आईतवार, ३ आश्विन २०७८
आईतवार, ३ आश्विन २०७८

IT Training Nepal

चिनियाँ कोरोनाभ्याक तथ्यांकमा देखिएभन्दा कम प्रभावकारी

२९ पुष, २०७७ १८:१५ मा प्रकाशित

486 पटक पढिएको

sinovac coronavac

काठमाडौं – चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्राजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।

नयाँ तथ्यांकले यसअघिको तथ्यांकभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ । खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ ।

ब्राजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो ।

बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो । यसले मृतप्रायः कोरोना भाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न सिकाउँछ। यो खोप किन्न इन्डोनेसिया, टर्की र सिङ्गापुर तयार रहेका छन् ।

गत साता ब्रजिलमा परीक्षण गरिरहेको बुटानटान इन्स्टिच्युटका अध्ययनकर्ताहरूले खोप कोभिड-१९ का मध्यमदेखि गम्भीर खालका अवस्थामा ७८ प्रतिशत प्रभावकारी रहेको बताएका थिए । तर मङ्गलवार उनीहरूले सो तथ्यांकमा उपचार आवश्यक नपर्ने सामान्य मध्यम खालका संक्रमण भएका व्यक्तिहरूको तथ्यांक समावेश नगरिएको बताएका छन्।

त्यो तथ्यांक पनि राख्दा यसको प्रभावकारिता ५०.४ प्रतिशतमा झरेको थियो । बुटानटान इन्स्टिच्युटले भने सो खोप उपचार आवश्यक पर्ने मध्यम संक्रमणमा ७८ प्रतिशत र गम्भीर संक्रमणमा शतप्रतिशत प्रभावकारी भएको दाबी गरेको छ ।

सिनोभ्याकको परीक्षणमा फरक देशमा फरक नतिजा देखिएको छ । गत महिना टर्कीका अध्ययनकर्ताहरूले यो ९१.२५ प्रतिशत प्रभावकारी रहेको बताएका थिए भने इन्डोनेसियामा यो ६५.३ प्रतिशत प्रभावकारी पाइएको बताइएको थियो । यी दुवै अन्तिम अवस्थाका परीक्षणका अन्तरिम नतिजा हुन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome