मंगलवार, २ कार्तिक २०७८
मंगलवार, २ कार्तिक २०७८

IT Training Nepal

तीन सांसदले लिए मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

२० पुष, २०७७ ०८:२३ मा प्रकाशित

787 पटक पढिएको

cm dormani poudel

हेटौंडा – बागमती प्रदेशसभाको सातौं अधिवेशनको मिति तय भएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुबै खेमामा प्रदेशसभा सदस्य संख्या जोड घटाउको चलखेल सुरु भएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते बैठक बस्ने निर्णय गरेसँगै प्रधानन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहका सांसद संख्या जोडघटाउमा खुलेर लागेका हुन्।

नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले गतसाता मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको थियो। मुख्यमन्त्रीले विश्वासको मत पाउने प्रधानमन्त्री केपी ओली समूहका सांसदको दाबी छ।

दुबै समूहले आफ्नो पक्षमा नतिजा आउने दाबी गरिरहेको बेला आइतबार ३ सांसदले अविश्वासको प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन्। काठमाडौंबाट निर्वाचित २ जना र चितवनबाट निर्वाचित एक सांसदले आफ्नो समर्थन फिर्ता लिएका हुन्।

काठमाडौं-७ ‘ख’बाट निर्वाचित प्रकाश श्रेष्ठ, काठमाडौं-१० ‘ख’की रमा आलेमगर र चितवन-३ ‘क’का कृष्ण भुर्तेलले हस्ताक्षर फिर्ता लिएका हुन्।

यस सम्बन्धमा प्रतिक्रिया दिँदै बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठले विश्वासको मत दिने तयारी भएको पुष्टि गरे। ‘म र माननीय रमा आले केपी ओली अध्यक्ष रहेको पार्टीको केन्द्रीय समितिमा छौं। केन्द्रीय समितिमा भएको हिसाबले, नैतिक हिसाबले, राजनीतिक हिसाबले र सबै हिसाबले सरकारलाई दिने विश्वासको मत रहन्छ’, उनले भने।

उनले यो विषय ७ गते नै टुंगो लाग्ने बताए। ‘विश्वासको मत लिने दिनसम्म यो विषय फाइनल हुन्छ ’, उनले भने। मुख्यमन्त्रीविरुद्ध खुलेर लागेका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले ७ गतेसम्म उता गएका साथीहरु पनि केही फर्किन सक्ने सम्भावना रहेको बताए। ‘केही साथीहरु मन्त्री बन्ने लोभमा जान सक्छन्, केही साथीहरु फर्किन सक्नुहुन्छ’, उनले भने।

मकवानपुरबाट निर्वाचित सांसद पुलामीले मुख्यमन्त्रीले विश्वासको मत नपाउने दाबी गर्दै भने, ‘उहाँले विश्वासको मत प्राप्त गर्न सक्नुहुन्न। ३३ मा २ जना ३ जना थपेर पुग्दैन, ५६ जना पुग्नुपर्छ। त्यो सम्भावना छैन।’ तर, दुबै खेमामा चलखेल चलिरहेको उनले बताए। ‘नेकपाभित्रको संख्यामा हामी बलियो छौं, कांग्रेससँग विश्वासको मत लिन पनि सक्छन्’, सांसद पुलामीले भने, ‘संख्या पुर्‍याउन दुबै पक्षको प्रयास जारी छ।’

प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरुद्ध हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गर्दै अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन जोड दिएको छ। प्रचण्ड-माधव पक्षले शाक्यलाई दलको नेतासमेत चयन गरिसकेको छ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद छन्। तीमध्ये ४५ जना सांसदले हस्ताक्षर गरेकोमा ३ सांसदले फिर्ता लिएपछि प्रचण्ड-माधव पक्षमा ४२ सांसद रहेका छन्।ओली पक्षमा सभामुख सानुकमार श्रेष्ठसहित ३८ जना देखिएका छन्। केही सांसद अझै स्पष्ट भएर लागेका छैनन्।

अविश्वास प्रस्ताव पारित हुन ५६ जना सांसदले प्रस्तावको पक्षमा मतदान गर्नुपर्छ। प्रचण्ड-माधव पक्ष एक्लैले अविश्वास प्रस्ताव पारित गर्न संख्या अपुग छ। अविश्वास प्रस्ताव पारित हुने वा नहुने सम्बन्धी निर्णय कांग्रेससहित अन्य दलका सांसदमा निर्भर हुने देखिन्छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome