार्तिक २०७८
शनिबार, ६ कार्तिक २०७८

IT Training Nepal

मोरङमा नेकपाका दुई समूहको आ-आफ्नै पार्टी कार्यालय

१९ पुष, २०७७ १७:२९ मा प्रकाशित

673 पटक पढिएको

ncp morang

विराटनगर – संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले मोरङमा छुट्टा–छुट्टै पार्टी कार्यालय प्रयोग गर्न थालेका छन्। विभिन्न स्थानमा पार्टी कार्यालय सम्बन्धी विवाद बाहिर आइरहेका बेलामा मोरङमा भने दुवै समूहले आ-आफ्नै कार्यालयमार्फत गतिविधि गर्न थालेका हुन्।

एकअर्काको विरोधमा उत्रिए पनि पार्टी कार्यालय सम्बन्धी नेकपाको विवाद भने तत्काललाई मोरङमा देखिएको छैन। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको पार्टी कार्यालय प्रयोग गरिरहेको छ।

कार्यालय रहेको मदन भण्डारी स्मृति भवन तत्कालीन नेकपा एमालेले प्रयोग गर्दै आएको थियो। एमाले र तत्कालीन माओवादी एकीकरणसँगै नेकपा निर्माण भएपछि जिल्ला पार्टी कार्यालयका रुपमा त्यही भवनको प्रयोग हुँदै आएको थियो। सत्तारुढ दलको सम्पूर्ण कामकारबाही, भेला, बैठक लगायतका गतिविधी त्यहीँबाट हुन्थ्यो।

पार्टी विघटनपछि तत्कालीन माओवादीले प्रयोग गरिरहेको विराटनगरको तीनपैनीस्थित पार्टी कार्यालयबाट पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपाल समूहले आफ्ना गतिविधी अघि बढाइरहेको छ। एकीकरणअघि माओवादी केन्द्रले भाडामा लिएर सञ्चालन गरिरहेको कार्यालयलाई नेकपा निर्माणपछि भने पार्टीको प्रदेश १ सम्पर्क कार्यालय बनाइएको थियो।

अहिले भने दुवै समूहले अलगअलग पार्टी कार्यालय प्रयोग गर्न थालेका हुन्। स्रोतका अनुसार पार्टीमा विभाजन आएपछि भने दाहाल–नेपाल समूह पाञ्चालीस्थित कार्यालय र ओली समूह तीनपैनीको कार्यालय पुगेको छैन।

पार्टी कार्यालयका लागि आफ्नो छुट्टै भवन रहेकाले तीनपैनीस्थित कार्यालयमा जान आवश्यक नरहेको ओली समूहको तर्क छ। दल सम्बन्धी आधिकारिकता प्राप्त नभइसकेका कारण आफूहरु पनि पाञ्चाली जान छाडेको दाहाल–नेपाल समूहले स्पष्ट पारेको छ। तर नेकपाको नाममा भएका सबै सम्पत्ति आफ्नै पक्षमा आउने यो समूहको दाबी छ।

‘नेकपाको केन्द्रमा विभाजन आएपछि त्यसको असर तलसम्म परेको छ। दुवै समूहका नेताबीच भेटघाट, गफगाफ र चियापान एवं सम्वाद पनि पातलिएको छ’, स्रोतले भन्यो, ‘एउटै पार्टी कार्यालयमा दाबी गर्दा झडप भएर अप्रीय अवस्था आउनसक्ने भएकाले छुट्टा–छुट्टै कार्यालयको प्रयोग गर्न थालिएको हो। सडकमा र बाहिर एकअर्काको विरोध गरे पनि पार्टी कार्यालय प्रयोगमा भने विवेक पुर्‍याइएको छ।’

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल भने दाहाल–नेपाल समूहले पाञ्चालीको कार्यालयमा दाबी प्रस्तुत गर्न नमिल्ने बताउछन्। संविधानसभा सदस्यसमेत रहेका पोखरेल ओली समूहका पूर्व एमाले नेता हुन्। सहजताका हिसाबले सबैले नजिकको कार्यालय प्रयोग गरिरहेको उनको तर्क छ।

विभाजन भइसकेपछि भने नेकपाको नाममा रहेको पार्टी कार्यालय छुट्टिएर जानेकोभन्दा पनि माउ पार्टी (संस्थापन पक्ष) कै हुने उनले बताए। ‘पहिलेदेखिनै एमालेले प्रयोग गरिरहेका कारण यो कार्यालय हाम्रो हो,’ अध्यक्ष पोखरेलले भने, ‘राजनीतिक द्धन्द्ध भए पनि प्राविधिक रुपमा समस्या नभएकाले सबै आआफ्नो ढंगले चलेका छौं।’ संस्थापन पक्ष आफूहरु भएकाले पार्टी कार्यालयमा दाहाल–नेपाल समूहले दाबी गर्नुको अर्थ नभएको उनको भनाइ छ।

नेकपा केन्द्रीय सदस्य महेश रेग्मी विघटनले वैधानिकता पाएपछि पार्टी कार्यालय बहुमत रहेकाको हुने बताउँछन्। उनी दाहाल–नेपाल समूहका नेता हुन्। ‘आधिकारिक रुपमा पार्टीमा बहुमत रहेकाले पार्टी कार्यालय हाम्रो हो’, उनले भने, ‘हिजो नेकपा एमालेको भए पनि भवनदेखि लिएर सबै सम्पत्ति अहिले नेकपाको हो।’

आफूहरु अहिले कार्यालय सम्बन्धी विवाद निम्त्याउने पक्षमा नरहेको रेग्मीले बताए। उनका अनुसार दाबी गर्दा विवाद, झडप र तोडफोड भएर सम्पत्तिमा क्षति पुग्ने हुँदा कुनै ‘टसल’ गर्ने मनस्थिति छैन। रेग्मीले पाञ्चालीस्थित कार्यालयमा कुनै पनि कार्यक्रम र गतिविधी नगर्ने दुवै पक्षको सहमति अनुसार आफूहरु त्यहाँ नगएको बताए। आफ्नो समूह विधि, पद्धती, अनुसाशन र संविधान मान्ने तथा संयमित, जिम्मेवार र अनुसाशित भएको उनको दाबी छ। पार्टी विभाजन गरेकाले ओली समूहले पाञ्चाली दाबी गर्न नमिल्ने रेग्मीको तर्क छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome