सोमबार, ७ असार २०७८
सोमबार, ७ असार २०७८

IT Training Nepal

आफैँले बनाएको संविधानमा ‘कू’ हुँदा नेम्वाङ भागेको गगनको आरोप

२२ पुष, २०७७ १६:३८ मा प्रकाशित

800 पटक पढिएको

nepali congress leader gagan thapa

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभा विघटनपछि उठेका प्रश्नको जवाफ नदिइ भागेको आरोप लगाएका छन्।

संसद विघटनविरुद्धको मुद्दामाथि सर्वोच्च अदालतमा बुधबार बहस सुरु हुनुअघि नेता थापाले नेम्वाङलाई प्रश्न गर्दै सामाजिक सञ्जालमा लेखका छन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस सुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु, जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभा-समिति अनि कोठादेखि चोटासम्म भएका बहसको बारेमा थाहा छ।’

यो अवस्थामा नेम्वाङ कसैले केही सोध्ला कि भनेर लुकेर बसेको र प्रश्नबाट भागेको आरोप थापाले लगाएका छन्। यस्तै उनले नेम्वाङको भूमिकादेखि दया लागेको टिप्पणी पनि गरेका छन्। थापाले बुधबार ट्वीटरमा लेखेका छन्, ‘उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैँले बनाएको संविधानमा ”कू” हुँदै गर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ।’

संविधानसभाको सदस्य समेत रहेका नेता थापाले संसद विघटन हुँदै गर्दा नेम्वाङ संविधानको पक्षमा उभिन नसकेकोमा दु:ख व्यक्त गरेका थिए। तर सर्वोच्च अदालतको फैसलाप्रति आशा व्यक्त गरेका छन्। थापाले लेखेका छन्, ‘संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।’

यही प्रसंगलाई जोडेर तत्कालीन अध्यक्ष नेम्वाङले प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भन्दै दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

‘अहिले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नै सक्दैन। संविधानमा त हामीले बजेटजस्तै यो दिनमा निर्वाचन गर्ने भनेर राख्न खोजेका थियौँ। तर, यो दिन भनेर राख्दा एकदिन पनि तलमाथि पर्‍यो भने संवैधानिक अप्ठेरो आउँछ भनेर त्यो गरेनौँ,’ नेम्वाङले उक्त भिडियोमा भनेका छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome