मंगलवार, १२ श्रावण २०७८
मंगलवार, १२ श्रावण २०७८

IT Training Nepal

विप्लवका वार्ता टोली सदस्य ‘कञ्चन’सहित ४ पक्राउ पक्राउ

१ माघ, २०७७ ०९:४९ मा प्रकाशित

771 पटक पढिएको

arrested illustration

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन्। बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ। सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए।

‘सरकारका मानिसहरूसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए। वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्यीय टोली पनि गठन गरेका थियौं। तर, त्यसमध्येकै एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, सम्पर्कमा आएका ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी–यी नेता थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रूपमा सन्देश पुगिसकेको थियो।’

पार्टीभित्रको शक्ति क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकटलगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो। त्यसका लागि पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली उसले बनाएको थियो। उक्त टोलीमा सचिवालय सदस्य बाँस्तोला र केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो सदस्य चिरन पुन सदस्य थिए।

केन्द्रीय समिति बैठकले मंसिर तेस्रो साता वार्ता टोली गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय उसले गोप्य राख्दै आएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूसँग अनौपचारिक सम्पर्कमा रही वार्ता टोली गठन गर्ने र सरकारले पनि वार्ता टोली गठन गरी प्रतिबन्ध फुकुवा गर्दै औपचारिक वार्तामा बोलाउनुपर्ने गरी विभिन्न स्तरका नेताले सन्देश पुर्‍याएका थिए। विगतका सम्पर्क सूत्रहरूका काम सफल हुन नसकेपछि नयाँ शिराबाट फेरि अनौपचारिक तहमा दुवै पक्षले छलफल अघि बढाएका थिए।

प्रधानमन्त्री ओलीनिकट मानिने नेकपाका प्रदेश १ अध्यक्ष देवराज घिमिरेसँग पनि विप्लवका नेताहरूको अनौपचारिक संवाद बढेको थियो। तर, घिमिरेले अनौपचारिक तहमा विप्लवका नेतामार्फत आफूकहाँ वार्ताका लागि तयार रहेको सन्देश आए पनि ठोस रूपमा भने नआएको प्रतिक्रिया दिए। ‘उहाँहरूले वार्ताका लागि तयार भएको सन्देश मलाई पनि पठाउनुभएको थियो’, नेता घिमिरेले भने, ‘तर ठोस रूपमा केही प्रगति भएर आएको विषय थिएन।’ यसअघि ओली नेतृत्वको सरकारले नै समस्या समाधान गर्न सोमप्रसाद पाण्डेको नेतृत्वमा समिति बनाएको थियो। उक्त समितिले अन्य पक्षसँग वार्ता गरी गत वर्ष सरकारलाई प्रतिवेदन बुझाए पनि विप्लवको पार्टीसँग भने वार्ता गर्न सकेको थिएन। पाण्डेसँग विप्लवका नेताहरूले अनौपचारिक संवाद भने गरेका थिए। तर, त्यो फलदायी हुन सकेको थिएन। त्यसपछि भने ओलीनिकट नेताहरूसँगै सीधै विप्लवका नेताहरूको अनौपचारिक संवाद सुरु भएको थियो। त्यही क्रममा घिमिरेलगायत नेताको सम्पर्कमा विप्लवका नेता पुगेका थिए। पर्यटनमन्त्री भानुभक्त ढकाललगायतले पनि भेट गरेको विप्लवनिकट स्रोतले बताएको छ।

‘हामी वार्ताका लागि तयार भएर आएका छौं। सरकारले पनि वार्ता टोली बनाओस् भन्ने उहाँहरूको कुरा थियो। मन्त्री भइसकेका व्यक्तिको नेतृत्वमा हामी पनि वार्ता टोली बनाउँछौं, सरकारले पनि कुनै मन्त्रीकै नेतृत्वको वार्ता टोली बनाओस् भन्ने प्रस्ताव उहाँहरूको आइरहेकै छ’, विप्लवको सन्देश प्राप्त गरेका एक जना नेताले भने।

प्रधानमन्त्रीले विप्लवका नेताको सन्देश लिएर बालुवाटार पुग्ने नेताहरूलाई वार्ताकै माध्यमबाट समस्याको समाधान गर्नुपर्ने तर विप्लव पक्षको वार्ताको प्रस्ताव कत्तिको विश्वसनीय हो भन्नेमा भने चनाखो हुनुपर्ने बताउन थालेका छन्। ‘प्रधानमन्त्रीले वार्ताका लागि धेरै कुरा आएका छन्, यसलाई वार्ताको टेबुलमै ल्याएर समाधान खोजी गर्नुपर्छ, तपाईंहरू सहजीकरणको रूपमा काम गर्दै गर्नुस् भनिरहनुभएको छ’, प्रधानमन्त्रीनिकट एक स्रोतले भन्यो, ‘तर औपचारिक ढंगबाट भने के–कसरी जाने भन्ने बाँकी नै छ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome